क्यान्सर पीडित समिक्षालाई ३१ हजार डलर सहयोग जुट्यो

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

अष्ट्रेलियामा क्यान्सरसँग जुधिरहेकी नेपाली विद्यार्थी समिक्षा अधिकारीको सहयोगार्थ ३१ हजार डलर भन्दा बढी रकम संकलन भएको छ । एक महिना अघि सामाजिक अभियन्ता एवम् एनआरएनएका महिला फोरम संयोजक प्रतिज्ञा अधिकारीको नेतृत्वमा सुरु गरिएको ‘सर्पोट समिक्षा अधिकारी’ अभियान मार्फत उक्त रकम संकलन भएको हो । गो फण्ड मि डटकम मार्फत सञ्चालन गरिएको सहयोग संकलन अभियानमा अहिलेसम्म हजार जना भन्दा बढीले स्वैच्छिक सहयोग गरेका छन् ।

मार्च २०१६ मा सिड्नी आएकी समिक्षा अहिले रोयल प्रिन्स अल्फ्रेड अस्पतालमा उपचाररत छन् । उनको उपचारमा निकै ठुलो रकम लाग्ने र पारिवारिक अवस्था कम्जोर भएका कारण अभियान सञ्चालन गरिएको अभियन्ता प्रतिज्ञा अधिकारीले जानकारी दिइन् । ‘दुईदिन अघिबाट उनलाई केमो चढाउन लागिएको छ’, उनले भनिन्, ‘हामी सबैको चाहना छ, उनी छिट्टै निको हुनेछिन् ।’ प्रतिभावान् नेपाली विद्यार्थी बचाउन थालिएको अभियानमा चौतर्फी सहयोग पाएको उनले बताइन् । ‘हामीले ५० हजार डलर संकलन गर्ने योजना छ’, उनले भनिन्, ‘हामी उद्देश्य पुग्छौँ र समिक्षालाई निको बनाउनेछौँ ।’