१२ औं सागमा केही खुसी, केही चिन्ता

-- कृष्ण भट्टराई / प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७२

कास्य पदकको जितबाट प्रँरम्भ भएको नेपालको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा फेब्रुअरी १६ का दिन भारतको गुवाहटीमा सम्पन्न हुँदा कास्य पदकबाटै अन्त्य भएको छ । इन्दिरा गान्धी स्टेडियममा १२ औं सागको भव्य समापन हुँदा नेपालको पदक तालिकामा ३ स्वर्ण, २३ रजत र ३४ कास्य पदक झुन्डिएको छ ।
आसामको गुवाहटी र मेघालयको सिलोङमा १२ दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाअनुरुप हुन सकेन । सागको अन्तिम दिन सिलोङमा जुडोका तीन खेलाडीले कास्य दिलाएसँगै नेपालको १२ औं साग यात्रा टुंगिएको हो । अन्तिम दिन शिवबहादुर बराम, पुनम श्रेष्ठ र गंगा चौधरीले जुडोमा कास्य पदक जितेका थिए । भारोत्तोलनकी देवी चौधरीले जितेको कास्यबाटै नेपालको पदकयात्रा थालनी भएको थियो ।
यसपटकको सागमा कुल २३ खेल वटा खेलाइएने योजना भए पनि २२ खेलले मात्र खेल्ने मौका पाए । भारतीय बास्केटबल संघको आन्तरिक विवादका कारण बास्केटबलको प्रतिस्पर्धा नै भएन । हक्कीको पुरुष टोलीबाहेक अरु सबै खेलमा नेपालले महिला–पुरुष खेलाडी प्रतिस्पर्धामा उतारेको थियो ।
फुटबल, उसु, जुडो, पौडी, भारोत्तोलन, तेक्वान्दो, ट्रायथोलन, ब्याडमिन्डन, टेबलटेनिस, खो— खो, स्क्वास, आर्चरी, बक्सिङ, हक्की, कुस्ती, कब्ड्डी भलिबल, एथलेटिक्सका खेलाडीले कम्तिमा एउटा पदक दिलाए । पदक नजित्ने खेलमा सुटिङ, ह्यान्डबल, साइक्लिङ र टेनिस रह्यो । दक्षिण एसियाली खेलकुदको आठौं संस्करणयता नेपालको यो खराब प्रदर्शन हो । पहिलोपल्ट नेपालले ३ स्वर्णमै चित्त बुझाउनुपरेको हो ।
३ सय ८४ खेलाडी सहभागिता गराएको नेपाललाई सागको कान्छो टोली अफगानिस्तानले पहिलोपल्ट जितेको छ । तेक्वान्दोमा वर्चस्व जमाउँदै अफगानिस्तान ७ स्वर्णसहित कुल ३५ पदक जितेर चौथो स्थानमा रहन सफल भयो । नेपाल पहिलोपल्ट तेक्वान्दोबाट स्वर्ण पदक विहिन हुनु पर्‍यो । पछिल्लो सागकी एक्लो स्वर्णधारी आयशा शाक्यको स्वर्ण थप्ने लक्ष्य पनि पूरा हुन सकेन ।
आयोजक भारतले दक्षिण एसियालीमा आफ्नो शक्ति कायम राख्दै १ सय ८८ स्वर्ण जितेर अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि छाड्न सफल भयो । पछिल्लो ढाका सागमा भन्दा भारतले दोब्बर स्वर्ण जित्यो । ढाकामा ९० स्वर्ण जितेको थियो । अन्य राष्ट्रको भागमा थोरै स्वर्ण जाँदा श्रीलंकाले २५, पाकिस्तानले १२, अफगानिस्तानले ७, बंगलादेशले ४ र नेपालले ३ वटा स्वर्ण पदक जित्न सफल रहे ।
नेपाली फुटबल र जुडोका लागि १२आैं साग स्वर्णिम बन्न पुग्यो । सन् १९९३ पछि नेपालले सागमा फुटबलको स्वर्ण जित्दा फुपुल्हामु खत्रीले १९९५ पछि जुडोबाट देशलाई पहिलो स्वर्ण दिलाइन् । विराज महर्जनको कप्तानीमा रहेको यु–२३ टोलीले भारतलाई उसकै मैदानमा २–१ ले हराएर स्वर्ण पदक जितेको हो । छैटौं सागमा स्वर्ण जित्दा पनि नेपालले टाइब्रेकरमा भारतविरुद्ध नै जित पाएको थियो ।

SAG 2016_1
पौडीका लागि पनि यो साग ऐतिहासिक बन्यो । १३ वर्षीया पौडीवाज गौरिका सिंहले १ रजत र ३ कास्य जितेकी थिइन्, जुन दक्षिण एसियाली खेलकुद इतिहासमा नेपाली पौडीवाजले जितेको व्यक्तिगततर्फकै पहिलो पदक थियो । १६ वर्षे खेलाडी उसुकी निमा घर्तीमगरले स्वर्ण जिताएर मार्सल आर्टको छवि जोगाउने काम गरिन् ।
ट्रायाथोलनले पहिलो सहभागितामै रजतसहित दुई पदक जितेको छ । प्रेमप्रसाद पुनले आर्चरीमा व्यक्तिगत प्रतिस्पर्धाबाट पदक दिलाए । पहिलोपल्ट समावेश महिला भारोत्तोलनमा तीन खेलाडीले पदक जित्दा पहिलोपल्ट महिलाको समावेश बक्सिङ र हक्कीले पनि पदक जितेको थियो ।
नेपालले सफलता पाएका खेलाडीको प्रदर्शन हेर्ने हो भने उनीहरूको अन्तर्राष्ट्रिय एक्स्पोजर बढी छ । बंगबन्धु गोल्डकप जितेर मनोबल टोलीले साग फुटबलमा पनि त्यही लय कायम राखेको छ भने जुडोकी फुपु पनि वैदेसिक प्रशिक्षणप्राप्त खेलाडी हुन् । पौडीमा सफलता पाएकी गौरिका पनि बेलायतमा आफ्नै लगानीमा हुर्किरहेकी खेलाडी हुन् । राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गर्ने नसकेका खेललाई पनि सागमा उतारिएको छ । त्यसैले पनि सागमा कमजोर प्रदर्शन देखियो हो ।
नेपालका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को नतिजा २३ वर्षयताकै सबैभन्दा खराब रह्यो । बृहत् खेलकुदमा स्वर्ण पदकका आधारमा पदक तालिका तयार पारिन्छ । यस आधारमा ३ स्वर्ण पदक जितेको नेपाल १२ औं सागमा छैटौं स्थानमा रह्यो । नेपालले यसपालि स्वर्ण पदक जित्न असफल दुई देश (भुटान र माल्दिभ्स) लाई मात्र उछिन्न सक्यो ।
भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा नेपाललाई १६ वर्षीया उसु खेलाडी नीमा घर्तीमगर, जुडो खेलाडी फुपू ल्हामु खत्री तथा पुरुष फुटबल टिमले स्वर्ण पदक दिलाएका थिए । नेपालले थप २३ रजत एवं ३४ कांस्यसहित कुल ६० पदक हात पार्‍यो ।
पदक संख्या हेर्दा आठौं संस्करण (६५ पदक) पछि साग खेलकुदमा यसै पटक समग्रमा सबैभन्दा धेरै पदक प्राप्त भएको हो । यसैलाई लिएर राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट १२ औं सागको नतिजाबाट असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘स्वर्ण पदकलाई मात्र हेरेर विश्लेषण गर्नुभएन,’ जुडोका पदक विजेता खेलाडीको सम्मानमा आयोजित कार्यक्रममा विष्टले भने, ‘कुल पदकको हिसाबमा हामीले ११ औं सागभन्दा झन्डै दोब्बर पदक जितेका छौं । यसलाई लिएर खुसी मान्नुपर्छ ।’
बक्सिङ, जुडो, टेबलटेनिस, बास्केटबल, खोखो, हकी आदि केही खेललाई मात्र वैदेशिक प्रशिक्षणमा पठाइयो । टिम गुवाहाटी पुगेर पनि भारतको आन्तरिक कलहका कारण फिवा एसियाले सागमा बास्केटबल सञ्चालन गर्ने स्वीकृति दिएन । बास्केटबलसहित सागमा समावेश २३ खेलमा ३ सय ८४ नेपाली खेलाडीको नाम दर्ता गरिएको थियो । हकीमा नेपाली पुरुष टिम थिएन र महिलातर्फ नेपालले खेल्नुअघि नै पदक प्राप्त गर्ने कुरा पक्का भैसकेको थियो । अरु सबै खेलको पुरुष र महिला स्पर्धामा नेपालको सहभागिता थियो । चार खेलमा मात्र पदकविहीन भए पनि धेरैमा नेपालको चुनौती सके कांस्य हात पार्ने, नसके अन्तिम स्थान प्राप्त गर्ने खालको देखियो ।
सागको इतिहासमा नेपाललाई सर्वाधिक २४ स्वर्ण पदक दिलाएको तेक्वान्दोमा यसपालि नेपालले स्वर्ण पदक जित्न सकेन, जुन कमजोरीको नयाँ अध्याय हो । तेक्वान्दोमा सहभागि १३ मध्ये ७ नेपाली खेलाडीले रजत पदक जिते भने ३ खेलाडीले कांस्य पदक जिते । एथलेटिक्समा नेपाललाई एक कांस्य पदक मात्र हात लाग्यो र नेपाल म्याराथनमा पहिलोपल्ट पदकविहीन रह्यो । बक्सिङमा प्राप्त ३ कांस्य पदक पनि अहिलेसम्मकै सबैभन्दा फितलो नतिजा हो । उसुमा एकमात्र स्वर्ण पदक पनि अर्को फितलो नतिजा हो । १ स्वर्ण, १० रजत तथा १ कांस्य हात पारेको उसुका धेरै खेलाडी जुनियर छन् । त्यसैले यो खेलमा भविष्यमा राम्रो नतिजाको आशा गर्ने ठाउँ छ ।
सन् २००४ को नवौं संस्करणको दक्षिण एसियाली खेलकुददेखि मात्र सहभागिता जनाउन थालेको अफगानिस्तानले ७ स्वर्ण पदक जित्दै यसैपालि नेपाललाई पदक तालिकामा पछाडि पार्‍यो । दक्षिण एसियाली महारथी भारतले १ सय ८८ स्वर्ण पदक जित्यो भने श्रीलंकाले २५ तथा बंगलादेशले ४ स्वर्ण पदक हात पारे ।
नेपालले फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जित्यो र यो यु–२३ टिमको पहिलो उपाधि पनि हो । ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा भने राष्ट्रिय टिमले नेपालका लागि एकमात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि त्यसयताकै खराब प्रतियोगिता सावित भयो १२ औं साग । नेपालले मद्रासमा भएको सातौं साफ गेम्समा ४, काठमाडौंमा भएको आठौंमा ३१, इस्लामावादमा भएको नवौंमा ७, कोलोम्बोमा भएको दसौंमा ७ तथा ढाकामा भएको ११ औं संस्करणमा ८ स्वर्ण पदक हात पारेको थियो ।
जुडोमा फुपुले प्राप्त गरेको स्वर्ण पदक दक्षिण एसियाली खेलकुदमा नेपाली महिलाले जुडोतर्फ प्राप्त गरेको पहिलो स्वर्ण पदक हो र जुडोमा २१ वर्षयताको पहिलो स्वर्णपदक । जुडोमा यसपालि नेपालले १ स्वर्ण, २ रजत र ६ कांस्य जित्दै राम्रो सम्भावना देखायो । यू–२३ फुटबल टिम (पुरुष) को प्रदर्शन पनि गतिलो थियो । त्यसैले त २३ वर्षपछि स्वर्ण हात लाग्यो ।
अर्को सकारात्मक नतिजा पौडीमा देखियो । लन्डनमा प्रशिक्षण गरिरहेकी १३ वर्षीया स्वीमर गौरिका सिंहले नेपाललाई ऐतिहासिक रजतसहित चार पदक दिलाइन् र १२ औं सागमा पौडीतर्फ नेपालका लागि २० राष्ट्रिय कीर्तिमान बने । त्यसमध्ये १० कीर्तिमानमा गौरिकाको योगदान छ । यिनै गौरिका, यू–२३ फुटबल टिम, नीमा एवं फुपूले १२ औं सागमा नेपाली अनुहारलाई उज्यालो बनाउने प्रयास गरे ।
आगामी १३ औं साग नेपालमा हुने निश्चित भैसकेको छ ।

१२ औं सागमा नेपाल
पदक : ३ स्वर्ण, २३ रजत, ३४ कांस्य
नेपालले पदक जितेकाे खेल
फुटबल, उसु, जुडो, पौडी, भारोत्तोलन, तेक्वान्दो, ट्रायथलन, ब्याडमिन्टन, टेबलटेनिस, खो–खो, स्क्वास, आर्चरी, बक्सिङ, हकी, कुस्ती, भलिबल, एथलेटिक्स तथा कबड्डी ।
पदकविहीन खेल
सुटिङ, ह्यान्डबल, साइक्लिङ तथा टेनिस ।

साफ गेम्स/सागमा नेपाल
वर्ष                  स्थान                           स्वर्ण                     रजत                          कांस्य                        कुल
१९८४               काठमाडौं                      ४                      १२                                ८                               २४
१९८५               ढाका                             १                        ९                               २२                               ३२
१९८७              कोलकाता                       २                       ७                               ३३                               ४२
१९८९              इस्लामाबाद                     १                      १२                               २४                               ३७
१९९१               कोलोम्बो                         २                        ८                               २९                               ३९
१९९३               ढाका                              १                         ६                                १५                              २२
१९९५                मद्रास                            ४                        ८                                 १६                              २८
१९९९               काठमाडौं                       ३१                      १०                                 २४                             ६५
२००४               इस्लामाबाद                     ७                        ६                                  २०                              ३३
२००६               कोलोम्बो                         ७                      १५                                  २९                               ५१
२०१०                ढाका                              ८                        ९                                   १९                               ३६
२०१६               गुवाहाटी–सिलोङ            ३                       २३                                   ३४                                ६०