अबु मियाको चौकीदारी

-- अभय श्रेष्ठ / प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७

वचन र श्रवणभन्दा ठूलो कुरा मनन हो । मनन भनेको इमानदारी पनि हो । भारतीय फिल्म ‘मिर्च मसाला’मा खुर्सानी पिँध्ने कारखानाको मुसलमान चौकीदार अबु मियाका लागि ज्यानभन्दा ठूलो कुरा कारखानाको सुरक्षा हो । एक प्रसंगमा ऊ भन्छ, ‘म यस कारखानाको चौकीदार हुँ । चौकीदारीको अर्थ निर्जीव घर र सामानको मात्र होइन, कामदारको पनि चौकीदारी हो ।’

केतन मेहताद्वारा निर्देशित फिल्मको कथा ब्रिटिस इन्डिया कालमा गाउँगाउँमा ‘लगान’ उठाउने सुवेदारको अत्याचारविरुद्ध घुम्छ । ऊ गाउँका युवतीमाथि रोजीछाडी ‘अत्याचार’ गर्छ । मुखिया, पुजारी र अरू थुप्रै ताबेदार यसमा सहयोगी भूमिका खेल्छन् । सोनबाई नामकी युवती समाजमा आफूमाथि खुलेआम हातपात गर्न खोज्ने सुवेदारविरुद्ध प्रतिकार गर्छे र गाउँकै खुर्सानी पिँध्ने कारखानामा शरण लिन पुग्छे । वृद्ध चौकीदार अबु मिया कारखानाको मूल ढोका बन्द गरेर उसलाई सुरक्षा दिन्छ । मुन्सी, पुजारी, व्यापारी, कारखाना मालिक र गाउँका सम्पूर्ण पुरुष सोनबाईलाई सुम्पन चौकीदारलाई दबाब दिन्छन् । मुन्सीकी पत्नीको नेतृत्वमा उठेका महिला र गान्धीवादी शिक्षकको प्रतिकारलाई नराम्ररी दबाइन्छ । सोनबाईलाई सुम्पन कारखानाकै महिला चौकीदारलाई दबाब दिन्छन् । तर, वृद्ध चौकीदार आफ्नै शरीरभरि गोली थापेर पनि सोनबाई र कारखानाका कामदारलाई सुरक्षा दिन्छ ।

ओम पुरी ‘मिर्च मसाला’ मा चौकीदारको भूमिका खेल्ने तिनै अनुपम अभिनेता थिए जसलाई नेपाली दर्शकले कहिल्यै भारतीय राष्ट्रियतामा सीमित राखेनन् । समानान्तर सिनेमाका संवेदनशील यी अभिनेता सिनेमालाई व्यापक सामाजिक, आर्थिक र उत्पादन सम्बन्धलाई उजागर गर्ने कलाको उत्कृष्ट माध्यम ठान्थे । त्यसै उनले गम्भीर दर्शकको मनमनमा डेरा जमाउन सकेका होइनन् ।

अनुहार नै सब थोक मानिँदो हो त ओम पुरी प्रचलित नायकको फ्रेमभित्र अट्न सक्दैनथे । नायकको अनुहारमा हुनुपर्ने चकलेटीपन, आकर्षक जिउडाल, मोहनीमय अन्दाज उनको अनुहारमा पूरै गयल थिए । उनको अनुहारमा यति धेरै खतहरू थिए कि कुनै दिन बिहारका तत्कालीन मुख्य मन्त्री लालु यादवले खाल्डैखाल्डा भएको बिहारी सडकलाई उनको गालासँग तुलना गरेका थिए । तिनै यादवले भविष्यमा बिहारी सडकलाई हेमा मालिनीको गालाजस्तो चिल्लो बनाइदिने भाषण दिएर यसलाई एउटा अतिचर्चित कहावत बनाइदिएका थिए । ओम पुरी सिनेमा खेल्न आएका हुन् भन्ने थाहा पाउँदा कुनै दिन उनको अनुहार हेरेर अधिकांश फिल्मकर्मीले उपेक्षा गरेका थिए । कहाँसम्म भने शबाना आजमीजस्ती उत्कृष्ट अभिनेत्रीले समेत उनलाई हेरेर नाक खुम्च्याएकी थिइन् रे । तर, अनुहारको बुनोट उति आकर्षक नभएका उनै भइदिए अत्यन्त सम्मानित कलाकार । सिनेमामा उनी सर्वसाधारण जनताको हृदयको दुःखलाई हुबहु उतार्थे । ओम पुरीले ती सर्वसाधारण, गरिब र अभागी जनको संघर्षलाई जीवन्तता दिएका थिए जसका लागि विद्रोह र लडाइँ निर्विकल्प उपाय हुन्थ्यो । सायद त्यसैले, उनलाई सिनेमा खेलाउने पनि साधारण निर्देशक होइन, श्याम बेनेगल, गोविन्द निहलानी, केतन मेहता लगायत अन्तर्राष्ट्रिय स्तरका निर्देशक हुन्थे ।
निहलानीको ‘अर्ध सत्य’ उनका सबैभन्दा प्रसिद्ध सिनेमामध्ये एक हो । यसको पटकथा पढेपछि भारतका तत्कालीन सुपरस्टार अमिताभ वच्चनले खेल्न अस्वीकार गरेका थिए रे । त्यही घटना ओम पुरीका लागि सौभाग्य भइदियो । प्रचलित सूत्रविरुद्ध यथार्थवादी भईकन पनि सिनेमा व्यावसायिक रूपले सफल भयो । अमिताभले खेलेको भए कताकता यो अर्को ‘जन्जिर’ भइदिन्थ्यो होला । ओम पुरीले यसलाई अविस्मरणीय बनाइदिए । पोख्त अभिनेत्री स्मिता पाटिलको अभिनयले त्यसमा रौनक थप्यो । यसले क्रूर व्यवस्थाले इमानदार प्रहरी अफिसरलाई कसरी ‘नपुंशक’ बनाइदिन्छ भन्ने मार्मिक कथा भन्छ । सांस्कृतिक र राजनीतिक रूपले नै भ्रष्ट मानिसहरूको पकडमा सत्ता रहेका बेला हरेक क्षेत्रमा भ्रष्टहरूकै पहुँच हुन्छ । अन्ततः निराशा र आक्रोशको पल्लो फालमा पुगेर ऊ भ्रष्ट नेताको हत्या गर्छ ।

ओम पुरीको अर्को बिर्सनै नसकिने फिल्म हो ‘आक्रोश’ । गोविन्द निहलानीले निर्देशन गरेको यो फिल्म भारतीय आदिवासी जनजातिको सीमान्त त्रासदी हो । आदिवासी अभागी युवकको भूमिकामा सिनेमाभरि ओम पुरी लगभग मौन रहन्छन् । तर, पूरै सिनेमा उनकै वरिपरि घुम्छ । गाउँका ठालूहरू युवककी सुन्दरी पत्नीको बलात्कारपछि हत्या गर्छन् र हत्याको आरोपमा उसैलाई थुनाइदिन्छन् । उसको वृद्ध बाबु र किशोरी बहिनी दिन बिताएर जंगलैजंगल उसलाई भेट्न आउँछन् । सिनेमामा त्यो घटना अत्यन्त कहालीलाग्दो छ जब बाबुको दाहसंस्कार गर्दागर्दै बन्चरो प्रहार गरेर ऊ बहिनीको हत्या गर्छ । उसको यो कृत्य जति आपराधिक लागे पनि तर्कविहीन भने छैन । बाबुको मृत्युपछि गाउँका ठालूले किशोरी बहिनीलाई बलात्कार गरेर किस्ताकिस्तामा हत्या गर्नुभन्दा ऊ एकैपल्ट बहिनीको जीवन समापन हुनु उचित ठान्छ ।
सन् १९८७ मा हवाई फिल्म उत्सवमा उत्कृष्ट फिल्म घोषित ‘मिर्च मसाला’ मा त चौकीदार अबु मिया शत्रुको गोली शरीरभरि थापेर पनि कारखानाका महिलालाई सुरक्षा दिन्छ । असली अर्थमा, कुनै पनि देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, प्रशासक, बुद्धिजीवी देशका चौकीदार हुन् । तिनले ऐन–मौकामा देश र देशवासीको सुरक्षा गर्न सक्नुपर्छ । हाम्रो सन्दर्भमा ती असली चौकीदार कहिल्यै हुन सकेनन् । बरु कति अर्थमा ‘मिर्च मसाला’ चलचित्रका ‘मुन्सी’ वा ‘सुवेदार’कै भूमिकामा पो देखिए । २०४६ मा प्रजातन्त्र पुनःस्थापनादेखि गणतन्त्रसम्मलाई हेर्ने हो राजनीतिक परिवर्तन र स्वतन्त्रताबाहेक जनजीवनमा देखिने खालको उल्लेख्य परिवर्तन भएको देखिएन । हरेक क्षेत्रमा अतिराजनीतिकरणले शैक्षिक, प्राज्ञिक लगायत सबै संस्था एवं संकाय पञ्चायतकालभन्दा गएगुज्रेको अवस्थामा छन् । कहिलेकाहीँ त यो खेल रुसी उपन्यासकार येनायेभको ‘म्याड हाउस’ जस्तै लाग्छ जहाँ सम्पादकको ठाउँमा बगरे पुग्छ र बगरेको काम सम्पादकले गर्छ । वैज्ञानिकहरू हिलो मुछिरहेका हुन्छन् र ज्यामीहरू वैज्ञानिक संस्थाको हाकिम बनाइन्छन् । जहाँ जो हुनपर्ने हो, त्यहाँ त्यो मान्छे भयो कि पागलखानाको रीत खलबलिन्छ । राजनीतिक भागबन्डाले के हाम्रो देश यस्तै भइरहेको छैन ? यही परिस्थितिको अन्त्य गर्न सकिएला र आफ्नो राज्यका निकायहरूमा सुहाउँदा मान्छेलाई पठाउन पाइएला भनेर संघीयताको अवधारणा आएको हो । तर, निर्णायक शक्तिमा भएका पार्टीहरूले त्यसलाई सधैँ निमोठ्ने काम मात्र गरिरहेका छन् । राजनीतिक इमानदारी भए सायद यो ठूलो समस्या होइन । अबु मियाको चरित्रबाट हाम्रा नेता, प्रधानमन्त्री, मन्त्री, प्रशासक र सरोकार निकायका प्रमुखले कहिले सिक्लान् ?