काठमाडौं बाट प्रारम्भ भयो राहत वितरण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६

काठमाडौ- काठमाडौं महानगरपालिकाले राहत वितरण शुरु गरेको छ ।

एक जना विपन्नका लागि चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी वितरण गरिनेछ ।

 

दुईदेखि चार जनाको परिवारलाई १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ ।

त्यस्तै पाँच जनाभन्दा धेरै परिवारलाई १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र तीन किलो तरकारी छ ।

का‌मपाले तयार गरेको ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’मा व्यवस्था भएअनुसार राहत वितरण शुरु गरेको हो ।

 

मापदण्डअनुसार अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ ।

कामपाले वडास्तरीय समितिले केही साना वडाको परिवारलाई राहत वितरण शुरु गरिसकेको छ भने बाँकी वडाको हकमा केही दिनभित्र तथ्याङ्क संकलन गरी राहत वितरण गर्नेछ ।

 

राहतमा सबै सामग्री भएको प्याकेट व्यवस्था गरिएको छ । सो प्याकेट एक साताका लागि भएको कामपा प्रशासन महाशाखा प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार केही वडाले राहत वितरण शुरु गरेको र केहीले फारम भर्ने काम गरिरहेका छन् । सरकारले एकसाताका लागि लकडाउन थप गरेको कारण उक्त सामग्री एक साताका लागि मात्रै भएको उहाँको भनाइ छ ।

 

कामपाका मेयर विद्यासुन्दर शाक्यले दैनिक ज्यालादारीमा रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खानकै लागि समस्या पर्ने भएकाले समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो– ‘राहत विवरण गर्न समिति गठन गरिसकेको छ । महानगरले केही दिनभित्र राहत बाँढ्नेछ । राहत वितरण गर्न ठूला वडालाई चार, मझौलालाई तीन र सानो वडालाई दुई लाख रुपियाँ उपलब्ध गराएको छ ।’

 

मापदण्डले महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्ति उल्लेख गरेको छ ।

 

आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

 

दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर उल्लेख छ । तर काठमाडौंमा घर जग्गा भएका वा नभएका बेरोजगार युवालाई यो मापदण्डले समेट्दैन ।

 

मापदण्डअनुसार वडाले राहत वितरण गर्न तयार विवरणमा नाम समावेश भएका परिवारलाई राहत दिनुपर्नेछ । यसबाहेक वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ ।

 

राहत वितरण गर्न वडाले धार्मिक, परोपकारी वा यस्तै उद्देश्य भएका संस्थाको सहयोग लिन वा परिचालन गर्न सक्ने व्यवस्था मापदण्डमा छ ।

दाताले असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई खाना, खाजा र यस्तै खाद्य पदार्थ तथा सामग्री वितरण गर्न चाहेमा स्थानीय प्रहरीको समेत सहयोग लिई वडाले सामग्री वितरणको व्यवस्था मिलाउन सक्नेछ ।

 

मापदण्डमा उल्लेख भएका खाद्य सामग्री खरिद गर्न ‘महामारी तथा अन्य रोग नियन्त्रण कार्यक्रम’ शीर्षकमा वडामा निकासा भएको रकमबाट खर्च गर्नुपर्नेछ। खर्च गरेको दैनिक प्रगति विवरण मेयरसमक्ष पठाउनुपर्नेछ ।

 

सबै वडाले गर्ने कामको समानस्तर र अभिलेख प्रणाली एउटै बनाउन मापदण्डमा दुईवटा अनुसूची उल्लेख छ । पहिलोमा असहाय, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरणसम्बन्धी फारम र अनुसूची २ मा राहत सामग्रीसम्बन्धी विवरण उल्लेख छ ।

 

वडाले व्यक्तिको विवरण लिँदा नाम थर, स्थायी ठेगाना, अस्थायी ठेगाना, घरधनीको नाम थर, कार्यरत क्षेत्र, परिवार संख्या उल्लेख गर्नुपर्छ । परिवार संख्यासँगै अभिभावकसँग एकाघरमा बस्ने व्यक्ति–व्यक्तिबीचको नाता पनि उल्लेख गर्ने व्यवस्था गरेको छ ।

 

निवेदक र उसको परिवारको सदस्यको नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ । नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र समावेश गर्नुपर्नेछ । यसरी भरिएको विवरण फारमलाई वडाध्यक्षले प्रमाणित गर्नुपर्ने मापदण्डमा उल्लेख भएको मेयर शाक्यको भनाइ छ।