कर्णालीका ८० प्रतिशत संक्रमित निको भए

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, असार २०, २०७७

सुर्खेत- कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ ।

शुक्रबार ५१ संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् ।

निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

‘शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको संख्या एक हजार १७८ पुगेको छु, महाशाखा प्रमुख डा तिवारीले भने -‘यसले बाँकी रहेका ३०५ संक्रमितको मनोबल बढेको छ ।’

कर्णालीका संक्रमितमा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसीआर परीक्षणमा नारायण नगरपालिकाका आठ र डुङ्गेश्वर गाउँपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४८३ पुगेको छ ।

त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि छन् ।

अधिकृत कँडेलले भन्नुभयो-‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन्।’

कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।