विदेशबाट आएकालाई काठमाडौंका होटलमा क्वारेन्टिनमा राखिने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

काठमाडौं– शनिबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमा नाका तथा विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यसका साथै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टिनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

यसका साथै सरकारले लकडाउनलाई आगामी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ । अहिले जारी लकडाउनको समय यही जेठ २० गते सकिंदैछ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।