यती समूहलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७

काठमाडौं– हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ  ।

२०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो ।

जुन लाइसेन्सबाटै तिब्बती एयरलाइन्सको सहकार्यमा २०७१ मा हिमालय एयरलाइन्स स्थापना गरिएको थियो ।

हाल हिमालयले ४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

हिमालय एयरलाइन्समा बहुमत सेयर अहिले पनि यती समूहकै रहेको छ ।

सोही समूहको यती एयरलाइन्सलाई पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर उडानको लाइसेन्स जारी गरेको छ ।

पर्यटन मन्त्रालयले गत १७ वैशाखमा अन्तर्राष्ट्रिय उडानको लाइसेन्सका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

यतीले २९ जेठमा आवेदन दिएको थियो ।

पर्यटन मन्त्रालयले बनाएको नयाँ कार्यविधिअनुसार पाँचवटा जहाजमार्फत पाँच वर्षसम्म नियमित उडान गर्ने कम्पनीले अन्तर्राष्ट्रिय उडानमा विस्तार गर्न पाउने प्रावधान छ ।

सोहीअनुसार माग गरिएको आवेदनमा यती समूहको मात्रै आवेदन परेको थियो ।

कार्यविधिमा एकै कम्पनीले लाइसेन्स लिएर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा अर्को लाइसेन्स दिन मिल्ने–नमिल्ने उल्लेख गरिएको छैन ।

यती एयरलाइन्सलाई सरकारले ‘ग’ वर्गको लाइसेन्स दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

सोही समूहको हिमालयका विषयमा पनि अध्ययन गरेर नै नजुध्ने गरी ‘ग’ वर्गको चार्टर लाइसेन्स दिएको आचार्यले बताए ।

हिमालयलाई सरकारले ‘ख’ वर्गको लाइसेन्स दिएको छ ।

‘क’ वर्गको लाइसेन्सका लागि भने वाइडबडी जहाजसमेत आवश्यक पर्ने भएकाले हिमालयले ‘ख’ वर्गको लाइसेन्स पाएको हो ।

लाइसेन्सको विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा मूल्यांकन कमिटी गठन गरेको थियो ।

मन्त्रालयले मूल्यांकन गरेर मात्रै लाइसेन्स दिएको संयोजकसमेत रहेका आचार्यले बताए ।

‘हिमालय यती समूहकै लगानी र यता अर्को पनि चलाउन मिल्ने–नमिल्नेबारे अध्ययन गरेर समूह एकै नहुने गरी लाइसेन्स दिएका हौँ,’ आचार्यले भने ।

सरकारले तयार पारेको कार्यविधि प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न १ अर्ब, ‘ख’ वर्गलाई ७५ करोड र ‘ग’ वर्गलाई ५० करोड चुक्ता पुँजीको व्यवस्था गरिएको नयाँ पत्रिकामा प्रकाशित समाचारमा जनाइएको छ ।