पहिलो पटक रोकियो गोर्खा भर्ती

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, असार २१, २०७७

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जनाएका छन् ।

बेलायतले हरेक वर्ष प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिन्छ ।

यसपटक नयाँ भर्तीका लागि २१ मेदेखि १० जुलाई सम्म पोखरा र २३ मेदेखि जुलाई १० तारिखसम्म नयाँ नाम दर्ताका लागि मिति तोकिएको थियो ।

धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको छ ।

यसपटक भर्ती बन्द भए पनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ ।

कोरोना महामारी सामान्य भएमा केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क्षेत्रीय र केन्द्रीय छनोटमा उत्तम अंक ल्याएर असफल भएका युवालाई बेलायती सेनामा भर्ती हुन अवसर प्रदान गरिने कर्णेल गुडम्यानले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

बेलायतले हरेक वर्ष चार सय ३२ नेपाली युवालाई बेलायती सेनामा र एक सय २० युवालाई सिंगापुर प्रहरीमा भर्ती गर्दै आएको छ अन्नपुर्ण पोस्टले प्रकाति गरेको समाचारमा जनाइएको छ ।