आध्यात्म भन्ने कुरा धर्म र जातभन्दा माथि हुन्छ : पण्डित दीनबन्धु पोखरेल

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०७४

मेलबर्नमा सम्पन्न हुने सप्ताहमा सहभागिता जनाउने कार्यक्रम कस्तो छ ?

अष्ट्रेलियामै पहिलो पटक हुन लागेको यो वृहत सप्ताहमा सहभागिता जनाउनका लागि म झन्डै दुई सातापछि मेलबर्न पुग्दैछु । त्यहाँ पुगेपछि सोझै सप्ताहमै सक्रिय हुने योजना छ ।

उक्त सप्ताह आयोजना गर्ने उद्देश्यका बारेमा केही बताइ दिनुहोस् न ?

मेलबर्नमा एउटा वृहत नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले यो सप्ताह कार्यक्रम आयोजना गर्न लागिएको हो । मेलबर्नमा नेपाली कला, संस्कृति, धर्म, भेषभुषासहित भेला हुने आफ्नो छुट्टै केन्द्र नभएकाले एउटा सामुदायिक केन्द्र आवश्यक छ भन्ने कुरा आएकोले त्यसैको निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना लागिएको हो । नेपाली भाषा र संस्कृतिको उठानका लागि मेरो तर्फबाट पनि केही सहयोग पुगोस् भन्ने उद्देश्यले म यो वृहत अभियानको एउटा अंग बनेको हुँ । अष्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली मनहरूलाई एकिकृत गर्ने मेरो प्रयास रहने छ ।

विदेशमा यस्ता कार्यक्रमको महत्व कस्तो पाउनु हुन्छ ?

नेपालमा भन्दा विदेशमा नै म यस्ता कार्यक्रमको महत्व देख्छु । मैले यूरोप तथा अमेरिकामा पनि यस्ता कार्यक्रम धेरै पटक गरिसकेको छु । अष्ट्रेलिया नै म तेस्रो पटक पुग्दैछु । नेपाल भन्दा बाहिर यस्ता कार्यक्रमको महत्व किन पनि अधिक हुन्छ भने नेपालमा त सबैले नेपाली भाषा बोलि नै रहनु भएको हुन्छ । नेपाली भेषभूषा नै प्रयोग गरिरहनु हुन्छ । बाहिर भने यो कुराको अभाव खड्किरहन्छ । बाहिर यस्ता कार्यक्रम आयोजना हुँदा नेपालीहरूकै सहभागिता बढि हुन्छ, मान्छेको लगाव बढि हुन्छ । मेरो देश, मेरो भाषा, मेरो धर्म, मेरो संस्कृति, मेरो पहिचान भन्ने भावना हरेक नेपालीको मनमा हुन्छ । मान्छेको सहभागिता बढि भएपछि दान दिने सहृदयी मनहरूको संख्या पनि बढि हुन्छ । मैले केही महिनाअघि अमेरिकाको न्यूयोर्क तथा बोस्टनमा यस्तै कार्यक्रम आयोजना गरेर छोटो समयमै झन्डै ४० करोड रुपैयाँ संकलन गराएको थिएँ । मेलवर्नको यो कार्यक्रमबाट पनि झन्डै १४–१५ करोड रुपैयाँ संकलन हुने अपेक्षा लिएको छु ।

यस्तो अभियानको उद्देश्य हिन्दुत्वलाई मात्र बढावा दिने हुन्छ कि ?

विशेषत हामी नेपालीको मौलिक धर्म भनेकै हिन्दु तथा बौद्ध हो । त्यो भन्दा पनि महत्वपूर्ण कुरा हामी यस्ता कार्यक्रममा आध्यात्मिक कुरा गर्छौं, जुन हरेक धर्मभन्दा माथि छ । कुनै पनि विचारवाद भन्दा माथि छ । आध्यात्म भनेको मानवियताको आधार हो । हाम्रो अभियानमा क्रिस्चियन धर्म मान्नेहरू पनि सहभागि हुन सक्छन्, हामी उनीहरूलाई आध्यात्मकको कुरा सुनाउँछौं । मैले कतिपय अभियानमा अंग्रेजहरूलाई समेत आध्यात्मिक विषयमा प्रशिक्षित गरेको छु । आध्यात्म हरेक जात र धर्मभन्दा माथि हुन्छ ।

मेलबर्न सप्ताह हुँदै गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई के भन्न चाहानु हुन्छ ?

अष्ट्रेलियाकै ईतिहासमा नेपाली समुदायले आयोजना गरेको यो सबैभन्दा ठूलो अभियान हो । हामी नयाँ कामको थालनी गर्दछौं । नयाँ आयामको थालनी गर्दछौं । यस्तो खालको भव्य आयोजना यो भन्दा अघि हुन सकेको थिएन । यसलाई हामीले नमूना कार्यक्रमको रुपमा सम्पन्न गर्ने योजना बनाएका छौं । अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई म यहीँबाट के अनुरोध गर्न चाहान्छु भने हामी सबै नेपालीपनका लागि जुटौं । प्रवासमा भए पनि हामी जुट्नु हाम्रो कर्तव्य हो । यो हामी सबैका लागि खुुसीको खबर पनि हो । त्यसैले हामी सबै शहर–शहरबाट जुटौं, घर–घरबाट जुटौं । कोहि पनि नछुटौं । आफ्नो धर्म र संस्कृतिका लागि नछुटौं । भावी पिंढीका लागि नछुटौं भन्न चाहान्छु ।

(नेपाल प्रतिनिधि कृष्ण भट्टरार्इद्धारा लिइएकाे अन्तर्वाता)