अक्टोबर महिनाको नेपालका केही महत्वपूर्ण घटनाहरु

-- नेपाल गतिबिधि नाेभेम्बर अंक २०१८, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५

स्वस्थ भए प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । छातीमा संक्रमण, खोकी र ज्वरो देखिएपछि अक्टोबर २९ मा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको रगतको रिपोर्ट सामान्य देखिएको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छिन् । प्रधानमन्त्री पूर्ण रुपमा स्वस्थ भएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ । शाहका अनुसार प्रधानमन्त्रीले नियमित खानपान गर्न थालेका छन् ।

नेपाल र कतारबीच सम्झौता

नेपाल र कतारबीच छुट्टाछुट्टै दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । सहमतिपत्रमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् । त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । जसमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले उक्त सहमतिबाट दुई देशबीचको सम्बन्ध, सहयोग र सहकार्य अझ फराकिलो हुने विश्वास भएको जानकारी गराएका छन् ।

नेपाली जेलमा विदेशी


नेपालमा हुने बलात्कारका घटनामा विदेशी नागरिकको संलग्नता उल्लेख्य पाइएको छ । मुलुकभरका कारागारहरूमा जबर्जस्ती करणी र करणी उद्योगमा सजाय भोगिरहेका ७९ जना विदेशी कैदीरबन्दी छन् । उनीहरूलाई मुलुकका ३३ वटा कारागारमा नेपाली कैदीरबन्दीसागै राखिएको छ । कारागार व्यवस्था विभागका अनुसार तीमध्ये ६१ भारतीय र १९ जना तेस्रो मुलुकका छन् । मुलुकभरका कारगारमा ८९८ विदेशी कैदीरबन्दी छन् । तीमध्ये अप्राकृतिक मैथुनको अपराधमा ४ र बाल यौन दुराचारमा ३ जना सजाय भोगिरहेका छन् । खुल्ला सिमानाका कारण भारतीयको निर्वाध आवागमन र नेपालमै पनि भारतीयको बसोवास अन्य देशका नागरिकभन्दा बढी छ । सोही कारण आपराधिक गतिविधिमा पनि भारतीयको संख्या बढी देखिएको हुनसक्ने विभागका अधिकारीहरूको भनाइ छ ।

राजमार्गमा पुल बन्दै


विश्व बैंकको सहयोगमा पूर्व–पश्चिम राजमार्गमा १० वटा नयाँ पुल बन्ने भएका छन् । गाडी चाप बढेसँगै पुलको भार वहन क्षमता घट्दै गएका कारण नयाँ पुल बनाउन तयारी गरिएको हो । १० नयाँ पुलमध्ये चितवन र पूर्वी नवलपरासी जोड्ने नारायणी नदीको पुलको नक्साङ्कनको काम प्रारम्भ भैसकेको छ । नारायणीमा चार लेनको नयाँ पुल बन्नेछ । हाल उक्त पुल दुई लेनको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले नयाँ पुल बनेसंगै पुराना पुललाई पनि मर्मत सम्भार गरी सञ्चालन गरिने जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गका अधिकांश पुल ३५ वर्षअघि नै बनेका हुन् । सबै पुलको नक्साङ्कन यही आर्थिक वर्षभित्र सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी गरिएको बताइन्छ ।

अब नेपालीलाई पनि शुल्क


सरकारले संरक्षित क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकसँग पनि शुल्क लिन थालेको छ । आन्तरिक पर्यटकसँग प्रवेश शुल्क लिन सरकारले अक्टोबर १५ मा राजपत्रमा सूचना निकालेको थियो । अब अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्रमा घुम्न जाने नेपालीले जनही एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ भने विदेशी पर्यटकले तिर्नुपर्ने प्रवेश शुल्क पनि बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख राजकुमार गुरुङका अनुसार सार्क मुलुकका पर्यटकसँग एक हजार रुपैयाँ र सार्कभन्दा बाहिरी मुलुकका पर्यटकसँग तीन हजार रुपैयाँ प्रवेश शुल्क लिन थालिएको छ । यसअघि नेपाली नागरिकका लागि संरक्षित क्षेत्रमा नि:शुल्क प्रवेशको सुविधा थियो । त्यस्तै सार्क मुलुकका पर्यटकले दुई सय तथा सार्कभन्दा बाहिरी मुलुकका पर्यटकले २२ सय ६० रुपैयाँ प्रवेश शुल्क तिर्नुपथ्र्यो ।

काठमाडौंमा इलेक्ट्रिक बस


साझा यातायातले काठमाडौं उपत्यकामा बिजुली बसको शुभारम्भ गरेको छ । ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली बसको उद्घाटन गरेका हुन् । उक्त बिजुली बस चिनियाँ कम्पनी ‘बीवाईडी’ले निर्माण गरेको हो । लुम्बिनी विकास कोषका उक्त बसहरु साझा यातायातको व्यवस्थापनमा सञ्चालन हुनेछन् । बस खरीदका लागि एशियाली विकाश ब्यांक ‘एडीबी’ले सहयोग गरेको छ । खरीद गरिएका पाँच मध्ये दुई बस काठमाडौं आइपुगेको र बाँकी बस केही दिनमै आइपुग्ने जनाइएको छ । २० सिट क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएको छ । उभिएर यात्रा गर्नेहरुको सहजताका लागि ह्याङ्गरको व्यवस्था समेत छ । अपाङगमैत्री उक्त बिजुली बसले उपत्यकाको प्रदूषण नियन्त्रणमा सघाउ पुर्‍याउने विश्वास लिइएको छ । उक्त बसमा चढेर प्रधानमन्त्री ओली सहित केही मन्त्रीहरु पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरबारसम्म पुगेका छन् ।