ममताका “जीवनका तरङ्ग” को बिमोचन सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५
सिड्नीलाई कर्मभूमि रोजेर यहाँका साहित्यक, सामाजिक, परोपकारी र नेपाली कला संस्कृतिका लगभग सबै कार्यक्रमहरुमा देखिने ममता तिवारीली आफ्नो नयाँ कृति लिएर डायस्पोराका साहित्य प्रेमी बीच आएकी छन् । तिवारीको कविता संग्रह “जीवनका तरङ्ग” हालै सिड्नीको एक साहित्यक माहोल बीच बिमोचन भएको छ । अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा सम्पन्न उक्त कविता संग्रहको अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा, एनआरएनएकी केन्द्रिय संरक्षक एबम ओएएम बाट विभूषित इन्द्रा बन, एनआरएनए ओसियनाका संयोजक धर्म राज अधिकारी, अनेसास एनएसडब्लु अध्यक्ष महेश्वोर शर्मा तथा पुस्तककी श्रस्टा ममता तिवारीका बाबा आमाले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो।
पुस्तकको छोटो समिक्षा गर्दै अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले विदेशको बसाइमा नारी श्रष्टाहरु एक पछि अर्को आउदै डायस्पोरा साहित्य भण्डारमा पुराउनु भएको योगदानको चर्चा गर्दै कवयत्री तिवारीको यो कविता संग्रहमा पनि छोटो, सरल भाषामा लिखित धेरैको मन छुने कविताहरु रहेको बताए । सृजना जति सरल भयो त्यति नै धेरैको मन मष्तिष्कमा छुन सक्ने भएका कारण पनि “जीवनका तरङ्ग” का कविताहरु प्रबास बसाइमा रहेका सबैको लागि आफ्नै बिम्ब माथि लेखिएका कविता जस्ता हुने सापकोटाले बताए ।
धन्यबाद मन्तब्यका क्रममा कवयत्री ममता तिवारीले उपस्थित सबैलाई धन्यवाद दिदै अनेसासमा शुभचिन्तक, साधारण सदस्य हुदै आहिले एनएसडब्लुको उपाध्यक्ष हुदै गर्दा आफुमा सबै अग्रज, साथी-संगीको पेरणा र पाएको उत्साहले नै रचनाहरु थपिदै यो पुस्तककारको रुपमा सबैको आगाडी राख्न पाएको बताईन । यस क्रममा उनले आफ्नो कविता संग्रहको केहि कविताहरु बचन गरेकी थिइन् । छोटा र सरल, मातृबत्साल्य देखि, रष्टप्रेम अनि प्रबासी जीवनमा मन भित्र खेल्ने ज्वारभाटा देखि उत्साहका फुलहरु लाई ४० भिन्न कविता सहित  यस कृति भित्र समेटिएका छन् ।
अनेसास एनएसडब्लु अध्यक्ष महेश्वोर शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएकी केन्द्रिय संरक्षक एबम ओएएम बाट विभूषित इन्द्रा बनले कवयत्री ममता तिवारीलाई कृतिको लागि बधाई दिदै नेपाली कला र साहित्यको संरक्षण र पर्बर्दनमा बिभिन्न संघ संस्थाहरु ले खेलेको भूमिकाको पनि सरहाना गरेकी थिइन् । सभापतिको आसनबाट महेश्वोर शर्माले उपस्थित सबै साहित्यक मनहरु प्रति नमन गर्दै अनेसास एक पछि अर्को गर्दै डायस्पोराका श्रष्टाहरुको सारथि बन्न पाएकोमा प्रसन्नता व्यक्त गरेका थिए। नयाँ सृजना सहित आएकी श्रष्टा ममता तिवारीलाई बधाई दिएका थिए।
अनेसासका केन्द्रिय सदस्य तथा एनएसडब्ल्यु च्याप्टरकी पुर्व अध्यक्ष सानु घिमिरेले संचालन गरेको सो कार्यक्रममा व्यवसायी तथा समाजसेवी युवराज भट्टराईले कवियत्री तिवारीलाई बधाई दिदै यस्तो व्यस्त कार्यतालिका बीच यो कृति जन्माउनु आफैमा समुदाय र नेपाली साहित्यमा ठुलो देन भएको बताएका थिए।  कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनीधिहरु, नेपालबाट आउनु भएका अभिभाबक र साहित्यप्रेमीहरु को बाक्लो उपस्थिति थियो।