नरमाइला खबरहरु बीच हाम्रा चाडपर्व !!

-- समपादकीय अक्टाेबर २०१८, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १८, २०७५

प्राकृतिक रुपमा हामी कति हो कति धनि छौं, हाम्रो प्रकृतिले नै हामीलाई चाडपर्व लागेको संकेत दिन्छन् । जब बसन्त ऋतु सुरु हुन्छ, खुल्ला आकास, पालुवा पलाउदै गरेका र फूल झैं लहरिएका रुख बिरुवाले नै एउटा छुटै किसिमको सुखानुभूति लिएर आउँछन् । अनि त हामी खुसी र पुलिकित नभई सुखै हुँदैन । खेतिपाति लागाउने काम सकिएको र थन्काउने बेला भइ नसकेको यो रमाइलो क्षणमा किसानहरु पनि फुर्सदिला हुन्छन् । भने घर बाट टाढा कर्म गर्न पुगेकाहरु को लागि पनि हिलो धुलो हराएर यात्रा सहज हुन्छ, घर फर्कु फर्कु लाग्ने ।
रक्षा बन्धनबाट सुरु भएका हाम्रा चाडहरु, तीज, दसैं, तिहार, छठ, इद हुँदै गर्दा लगभग हामी सबै धर्म संस्कृति र सम्प्रदायका नेपालीहरुलाई चाडबाडमय बनाउँदै जान्छन् । यिनै चाड पर्वका अवसर पारेर पर पुगेका आफ्नाहरु पनि घर आइपुग्छन् । त्यसो त आहिले नेपालीहरु घर गाउँदेखि टाढा शहर, राजधानी, छिमेकी मुलुक हुँदै टाढा–टाढाका मुलुकसम्म पनि पुगेका छन् । तै पनि आफ्ना संगको भेटघाटको कार्यक्रम वा घर फर्कने समय सबैले यिनै चाडबाडको सेरोफेरो मै राखेका हुन्छन् ।
चाडबाडको मौसममा सबैको अनुहार हाँसी खुसी मात्र होस्, केहि भएका दुःख र असमन्जस्यहरु पनि हराउँदै जाउन भनेर मनाईने हाम्रा चाड बाडहरु को बीच यति बेला देशमा भने धेरै नै नरमाइला खबरहरु मात्र सुनिएका छन् । गत साल भन्दा पनि झन् सहज हँुदै देश स्थायित्वको सरकार सहित शान्ति सुरक्षा र अमनचैनका साथ यस पटकको चाड–पर्ब मनाउन पाइएला भन्ने धेरैको अनुमान फेरि पनि गलत साबित भएको छ । हत्या आतंक र बलात्कारका घटनाहरु घटी रहेका छन्, नाबलाक चेलीहरु प्रति एसिड लगायतका आक्रमणले ती चेलीहरु र तिनका आमा–बुवाको मात्र होइन हामी सबैको तन मन पोलेको छ । यो विषम परिस्थितिमा आउँदै गरेका यस बर्षका चाड–पर्बहरु पनि आँफैमा खल्लो भएर आएका छन् ।
बिजय र शान्तिका प्रतीकको रुपमा मनाइने हाम्रा चाड–पर्बहरु बितेका केहि बर्षहरु अगाडिदेखि नै प्रशंन्न साथ मनाउन नसकेको परिस्थितिमा जब देशले संबिधान पायो, बहुमतको सरकार पायो अब भने शान्ति सुरक्षा त्यसमा पनि एउटा चेली असुरक्षित हुने समय नआउला भनेर सोचेको समयमा हामीले यी अकल्पनीय खबरहरु सुन्नु पर्दैछ । “यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको पुजा हुन्छ, देवता पनि त्यहाँ खुसी रहन्छन् भन्ने हाम्रो पुरानो धार्मिक र संस्कृतिक मान्यतालाई गिजाउँदै आहिलेको यो उन्नत प्रबिधि र पशुको अधिकारको लागि समेत बिश्वमा आबाज उठेको समयमा हाम्रो देशमा महिला हिंसा यति धेरै बढ्नु एकदमै दुःखद कुरा हो ।
फेरि पनि आपराधिको कुनै जात, धर्म, बर्ण र विचार हुँदैन उसको एउटै परिचय अपराधि नै हो । त्यसैले पनि अपराधिले कुनै जात, धर्म र विचारको ओढ्ने ओढेर कानुनलाई ओझेलमा नपारोस् । आशा गरांै आउँदै गरेका सबै धर्म सम्प्रदायका चाडबाडहरु सबैले आफ्नो मान्यता अनुसार मनाउन सकौं । हामी सबैको प्रथाना लागोस्, देशमा कुनै पनि चेली ऊ महिला भएको कारण घर भित्र बाहिर, कुनै पनि किसिमको हिंसाको शिकार हुनु नपरोस् । आउँदै गरेका पर्बहरु सबैका लागि सुखद रहोस्, शुभकामना !