शास्त्र र व्यवहार सबैमा शोषित नारिजाती

-- जुना पौडेल / प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७

सिद्धार्थ गौतम! जस्ले आफ्नो चलिरहेको दरबार, परिवार, मिठो निन्द्रामा सुतिरहेकी श्रीमती, बाबा खोजिरहने सन्तानलाई चटक्कै छोडेर पलायन भए। उनि बर्षौपछि फर्किदा गौतम बुद्ध भएर फर्किए। सबैले भगवान मानेर जयजयकार गरे । न त कसैले उनलाई केही सोधे न त कसैले कुनै शंका नै गरे न त चरित्रमाथी सवाल नै उठाए।

तर उता देबि सिताको कुरा गर्दा ठ्याक्कै उल्टो! रावणद्वारा अनाहकमै अपहरण गरिएकी सिता, १४ बर्षको बनबास पछि फर्किदा सबैले घुरेर हेरे,मुख खुम्च्याए,चरित्र माथी औंला उठाए ।  उनिमाथी के भयो, के भएन त्यस्को साक्षी त स्वयंम सीता नै थिइन तर अफसोस उन्को बयान कसैलाइ मतलब भएन । बिना सोधपुछ बिना सुझबुझ  समाजले नै ठम्याइदियो कि उनिमाथी के भयो भनेर।

आश्चर्यको कुरा त यहाँ छ कि एकातिर शास्त्रमा राम्रैसङ्ग बर्णन गरिएको छ कि सिताको पबित्रताको कारणले रावणले उनलाइ छुन पनि सकेनन भनेर । तर अर्कोतिर यो पनि लेखिएको छ कि आफ्नो पबित्रता साबित गर्नको लागि अग्निपरीक्षा दिने क्रममा  दहन भइ मृत्यु भएको थियो।

साच्चै यदि उस्लाइ रावणले छुन सकेका थिएनन भने अग्निपरिक्षा के का लागि? यहाँ पुरुष र स्त्रीमा यत्ती ठुलो विभेद देखिएको छ कि त्यो बिस्वास गर्दा पनि नारिको अपमान देखिन्छ । विश्वास नगर्दा पनि नारी भएकै कारणले उनले मृत्युवरण गर्नु परेको सुन्दा हाम्रो धर्म माथी नै प्रश्न उठ्ने गरेको देखिन्छ।

त्यस्तै अर्को हाम्रो आउदै गरेको पर्व तीज पर्बकै कुरा गरौं परापुर्बकाल देखि नै यस्लाइ नारिहरुको महान चाडको रुपमा लिइदै आइएको छ। अब मेरो मन मा एउटा प्रश्न यहाँ उठ्छ कि कुन कोणबाट तिजलाई नारिहरुको चाड भनेर भन्न मिल्छ? शास्त्रमा बताइए अनुसार त महिलाले श्रीमानको लामो आयुको लागि निर्जला व्रत बसेर साझमा श्रीमानको खुटा पखालेर पानी खाइ खुट्टा ढोगिसकेपछी मात्रै व्रत समापन हुन्छ भन्ने छ नि ! अब आफै सोचौ यो महिलाको चाड कसरी भयो? सहि अर्थमा महिलाको चाड हुन्थ्यो भने पुरुषले श्रीमतीको लागि व्रत बस्नु पर्थ्यो, श्रीमतीको खुट्टा ढोग्नु पर्थ्यो तर त्यस्तो हुदैन, किन? यो एउटा गम्भीर प्रश्नचिन्हमै रुमल्लिएको छ हाम्रो पर्व तिज। यो बारेमा हामि एकछिन सोचौ न, नागपन्चमीमा नागको पुजा गर्छौ, जनैपुर्निमामा ज्वाइलाई जनै फेरिदिएर दाजुभाइ लाइ राखी बाध्छौ, तिहारमा कागपूजा, कुकुरपूजा, गाइपूजा, गोरुपूजा,भाइपूजा गर्छौ आदि आदि।सबैको लागि आफ्नो आफ्नो बिशेश दिन भनेर पुज्छौ तर महिलालाई खोइ पुजेको?

महिलाको चाड भनेर आखामा छारो हालेर अनि अन्त्यमा महिलालाइ नै पुरुषको खुट्टा ढोगाउने?। कुरा खुट्टा ढोग्नुपरेको मात्रै होइन न त मैले खुट्टा ढोग्ने प्रथाको बिरोध नै गरेको हो। कुरा अन्याय र विभेदको हो। यो त एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै कहानीहरु छन जहाँ नारिलाई पाइला पाइलामा विभेद गरिएको हुन्छ। धर्म धान्ने शास्त्र, परम्परा, पुराणमै नारिमाथि इज्जत दिइएको छैनन्,  जताबाट पनि शोषित नै गरिएको छ भने हामिले समाजबाट कस्तो अपेक्षा राख्ने? त्यसैले म त भन्छु पुराना सबै सहि हुन्छन भन्ने छैन। राम्रालाई जोगाऔ नराम्रालाइ मोडिफाइ गरेर अझ राम्रो र सहज बनाउदै जाउ। परम्परा र शास्त्रको नाममा अन्धभक्त नहोऔ। हाम्रो भोलिको भाबि पिडिलाई सहज र व्यबहारिक बनाइदिऔ।।