भावी नेतृत्वमा मेरो स्वभाविक दाबीः – नन्द गुरुङ

-- गोपाल छन्त्याल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू साउथ बेल्स राज्यका संयोजक नन्द गुरुङ नेपाली समुदाय माझ सरल, इमान्दार र कामप्रति बफदार सामाजिक अभियन्ताका रुपमा परिचित छन् । उनै गुरुङसँग एनआरएनएको नजिकिँदो महाधिवेशन, विगतमा सम्पन्न गरिएका कार्यहरूका समीक्षा, भावी योजना र अष्ट्रेलियामा नेपाली समुदायका साझा समस्याका विषयमा केन्द्रित रहेर द नेपाली टाइम्स अष्ट्रेलियाका लागि गोपाल छन्त्यालले गरेको कुराकानीको अंशः

दी नेपाली टाइम्स अष्ट्रेलियामा यहाँलाई स्वागत छ ।
धन्यबाद ।

एनआरएनएको ८ औँ महाधिवेशन नजिकिँदो छ, चुनाब कत्तिको लागेको छ ?
हजुर, हाम्रो महाधिवेशन आगामी जुन/जुलाई तिर हुँदैछ, तर मिति चाहीँ तय भइसकेको छैन । सामान्यतयाः सिड्नीमा हरेक दुईबर्षमा आयोजना हुने नेपाल फेस्टिभल सम्पन्न भयो भने चुनाबी माहोल सुरु हुन्छ भन्ने छ, यसपटक पनि हामीले भव्य रुपमा फेस्टिभल सम्पन्न गरिसकेका छौँ, त्यसैले चुनाबी माहोल तात्दै गएको छ । आन्तरिक तथा बाह्य रुपमै यसका केहि संकेतहरू देखिन थालेको छ ।

तपाईँ उपाध्यक्ष हुनुहुन्छ, यसभन्दा अघि पनि कार्य समितिमा रहेर काम गर्नुभएको थियो । अब पालो हजुरकै त होला ?
एनआरएनमा रहेर लामो समय काम गरेँ, तपाईँ भन्नुभएजस्तै उपाध्यक्ष पनि भएकोले नेतृत्वमा मेरो स्वभाविक दाबी रहन्छ । मेरा इच्छा पनि छ, नेतृत्वमा पुगेर नेपाली समुदायका लागि के गर्ने । तर, मैले इच्छा राखेर मात्र भएन, साथीभाइले पत्याउनुपर्यो । विश्वास गर्नुपर्यो ।

भनेपछि नेतृत्वका लागि आन्तरिक तयारी र लबिङ सुरु गरिसक्नु भो ?
होइन, मैले यो अवधीमा दुईटा काम गर्नुपर्ने छ । म फेरि पदभन्दा पनि अलिकति कामलाई बढी विश्वास गर्छु । सिड्नीमा हामीले हरेक बर्ष अभिभावक वनभोज (parent pinic) र एनआरएनको कल्याणकारी कोषका लागि च्यारिटी कार्यक्रम आयोजना गर्दैछौँ । यो दुईवटै काम सम्पन्न गरेपछि बल्ल चुनाबी अभियान सुरु गर्ने भनेको छु ।

महाधिवेशनको मुखमा यी कार्यक्रम गरेपछि त्यो निर्वाचन लक्षित नै हुने भयो नी ?
बुझ्नेले त्यसरी बुझेपनि, यी दुवै कार्यक्रम हाम्रो बार्षिक क्यालेण्डर अन्र्तगत नै थिए । व्यस्तताले हामीले सन् २०१८ मा अभिभावक वनभोज गर्न पाएनौँ, त्यसैले अहिले यो गर्न लागेका हौँ । कल्याणकारी कोषका लागि च्यारिटी कार्यक्रमको कुरा चाँही, एनआरएनको यो कोष घट्दै गएको छ । यसलाई बढाउन कुनै कार्यक्रम त गर्नपर्यो, हैन र ? हामीसँग कोष भयो भने न हामीले सामाजिक अभियान सञ्चालन गर्न सक्छौँ । त्यसैले यसलाई निरन्तरता दिन खोजेको हो । मलाई लाग्छ, च्यारिटी कार्यक्रमबाट हामीले ५० हजार डलर जति जम्मा गर्न सक्छौँ ।

एनआरएनएको दुई बर्षे यो अवधिको कार्यकाल कस्तो रह्यो ? के–कस्ता कामहरू भए ?
केहि काम गर्नलाई २ वर्षे अवधिको कार्यकाल अलि छोटो भयो भन्ने मलाई लागेको छ । यसका लागि हामीले विधान परिवर्तन गर्न खोजीरहेका छौँ, कम्तिमा ३ बर्षे बनाऔं भनेर । हामी त सबै राजी छौँ तर, एनआरएनएको अन्तराष्ट्रिय कार्यसमितिको विधान नै परिर्वतन गर्नुपर्ने हुँदोरहेछ, त्यसैले हामी त्यसतर्फ लबिङ गरिरहेका छौँ । जहाँसम्म यो अवधिमा हामीले गरेका कार्यहरू भन्नुपर्दा, डा. महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रका लागि ६० हजार डलर भन्दा बढी रकम जुटायौँ । नेपालका ७ प्रदेशका ९ विद्यालयलाई प्रति विद्यालय एक लाख रुपैयाँका दरले सहयोग गर्यौँ । नेपालको पर्यटन प्रबद्र्धनका लागि निकै महत्वपूर्ण कामहरू गर्न सक्यौँ जस्तो लाग्छ, जस्तो की हामीले यहि अवधीमा न्यू साउथ बेल्य राज्यकै काउरा फेस्टिभलमा सहभागिता जनाऔँ, त्यहाँ ३ सय भन्दा बढी नेपालीहरू सहभागि भएर नेपाल र नेपाली सम्बन्धि थुप्रै जानकारी दिऔँ । (city to surf ) कार्यक्रम अन्र्तगत नेपाली पोशाक र झण्डा सहित र्यालीमा सहभागित जनायौँ, यसलाई यो वर्ष अझ प्रभावकारी बनाउने पाठ सिकेका छौँ । एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिभल सिड्नी, पर्थ, डार्विन, ब्रिसवेन र मेलर्वनमा सम्पन्न गर्यौँ र एडिलेडमा निकट भविष्यमै हुँदैछ ।

तपाईँ आँफै संयोजक भएको सिड्नीमा सम्पन्न नेपाली फेस्टिभलमा कलाकारको प्रस्तुती र छनौटमा पर्याप्त ध्यान पुगेन भन्ने आरोपलाई के भन्नुहुन्छ ?
कलाकार छनौट सहि थियो । सबै किसिमका कलाकारहरू ल्याउन सफल भएका थियौँ तैपनि सबैको एउटै किसिमको चाहना कहाँ हुन्छ र ? तर, तपार्इँले उठाउन खोज्नुभएको कलाकारको प्रस्तुतीका विषयमा एक जना कलाकारले राजसंस्था सम्बन्धि गीत चाही गाउनुभएकै हो । मैले के स्पष्ट पार्न चाहान्छु भने एनआरएनए कुनै पनि भाषा, धर्म, क्षेत्रीयताको वकालत गर्दैन्, यस्ता कुराहरू कलाकारहरूले पनि ध्यान दिनुपर्ने कुरा हो । त्यहाँ कलाकार मार्फत भएको गल्तीबारे मैले सार्वजनिक क्षमायाचना पनि गरिसकेको छु ।

नेपाल फेस्टिभलको आयव्यय सार्वजनिक नै भएन लामो समयसम्म ?
हो, यसमा केहि विलम्ब भएकै छ । डिसेम्बरभित्र सार्वजनिक गर्ने भन्ने योजनामा थियौँ तर, आउनुपर्ने रकम पनि आउनुपर्यो र तिनुपर्ने रकम पनि तिर्नुपर्यो, त्यसैले केहि विलम्ब भएको हो । हामी फेब्रुअरीभित्र सम्पूर्ण आयव्यय सार्वजनिक गर्छौं ।

तपाईँहरूले भनेजस्तै नेपाल फेस्टिभलले देशलाई अष्ट्रेलियासँग जोड्न सक्यो त ?
एकदम सक्यो भन्ने लाग्छ । फेस्टिभलले पुरानो र नयाँ पुस्तालाई जोड्न सक्यो । शब्दमालाका विद्यार्थीहरू आए, नेपाली घर नै बनाएका थियौँ निकै ठूलो खर्च गरेर । नेपाली परिकारको राम्रो बजारीकरण भयो । यसपटकको कार्यक्रमलाई पूरै वातावरणीयमैत्री बनाउन खोज्याैं, त्यसमा केहि हदसम्म सफल पनि भयौँ । हाम्रा नयाँ पुस्ताले नै हाम्रा संस्कार र संस्कृतिबारे जान्ने अवसर पाए । सबैभन्दा ठूलो कुरा विदेशी भूमिमा आफ्नो पहिचान सहित परेड खेल्न सक्यौँ । हाम्रो खाना, भेषभुषाबारे यहाँका सञ्चारमाध्यमले खुलेरै प्रशंसा सहितको समाचार सामाग्री प्रकाशन गर्यो । त्यसैले हामीले यसमा निकै सफल भयौँ ।

एनआरएनएका नेपाल सरकार र अष्ट्रेलियन सरकारसँग सम्बन्धि सवालहरू के–के हुन् ?
यो महत्वपूर्ण प्रश्न हो । नेपाल सरकारसँग हाम्रो ३/४ वटा माग छन्, त्यसमा कहि न कहि अष्ट्रेलियन सरकार पनि जोडिन्छ । पहिलो कुरा, हामीले हरेक दुई वर्षमा नेपाल फेस्टिभल आयोजना गर्छौं, आफ्नै बलबुतामा । यो कार्यक्रम मार्फत पर्यटन प्रबद्र्धनमा ठूलो योगदान पुग्छ तर, यसका लागि हामीले जति आग्रह गर्दा पनि नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड कसैले पनि सहयोग गर्दैनन् । यो हामीले हाम्रो लागि भन्दा पनि देशका लागि गरेकाले यसमा सरकारको समेत सहभागिता रहनुपर्छ । दोश्रो कुरा, नेपाली विद्यार्थीको समस्या सबै एनआरएनएसँग ठोक्किन थालेको छ । यसको लागि समस्याको मुलबाटै समाधान गरिनुपर्यो । सरकारले नै यो समस्या समाधानको पहल गर्नुपर्यो । पासपोर्ट र नो अब्जेशन लेटर दिने बेलामै विद्यार्थीसँगै अभिभावकलाई अष्ट्रेलियाबारे जानकारी गराउनुपर्यो । सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्यो । यहाँ आइसकेपछि के–के समस्याहरू हुन्छन्, ट्राफिक नियम, समुन्द्रसँग सम्बन्धि जानकारी, बस्ने, खानेको प्रबन्ध ? यी यावत कुराहरूबारे सरकारले ध्यान दिनुपर्छ र सोधीखोजी गरिनुपर्छ । तेस्रो कुरा, हामी मुश्किलले ३ महिनाको कलेज शुल्क तिरेर आउँछाैं, यसलाई एकैपटक एकवर्षको फी बुझाएर आउने नियम बनाइनुपर्छ । चौथो कुरा, वार्षिक रुपमा बिमा गर्छौँ जीवन विमा समेत गरेर विद्यार्थी आउने परिपाटी बसाल्नुपर्छ, विद्यार्थी सक्दैन भने सरकारले यसमा केहि हिस्सा सहयोग गर्नुपर्छ ।

थुप्रै नेपाली विद्यार्थीहरू अनेकौँ समस्यामा छन् । तर, पनि आउने क्रम रोकिएको छैन । यतिका आकर्षण किन हो त ?
हो, अष्टे«लिया गर्न सके राम्रो पनि छ । तर, नराम्रो हुने उत्तिकै माध्यमहरू पनि । हामी देख्छौँ कुलतमा फसेर, विभिन्न थरिका खेलहरू खेलेर नेपाली विद्यार्थीको बिचल्ली छ । तर, हामी यो कुरा भन्दैनौँ । के भन्छौँ र गर्छौ भन्दा, ओपेरा हाउस अगाडि खिचेको फोटो राख्छौँ, गगनचुम्बी महलहरूबारे लेख्छौँ । चिल्ला सडक र रेलहरू देखाउँछौँ । यसले नै हो त्यतिका आकर्षण बढेको हो, यहाँ आइसकेपछि बास्तविकता धेरै फरक हुन्छ । यसबारे न त सरकारले भन्छ, न आउने विद्यार्थीले बुझ्न चाहान्छ, न त कन्सल्टेन्सीहरूले नै भन्छ ।

तपाईँ अष्ट्रेलिया आएको लामो समय भयो, तपाईँको व्यक्तिगत बुझाइमा हामीले नेपालीलाई अष्ट्रेलियनले हेर्ने नजर कस्तो पाउनुभयो ?
अरु भन्दा नेपालीलाई बढी सम्मान र मायाँ नै दिएको पाएको छु । हामी निकै मेहनेती छौँ । इमान्दार र काम प्रति वफदार छौँ, यहि कुरा अष्ट्रेलियनहरू लाई मनपर्छ ।

एनआरएनएका भावी योजनाहरू के–के छन् ?
यो महत्वपूर्ण प्रश्नका लागि धन्यबाद । हामीले एनआरएनएलाई एउटा बलियो संस्थाका रुपमा अघि बढाउनुपर्नेछ । त्यसका लागि हाम्रो कल्याणकारी कोषलाई एक लाख डलर भन्दा बढी बनाइनुपर्छ । त्यसका साथै छुट्टै खेलकुद र विद्यार्थी कल्याणकारी कोष बनाउनुपर्छ किनकी यसले यहाँका भलिबल, फुटबल र क्रिकेट लगायतका खेल र खेलाडीको बृत्तिविकासमा सघाउ पुर्याउन सकोस् । अहिले जम्मा ५ हजार मात्रै एनआरएनएको सदस्यता छ यसलाई व्यापक बनाउनुपर्छ । एक लाखको हाराहारीमा नेपाली छौँ, सदस्यता जम्मा ८ हजार ? विभिन्न बर्ग विभाजन गरेर सदस्यता बाँड्नुपर्छ । र, अर्को महत्वपूर्ण पक्ष भनेको, हामीले अहिलेसम्म सरकारी सहयोग लिनै सकेका छैनौँ । त्यस्ता थुप्रै कार्यक्रम अष्ट्रेलियन सरकारसँग छ, जुन हामीले लिन सक्छौँ, यसका लागि हामीले आफ्नो क्षमता पनि बढाउँदै लैजानुपर्छ ।

अन्तमा केहि व्यक्तिगत कुरा पनि गरौँ, नेपाल कहिले फर्किने ?
मलाई त अहिले नै जाऔँ जस्तो लाग्छ । तर, यहाँ सबै व्यवस्थापन गर्नुपर्यो नी । त्यसैले लाग्छ ५/६ बर्ष । उतै गएर बस्ने हो ।

एक्लै जाने की स–परिवार ?
म त सबै जाने भन्छु, परिवारको मनशाय पनि बुझ्नुपर्यो । म चाँही शतप्रतिशत जान्छु ।

यहाँ रहँदा नेपालको सबैभन्दा बढी के कुरा मिस गर्नुहुन्छ ?
एकछिन सोचेर…। चाडपर्व र आमाबुवा ।

आफ्नो करिअरदेखि सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा भएको भए अझ बढी प्रगति गर्थे हुँला तर, यहाँ जे छ, सन्तुष्ट नै छु ।