पुस्तक विक्रेतालाई जेल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६

चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय तोकेको छ । विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना उपलब्ध गराएको अभियोगमा उनलाई जेल सजाय दिइएको निंबो इन्टरमिडियट पिपल्स कोर्टले जनाएको छ । जेल सजायसहित उनलाई पाँच वर्षसम्म राजनीतिक अधिकारबाट पनि वञ्चित गरिएको अदालतको फैसलामा उल्लेख छ । स्विडिस नागरिकताधारी गुईले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यका व्यक्तिगत जीवनबारेका पुस्तक प्रकाशित गरेका थिए । हङकङमा अन्य चार साथीसहित पुस्तक पसल सञ्चालन गरिरहेका उनी सन् २०१५ मा थाइल्यान्डमा बिदा मनाउन गएका बेला हराएका थिए । त्यसपछि कैयौं पटक चिनियाँ नियन्त्रणमा पर्ने र मुक्त हुने क्रमकै बीच पछिल्लो पटक सन् बेइजिङ जाँदा सन् २०१८ मा नियन्त्रणमा लिइएको थियो ।