चीनका राष्ट्रपति सीलाई काठमाडौंमा भव्य स्वागत, राष्ट्रपति भण्डारीद्वारा रात्रीभोजको आयोजना

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज २६, २०७६

काठमाडौँ-  छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङफिङ शनिवार साँझ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीहरुले राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनरको सम्मान दिइएको छ । राष्ट्रपति सीसँग विमानस्थलमै प्रधानमन्त्री, मन्त्रीहरु र उच्च पदस्थहरुको परिचयात्मक कार्यक्रम राखिएको थियो ।

यस पछि राष्ट्रपति सी होटल सोल्टीमा पुगेका थिए । हिजै साँझ राष्ट्रपति भण्डारी र सी बीच भेटवार्ता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग राष्ट्रपति सीको भेटवार्ता भएको थियो ।
राति ७ः३० बजे राष्ट्रपति सीलाई रात्रिभोज दिइएको थियो । आज आइतबार बिहान १०ः३० बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ । ११ः३० बजे प्रधानमन्त्री ओली सँग भेटवार्ता तथा द्विपक्षीय समझदारी हुनेछ ।

राष्ट्रपति सी आजै दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

२३ वर्ष पछि भएको चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारी कर्मचारीहरुलाई सरकार उर्दी नै जारी गरेको थियो । सर्वसाधरण र खेलाडीहरुलाई समेत स्वागतमा निस्कन आग्रह गरेको थियो ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा आज साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उहाँले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ ।” उहाँले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गर्नुभयो ।

नेपाललाई भूजडित बनाउन चीनले सघाउने    

प्रत्युत्तरमा राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताउनुभयो । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।

“हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ”, उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।”

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो ।

विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताउनुभयो ।