रबिन्द्र दाइको सम्झनामा

-- प्रकाश लामिछाने / प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

मेरी आमा म तीन–चार वर्षको हुँदा यो संसारबाट बिदा लिनुभएको थियो । मेरो आमाले संसारबाट बिदा लिंदाको क्षण वहाँकी बहिनी अर्थात मेरी सानीआमा सँगै हुनुहुन्थ्यो । दिदी बहिनी भोलिपल्ट हुन लागेको भाइकी छोरी अर्थात भदैको बिहेमा सँगै जाने भनेर सानीआमा हाम्रो घरमा आउनुभएको थियो । आमा शायद साँझको खाना बनाइरहनुभएको थियो र बाहिर झमझम पानी परिरहेको थियो । अचानक आकाशबाट परेको चडकनले मेरी आमालाई लिएर गयो अनि म र मेरा दाइ दिदीहरूलाई संधैको लागि टुहुरो बनाएर जानुभयो । पछि बुझ्ने भएपछि सानीआमा संधै भेटन आइरहनुभएको सम्झना आइरहन्छ । भन्नुहुन्थ्यो “तिमीहरू मेरै अगाडि टुहुरा भयौ अनि दिदीले पनि भनिरहनुहुन्थ्यो यि सबै तिम्रै जिम्मा हुन् ।”

शायद यहि कारणले होला सानीमा ७–८ धण्टाको बाटो हिंडेर हामीलाई भेटन आइरहनुहुन्थ्यो । २–४ दिन बसेर जानुहुन्थ्यो । मेरी अर्की सानी आमा पनि हुनुहुन्छ तर मलाई धेरै समयपछि मात्र थाहा भयोकि वहाँ पनि हाम्री आफ्नै सानीआमा हो भनेर । सानीआमाको घर गैरेगाउँ जाँदा आफ्नै आमाको काखमा गएको महसुश हुन्थ्यो । दाइ दिदीहरू पनि सार्है नै माया गर्नुहुन्थ्यो । लगभग मेरै उमेरका भाइ साथी पनि थिए ।

रवि दाईसँगको क्षण त्यति धेरै छैन तर जति छन अति नै स्मरणीय छन् । दाइलाई गैर्हैगाउँमा भेटेको त्यस्तो याद छैन । सानीआमाको परिवार जव पोखरामा स्थानान्तरण हुनुभयो दाइसँग भेटघाट भइरहन्थ्यो । दाइसँगको एक भेट मलाई संधै सम्झना आइरहन्छ र त्यो भेटले दाइप्रति मेरो एकदम राम्रो छाप पनि परेको थियो । म लगभग १०–१२ बर्षको हुँदो हुँ । धेरैजना हुनुहुन्थ्यो । कुनै पारिवारीक कार्यक्रम थियो शायद । मैले सबैलाई एकमुष्ठ नमस्कार गरें । कसैले फर्काउनुभयो कसैले त फर्काउन कष्ट पनि गर्नुभएन । रवि दाइले बोलाएर, हात मिलाएर के छ कान्छा भनेर सोध्नुभयो । मलाई एकदम माया दर्शाउनुभयो । महत्व दिनुभयो । दाइ सबैसँग यस्तै व्यवहार गर्नुहुन्थ्यो । सबैसँग एकदम नरम भएर बोल्नुहुन्थ्यो । एकदम सरल हुनुहुन्थ्यो । यस्तै व्यवहारले वहाँ संधै जनताको मनमा बसिरहनुभएको हो जस्तो लाग्दछ मलाई । सबैको मन जित्नुभएको वहाँले मृत्युलाई जित्न सक्नुभएन ।

दाइले प्रत्येक भेटमा आत्मियता देखाउनुहुन्थ्यो । दाइसँगको अर्को प्रसंग पनि संधै सम्झिरहन्छु । दाइको बिहे काठमाडौंमा भएको थियो । बिहेको भोलिपल्ट दाइसँगै भाउजु दिदी र दाइका अन्य साथीहरू सँगै गैर्हेगाँउ हिंडेर म पनि गएको थिएँ । जाँदा र फर्कँदा दाइले गर्नुभएका कुराहरू, व्यबहार, माया अविस्मरणीय छन् । दाइले स्मरणको लागि फोटोहरू पनि खिच्नुभएको थियो तर अहिलेसम्म मैले हेरेको छैन । अब चाहेर पनि दाइसँग सोध्न नमिल्ने बनाइदिएको छ भाविले ।

कलेज पढ्दा या अन्य समयमा कसैले रवि दाइको कुरा गर्दा गर्वले वहाँ त मेरो दाइ हो नी भन्न पाउँदा कम्ता खुसी लाग्थेन । वहाँ एकदम अध्ययनशील हुनुहुन्थ्यो । दाइको कोठा पुस्तक नै पुस्तकले भरिएका हुन्थे । संधै भनिरहनुहुन्थ्यो अध्ययन गर्नुपर्छ । कामको लागी भन्दिनु भन्यो भने आफ्नै बलबुताले गर्नुपर्छ भन्नुहुन्थ्यो । तर पनि दाइको नामले गर्दा मलाई एक दुई कुरामा सजिलो भएको थियो । जस्तो म पिएन क्याम्पस पढ्दा एउटा सानो समस्या आइपरेर मलाई क्याम्पस चिफकोमा लगिएको थियो अनि तत्कालिन स्वबियु अध्यक्ष धनराज आचार्यले मलाई चिन्नुभएछ रविन्द्रको भाइ भन्ने अनि सहयोग पाएको थिएँ ।

त्यस्तै अर्को म शिक्षा संकायको बिद्यार्थी भएपनि मलाई पत्रकारिता मा चाख थियो । हाल मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भीम वलीले २०६२÷६३ को समयमा कालीमाटीमा पत्रकारीता सम्बन्धी तालिम केन्द्र चलाउनुहुन्थ्यो । म पनि पत्रकारीता संम्बन्धी तालिम लिन पुगें र तालिम सकिएपछि मलाई पत्रिकामा काम गर्न मन छ भनें अनि वहाँले हाम्रो पहाड साप्ताहिकका सम्पादक प्रकाश रोकाया सँग सम्पर्क गराइदिनुभयो र काम गर्न थालें । भीम वलि र प्रकाश रोकाया दुबैजनाले म रविन्द्र अधिकारीको भाइ भन्ने थाहा पाएर नै काम गर्ने मौका दिनुभएको थियो । त्यो कामबाट मैले धेरै नै सिक्ने मौका पाएको थिएँ । राम्रा काम गरेका र असल व्यक्तिहरू सँग अन्तरबार्ता लिने अवसर मिलेको थियो । त्यहि पत्रिकाको संबाददाताको हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रको राजाको हैसियतमा गरिएको अन्तिम पत्रकार सम्मेलनको प्रत्यक्षदर्शी हुने दूर्लभ मौका प्राप्त भएको थियो जहाँ बरिष्ठ पत्रकारहरू कुर्सीमाथी उभिएर हल्ला गर्दै उनको कुरा सुनिरहेका थिए । यसरी नजानिंदो तरीकाले रवि दाइको नाम मेरा लागि उपयोगी भएको थियो ।

पछिल्लो पटक दाइलाई भेटदा दाइ पार्टीका धेरै मान्छे अष्ट्रेलिया आइसकेका छन् हजुर कहिले आउने हो त नी भन्दा दाइले भन्नुभएको थियो साथीहरूले बोलाईरहेका छन् अब आउँछु छिट्टै भन्नुभएको थियो । २०१८ को डिसेम्बर, मेलवर्नमा सम्पन्न भएको नेपाल फेस्टिभलमा दाइ आउने हल्ला सुनेर भाउजुलाई मेसेज पठाएर सोध्दा कुरा भएको छ भन्नुभयो तर दाइ आउनुभएन । अब दाइलाई अष्ट्रेलियामा भेटने सपना सपना नै रह्यो ।

दाइ हेलिकप्टर दूर्घटनामा पर्नुभएको खबर पाउने बित्तिकै दिपेन्द्र दाइलाई फोन गरें उठेन, भाउजुलाई मेसेज पठाएँ केही जवाफ आएन । एकैछिनमा त फेसबुकभरी समाचार आउन थाले । त्यो क्षणको बारेमा खै के लेख्न सकिएला र । जति लेखेपनि त्यो पिडा व्यक्त गर्न सकिन्न । सुन्नै नसकिने र पत्याउनै नसकिने समाचार थियो त्यो । दाइको अनुहार र वहाँसँगका क्षण अनि दाइले भन्नुभएका कुराहरू सर्रर आइरहेका थिए । सानीमा, सानोबुवा, भाउजु, दाइ, दिदी, भाइ, छोराहरूको अनुहार सम्झिदा पनि एकदम गार्हो भइरहेको थियो । कसरी सहनुभयो होला त्यो पीडा ? कसरी सम्हालिनु भयो होला सबैजनाले आँफुलाई ? म चाहेर पनि सँगै हुन सकिन । दुःखमा साथ हुन नपाएकोमा झन पीडा थपेको थियो मलाई । बिदेसिनुको सबैभन्दा ठूलो पीडा शायद यहि होला । यसै कारणले मैले अहिलेसम्म कसैसँग पनि फोन गरेर कुरा गर्ने साहस बटुल्न सकेको छैन । अब त झन नेपाल जाँदा भेटघाट गर्नुपर्ने लिस्टमा हजुरको ठाउँ खाली हुनेभयो । सबैले सामाजिक संजालमा समबेदना ब्यक्त गरिरहँदा मैले त्यहाँ पनि लेख्न सकिन । परिवारले मात्र हैन राष्ट्रले नै एक असल व्यक्ति गुमाएको छ । विकासप्रेमी नेता गुमाएको छ । दाइ हजुरको लागि श्रद्धाञ्जली शब्द प्रयोग गर्न एकदम गार्हो भयो मलाई । हजुरलाई संधै सम्झिरहने छौं । अलविदा दाइ ।