अष्ट्रेलियाको नेपाली समुदाय लोभलाग्दो छ : लक्की शेर्पा अष्ट्रेलियाका लागि सिफारिस गरिएकी नेपाली राजदूत

-- कृष्ण भट्टराई / प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७३

अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त हुन पाउँदा कस्तो अनुभव गरिरहनु भएको छ ?

व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई अष्ट्रेलिया मन परेका देशहरू मध्येको एक हो । ठूलो नेपाली समुदाय तथा हजारौं नेपाली विद्यार्थीहरूले रुचाएको यो देश आफ्नै कारणले विशेष लागेको छ । आफूले चाहाना गरेको देशमै राजदूतको रुपमा जान पाउँदा असाध्यै खुसी लागेको छ ।

राजदूत बन्ने प्रसंग कसरी प्रारम्भ भयो ?

मलाई पार्टि (एमाओवादी) का नेताहरूले ‘तपाईं राजदूत बन्नु पर्ने मान्छे हो’ भन्नु भएको थियो । तर मैले कहिले पनि राजदूत बन्नका लागि कुनै प्रकारको क्याम्पेन गरिन, कसैलाई अनुरोध पनि गरिन । पार्टिगत रुपमा भएको यो नियुक्तीलाई मैले सहर्ष स्वीकारेँ ।

अष्ट्रेलियाकै राजदूत बन्दैछु भन्ने कहिले थाहा पाउनु भयो ?

नढाँटि भन्ने हो भने हामी २१ जना राजदूतको सिफारिस भएकै दिन बिहान म राजदूत हुँदैछु भन्ने थाहा पाएकी थिएँ । अष्ट्रेलियाकै राजदूतमा सिफारिस गरिएको कुरा चाहिँ मन्त्रिपरिषद्को निर्णयपछि मात्र थाहा पाएँ ।

अष्ट्रेलियाकै राजदूत सिफारिस गरिएको कुराले कत्तिको रोमाञ्चक बनायो ?

मैले प्रारम्भमै भनेँ, मलाई अष्ट्रेलिया देश किन–किन पहिलादेखि नै मन परिरहेको थियो तर मलाई अष्ट्रेलियाकै राजदूत बनाउनु पर्छ भन्ने कुरा पनि आएन । मलाई त नामै नसुनिएको, नेपाली समुदायको कमै उपस्थिती भएको देश परिएला भन्ने डर थियो, धन्न हजारौं नेपालीहरूको बसोबास भएको देशमा राजदूत हुन पाएकी छु । यो कुरामा म रोमाञ्चित नै छु भन्नु पर्‍यो ।

अघिल्लो वर्ष अष्ट्रेलिया जानु भएको थियो, के प्रयोजनलाई जानु भएको हो ?

म पहिलो पटक गत वर्ष करिव दश दिनका लागि अष्ट्रेलिया जाने मौका पाएकी थिएँ । सिड्नीमा आयोजित वल्र्ड पार्क कँग्रेसमा अन्तर्राष्ट्रिय डेलिगेटको रुपमा (वक्ताको रुपमा समेत) म त्यहाँ पुगेकी थिएँ । पहिलो पटक अष्ट्रेलिया पुग्दै मलाई त्यहाँको वातावरण, नेपाली समुदाय तथा समाजले आकर्षित गरेको थियो । छोटो समयका लागि पुगेको देशमा राजदूतकै रुपमा पुग्न लाग्दा थप रमाइलो अनुभव गरिरहेकी छु ।

उक्त कार्यक्रममा तपाईंको सहभागिता कत्तिको प्रकावकारी रह्यो ?

विश्वभरीबाट झन्डै ६ हजार अन्तर्राष्ट्रिय डेलिगेटहरू सिड्नी पुग्नु भएको थियो, ती मध्ये म पनि एक थिएँ । त्यो विशाल फोरममा मैले आफ्नो देशको प्रतिनिधित्व गरेकी थिएँ । मैले आफ्नै शैलीमा आफ्नो कुरा राखें । सहभागिहरूलाई प्रभावित बनाएँ ।

त्यो बेलाको दस दिनको बसाइमा नेपाली समुदायसंग भेटघाट भयो कि भएन ?

नेपाली समुदायका थुप्रै व्यक्तित्वहरूसंग भेट भयो । रेडियो अष्ट्रेलियामा कार्यरत नेपाली रेडियो पत्रकार साथीहरू मेरो अन्तर्वार्ताका लागि आउनु भएको थियो । छोटो समयमै मैले नेपाली समुदाय कसरी विकसित भैरहेको रहेछ भन्ने कुरा जान्ने मौका पाएँ ।

नेपाली समुदायको उपस्थिती कस्तो लाग्यो ?

नेपाली समुदायलाई अष्ट्रेलियामा उच्च मूल्यांकन गरिएको पाएँ । खासगरी नेपाली भाषालाई समेत मान्यता दिएको रहेछ । त्यो आफैंमा एउटा ठूलो कुरा हो भन्ने मैले बुझेकी छु ।

अष्ट्रेलिया पुग्न कत्तिको एक्साइटेड हुनुहुन्छ ?

एक प्रकारले एक्साइटेड नै छु । एउटा सुन्दर देश, नेपालीहरूको ठूलो जनसंख्या भएको देश भएकाले पनि सकेसम्म चाँडै पुग्ने चाहाना राखेकी छु ।

अष्ट्रेलियाको कुन कुराले आकर्षित गरेको छ ?

मलाई अष्ट्रेलिया किन पनि मन परेको छ भने मलाई त्यहाँको नेपाली समाज लोभलाग्दो लागेको छ । मैले त्यो नेपाली समुदायका लागि धेरै कुरा गर्न सक्छु जस्तो लागिरहेको छ । धेरै कुरा गर्न सकिने सम्भावनाहरू देखेकी छु ।

अष्ट्रेलियामा काम थालेपछि के–के कुरालाई प्राथमिकता दिनु हुनेछ ?

मैले विशेष गरेर नेपाली विद्यार्थीहरू जति पनि हुनुुहन्छ, उहाँको लागि अर्थात शिक्षा क्षेत्रमा केही विशेष गर्ने योजना छ । त्यहाँ अध्ययरत नेपाली विद्यार्थीहरूको सहकार्यमा ठूला–ठूला कार्य गर्न सकिन्छ । उहाँहरूको रिसोर्सलाई कलेक्टिभ्ली काममा लगाउन सकिन्छ । सरकारी तवरबाट केही गर्न सकिन्छ कि भन्ने कुरा अध्ययनको विषय बनाउँछु । नेपाल तथा अष्ट्रेलियाबीच ब्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने कुरामा ध्यान दिनेछु । नेपालका लागि अझ बढि विकासका कार्यक्रम ल्याउन सकिन्छ । यसबाहेक पर्यटन क्षेत्रलाई अझ व्यवस्थित गरेर नेपाल तथा अष्ट्रेलियाको पर्यटनलाई कसरी उत्साहित पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिनेछु । यसबाहेक नेपाली समुदायको रुची तथा समस्यालाई कसरी प्रभावकारी ढंगले सम्बोधन गर्न सकिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

एउटा सानो देशबाट अष्ट्रेलियाजस्तो विशाल मुलुकमा आफूलाई कसरी प्रभावकारी ढंगले प्रस्तुत गर्ने सोच बनाउनु भएको छ ?

हो, नेपाल गरिव छ, धेरै कुरामा उन्नती गर्न सकेका छैन । तर म गरिव देशबाट आएको राजदूत भए पनि अष्ट्रेलियाको उच्चतहमा डिप्लोम्याटिक सम्बन्ध विकसित गर्नेछु । नेपाल र नेपालीका लागि केही गरौं भन्ने लागेको छ, म यो कुरालाई विशेष ध्यान दिनेछु ।

एनआरएनसंगको तपाईंको सम्पर्क तथा सम्बन्ध कस्तो छ ?

हिजो (अप्रिल २७ का दिन) मात्रै एनआरएन अध्यक्ष शेष घलेज्यूसंग मेरो भेट भएको थियो । म अष्ट्रेलियाको राजदूतको रुपमा सिफारिस भएकोमा उहाँ एकदमै खुशी हुँदै बधाइ दिनु भयो । यसबाहेक उहाँले मेरो कार्यकालमा पूर्ण सहयोग गर्छु भन्नु भएको छ । कुराकानीको क्रममा शेष घलेले ‘हामीले महिला राजदूत पाएका छौं, तपाईं आफैं पनि योग्य हुनुहुन्छ, हामी सबै प्रकारको सहयोग गर्न तयार छौं ।’ भन्नु भएको छ ।

ठ्याक्कै कति महिनापछि तपाईं अष्ट्रेलिया पुग्नु हुनेछ ?

अहिले नै ठ्याक्कै मिति त तोक्न सकिँदैन तर कम्तिमा तीन महिना भित्रमा म अष्ट्रेलिया पुग्छु कि भन्ने लागेको छ । त्यो भन्दा अघि यहाँ (काठमाडौंमा) संसदीय सुनुवाइ हुनु पर्छ । त्यो भएर हामीलाई समितिले अनुमोदन गरेपछि मात्र हामी सम्बन्धित देश जाने हो ।