लोकतन्त्रको अनुभूति गर्ने दिन आएन र ?

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१, २०७५

२००७ सालको परिबर्तन पछाडि नेपालको राजनीतिक इतिहासमा घटेका घटनाहरु हेर्दा अचम्म मान्नु पर्छ  । नेपालको राजनीतिक परिबर्तनमा सामान्यतय संसारले पत्याउनै गार्हो पर्ने घटनाक्रमहरु एक पछि अर्को गर्दै घटेका छन् । कोतपर्ब र भण्डारखाल पर्ब जस्ता घटनाक्रमले जेलिएको १०७ बर्षिय राणा शासन कुनै अप्रिय घटना बिना नै अन्त्य भयो र शासकीय बागडोर राजामा  गयो  ।  ७/८ वर्षको संक्रमण काल पछि २०१५ सालमा नेपाली जनताले पहिलो पटक निर्वाचनमा भाग लिन पाए  ।  बिडम्बना १०७ वर्ष पिंजडाको सुँगा जस्तै बनेर बसेको राज संस्था र राजामा शक्तिवान बन्ने भूत जाग्यो र तत्कालिन जननिर्वाचित प्रतिनिधि बिपी कोइरालाको सरकारलाई कू गर्दै पंचायतले २०४६ सालसम्म निर्दलीय शासन गर्यो ।  तत् पश्चात २०४६ को परिबर्तन अनि २०६२ को परिबर्तन हुँदै आजसम्म आइपुग्दा नेपालीहरु आँफैले छानेको प्रतिनिधिबाट शासित हुने सार्बभौम सम्पन्न देश गणतन्त्र नेपालको नागरिक बनेका छन् ।

राणाहरुको महत्वकांक्षा र सत्तामोहले धेरै मानेमा यी परिबर्तनहरुमा भूमिका खेले पनि नेपाली जनताको राजनीतिक सचेतना, माओबादी बिद्रोह, बिश्व परिघटना र दरबार हत्याकाण्ड बिशेष रुपमा आजको नेपालको सुर्योदय गराउने परिबर्तनका मुख्य संवाहक हुन् भन्दा फरक पर्दैन  ।  यो परिबर्तनको प्रमुख परिघटनाको रुपमा लिइने माओबादी बिद्रोह आफैमा एक खाले विध्वंसात्मक युद्द थियो, जुन कति आबश्यक थियो या थिएन त्यो ईतिहासले अझै नजिकिएर मूल्याङ्कन गर्ने नै छ  । त्यो बाहेक नेपालका हर परिबर्तनहरु यति शालीन र शान्तिपूर्ण तरिकाबाट भएका छन् कि यी  बिश्व इतिहासमै अनुकरणीय छ । त्यति मात्र होइन यसबीच जसरी संक्रमणकाललाई छोट्ट्याउन यहाँका राजनीतिक शक्तिहरु ले  जुन किसिमको सुझबुझ देखाए त्यो त झन् धेरै देशहरुको लागि ठूलो शिक्षा पनि हो ।

यसो भन्दै गर्दा २००७ सालको परिवर्तन देखेको, भोगेको या नजिक नजिकबाट सुनेको एउटा पुस्ताको पुरै जीबन सँधै राजनीतिक परिवर्तन र राजनीतिक अस्थिरताबाट गुज्रनु परेको इतिहास कै अर्को दुःखद पाटो पनि हो  । त्यस मानेमा पनि देश संघीय गणतन्त्रमा गैसकेर जनता कै प्रतिनिधिहरु ले लेखेको संबिधान अन्तर्गत स्थानीय, प्रान्तीय र संघीय निर्बाचन भएर सोहि अनुसार राज्य संचालन भइ सकेको अबको परिस्थितिमा अब जनताले लोकतन्त्रको अनुभूति पाउनु पर्ने होइन र ? अब जनताले पाउनु पर्ने एकै चिज भनेको “समृद्द नेपाल” हो,  अब जनताले देख्नु पर्ने एकै चिज भनेको “समृद्द नेपाल” हो,  अब जनताले भोग्न बाँकि एकै चिज भनेको “समृद्द नेपाल”  मात्र हो  । त्यसैले पनि अब कुनै यो वा त्यो बहानामा अलमल गरेर नेपाल आझै पनि बुद्द र सगरमाथाको चिनारीले नै अल्पबिकसित देश कै परिचयमा रुमल्लिनु हुँदैन  ।

आज संबिधान कार्यन्वयनको दिशामा देश स्थिरतातिर उन्मुख हुँदै गर्दा देशले सामान्य होइन पूरै दुई तिहाइ बहुमत कै सरकार पाएको छ  । त्यस माथि केहि हप्ता अगाडि मात्रै नेपालकै दुई शक्तिशाली पार्टीहरु तत्कालिन नेकपा एमाले र एमावोबादीबीच पार्टी नै एकता भएर नेपाल कम्युनिष्ट पार्टी बने संगै सरकारले झन् मजबुत म्यान्डेट पाएको छ  । जसले एकातिर नेपालको लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्दछ भने यो एकता सरकारको लागि एकदमै ठूलो आड र भरोसा पनि हुनेछ  ।  त्यसैले पनि नेपाली जनताको बिगत ६ दशकको शान्ति, स्थायित्व र बिकासको चाहना झन् चुलिनु स्वाभाविक नै हो  । आशा गरौं नेपालमा अझै पनि राजनीतिको नाउँमा देखिएका छिटपुट विध्वंसात्मक गतिबिधिहरु अब तत्कालै रोकिउन, जनताले परिबर्तन, स्थायित्व र लोकतन्त्रको महसुश गर्न सक्ने गरि अबको नेतृत्व अगाडि बढोस् ।