काेभिड – १९ र आर्थिक मन्दी : मारमा नेपाली व्यवसायीहरु

-- सुजित सिग्देल, आवरण अक्टाेबर अंक २०२० / प्रकाशित मिति : बिहिबार, अशोज २२, २०७७

कोभिड – १९ को रुपमा चिनिएको कोरोना भाइरसको महामारीले यति बेला दश महिना नाघिसकेको छ । अत्यास लाग्दो यो समय अझै कति लम्बिने हो र कहिले पार हुने हो कुनै अत्तो पत्तो छैन । त्यसो त कोभिडले स्वास्थ्य, शिक्षादेखि मानव जीवनका भिन्न भिन्न कुराहरू मा असर गर्यो, जन जीवनका यिनै अनन्य पाटाहरू मध्ये अर्थतन्त्र कोभिडको मारमा परेको सबैभन्दा महत्वपूर्ण पाटो हो । बिश्व अर्थतन्त्रमा कोभिडको असर कहाली लाग्दो छ । ठूला ठूला व्यवसाय र व्यवसायीहरू यो बीचमा धरासायी बनिसकेका छन् भने साना साना अनि सिमित साधन श्रोतले चलेका व्यवसायहरू लाई यसले पुराएको असरको त लेखा जोखा नै छैन ।

अल्प बिकसितदेखि बिकसित देशसम्म आर्थिक मन्दीको मारमा
गत मार्चमा दुई अर्ब डलरको सहयोग अपील गरेको संयुक्त राष्ट्रसंघले तीन महिना नबित्दै जुलाईको दोश्रो हप्ता तिरै कोरोना भाइरस महामारी विरुद्ध संघर्ष गर्न १० अर्ब ३० करोड डलर रकमका लागि अपील गर्यो । बिबिसीका अनुसार यो संयुक्त राष्ट्रसंघले अहिलेसम्म आर्थिक सहायताका लागि गरेको सबैभन्दा ठूलो आह्वान थियो । राष्ट्रसंघले कोभिड–१९ का कारण यो वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरी सामना गर्नुपर्ने बताएको छ । यो परिदृश्य हेर्दा बिश्वका एक से एक बिकसित देशदेखि अल्प बिकसित र बिकासोन्मुख देशसम्म यति बेला कोहि पनि आर्थिक मन्दीको मारबाट अछुतो नरहेको प्रष्ट देखिन्छ । यहि पृष्ठभूमिबाट हेर्दा पनि नेपाल आर्थिक मान्दिको मारमा परेको त छ नै तर के, कति, कस्तो लगायतका सूचांकहरू न सरकारी निकाय संग देखिन्छ न गैरसरकारी र वित्तीय संस्थाहरू संग नै ।
कोभिडका कारण नेपालमा चैत्र महिनादेखि नै लकडाउन शुरु भयो, ठूलो मात्रामा रेमिटेन्स भित्रिएर देशको अर्थतन्त्र चलेको हाम्रो जस्तो देशमा बिश्व बजार मैआएको बेरोजगारी र बिश्व भरि छरिएका बैदेशिक रोजगारमा रहेका नेपाली युवाहरू मा परेको असरबाट अर्थतन्त्रमा सिधै असर गर्यो । यो बीच अलि अलि हुने निर्यात व्यापार शून्य भयो भने आयातको असुन्तालनले गर्दा पनि यसका बिभिन्न असरहरू देखिए । सात प्रतिशतमा वृद्धि हुने आशा गरिएको नेपालको अर्थतन्त्रको वृद्धि दर यति बेला शून्यको नजिक पुगिरहेको छ भने व्यापार घाटा करिब ७६ अर्ब रुपैया भन्दा बढी भैसकेको छ ।

अर्को तिर बिकसित देशहरू कै पंक्तिमा रहेको अष्ट्रेलियाले सामान्य रुपमा हेर्दा कोभिड–१९ संक्रमणका शुरु कै समयदेखि स्वास्थ र जनजीविकाका सवाल संगै अर्थतन्त्रलाई पनि निकै महत्वपूर्ण तरिकाले हेरेको देखिन्छ । यस बीचमा अष्ट्रेलियन सरकारले सुरु कै दिनदेखि कामदार र रोजगारदाताहरू दुवैलाई यो अप्ठ्यारो स्थितिमा सामान्य जनजीवन निर्बाह गर्दै ब्यापारलाई अगाडि बढाउने हेतु बिभिन्न आर्थिक प्याकेजहरू ल्यायो । त्यति मात्र होइन केहि महिना निःशुल्क चाइल्ड कियरदेखि अशक्तहरू सरकारी सहयोगमा जीवन यापन गरिरहेकाहरूलाई थप सहयोगका प्याकेजहरू को समेत घोषणा गर्यो । यसले पक्कै पनि अष्ट्रेलियाको अर्थतन्त्रलाई ठूलो टेवा पुग्यो तर समय यसरी आइदियो कि कोभिडको असर लम्बिएको लम्बिएई भयो र अन्ततः गएको केहि हप्ता अगाडि अष्ट्रेलियन केन्द्रिय सरकारका ट्रेजरर जोस फ्राईडेनबर्गले आधिकारिक रूपमै अष्ट्रेलिया आर्थिक मन्दीमा प्रवेश गरेको घोषणा नै गरे । यो घोषणा संगै तीन दशक पछि अष्ट्रेलियाले बेहोर्नु परेको यो आर्थिक मन्दीले अर्थतन्त्रलाई कति असर गर्ला त्यसको र्निक्यौल अझै अर्थविदहरू ले गर्न सकेका छैनन् ।
अष्ट्रेलियाको तथ्यांक बिभाग (एबिसी) ले हालै सार्बजनिक गरेको तथ्याङ्क अनुसार जुन महिनासम्म त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र ७ प्रतिशतले र त्यस भन्दा अगाडिको तीन महिनामा देशको कुल गृहस्थ उत्पादन ०.३ प्रतिशतले घटेको देखियो । यो अबधिमा बेरोजगारीको संख्या निक्कै बढ्यो यहि स्थिति कायमै रहेमा आउने क्रिसमस र नयाँ वर्षसम्म बेरोजगारीको संख्या थप ४ लाखले थपिने अनुमान गरिएको छ । बिगत २८ वर्षदेखि लगातार बृद्दी भएको अष्टे«लियाको आर्थिक बृद्दि दर यसै आर्थिक मन्दी संगै रोकिएको छ । यो आर्थिक मन्दीलाई अष्ट्रेलियाका बर्तमान अर्थमन्त्री (ट्रेजरर) जोस फ्राईडेनबर्ग “कोभिड मन्दी” को उपमा दिंदै यसबाट अष्ट्रेलियाले छिट्टै पार पाउने विश्वास लिएको बताएका छन् ।

नेपाली मूलका व्यवसायीहरू पनि कोभिडको चपेटामा
नेपाली समुदाय अष्ट्रेलियामा निक्कै छिटो बढ्दै गरेको समुदाय हो । मिलनसार, मेहनती, सरकारी सहुलियत कमै लिने समुदायको रुपमा परिचित हाम्रो समुदायबाट नेपालीलाई नै टार्गेट गरेर वा नेपाली समुदाय बाहिरकालाई टार्गेट गरेर ब्यापार व्यवसाय गर्नेहरू को संख्या पनि बढ्दो क्रममा छन् । आहिलेको कोभिड–१९ यो अप्ठ्यारो समयमा अन्य व्यवसायी सरह नेपाली समुदायका व्यवसायीहरू लाई यसले पक्कै असर गरेको छ । एकै खाले व्यवसायहरू मा केन्द्रित नेपाली व्यवसायहरू मा रेस्टुरेन्ट, फंक्सन सेन्टर, खाद्य पसलहरू, शैक्षिक परामर्शदाता मुख्य हुन् भने पछिल्लो समयमा रियल स्टेट र शैक्षिक संस्था (कलेज) तिर पनि धेरै नेपालीहरू को बाहुल्यता देखिन्छ । यी सबै व्यवसाय जनमुखी व्यवसाय भएका कारण पनि अहिलेको कोभिडका कारण सरकारले लगाएका विविध नियमहरू ले यी व्यवसायहरू लाई ठूलो असर गरेको छ ।
बिगत केही वर्षदेखि सिड्नीमा संचालित इन्द्रेणी फंक्सन सेन्टर यहाँका नेपालीहरू को सानो ठूलो जमघटदेखि ठूला ठूला पार्टी र सांगेतिक कार्यक्रमहरू आयोजना हुने सुबिधा सम्पन्न ठाउँ हो । कोभिड अगाडिको यहाँको रमझम र व्यस्तता अचम्म लाग्दो थियो । कुनै पार्टी या कार्यक्रम गर्न चाहनेले कहिले काहीँ त करिब ५/६ महिना अगाडिदेखि नै अग्रिम बुकिङ्ग गरेर पालो पर्खनु पर्ने यो फंक्सन सेन्टर कोभिडको कारणले सुनसान छ । निक्कै माग बढेका कारण नजिकै अर्को झरना फक्सन सेन्टरसमेत खोलेको केहि हप्ता मै कोभिडको महामारी देखियो । सरकारले लागाएका बिभिन्न नियम र निगरानीहरू को पालना गर्दै यी दुवै फंक्सन सेन्टरका करिब ६/७ महिनाका सबै अग्रिम बुकिङ्गहरू यति बेला सहज तरिकाले कार्यक्रम गर्न गार्हो छ र ती मध्ये धेरैले मिति पछाडि धकेल्दै छन् । केहि वर्ष अगाडि आँफै विद्यार्थीको रुपमा अष्ट्रेलिया आएर पढाइ सकिए संगै यो व्यवसाय संचालन गरेका इन्द्रेणी फंक्सन सेन्टरका संचालक लक्ष्मण सापकोटाले कोभिड अगाडि २०/२२ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँछन् । त्यो बाहेक यस संग सम्बाद अन्य इण्डष्ट्रिहरू जस्तै लौण्ड्रि, क्लिनिग, सप्लाई सबै जोड्दा करिब ४५/५० जनाको रोजागारीको चेन कोभिडको कारणले आहिले लगभग बन्दै छ । आफूसंग प्रत्यक्ष काम गर्ने लगभग सबै नेपाली मूल कै विद्यार्थी वा टेम्पोररी भिषामा रहेकाहरू भएका र तिनीहरू लाई केहि सहयोग होस् भनेर आफूले यो अवसर दिएको भए पनि आहिलेको सरकारी जबकिपरको सुबिधामा तिनीहरू नपर्ने कारण पनि व्यवसायलाई निकै आफ्ठ्यारो परेको संचालक सापकोटाले बताए । त्यसो त एनएसडब्लु सरकारको आर्थिक सहयोगको प्याकेजले अलिकति राहत दिन खोजे पनि त्यो आफ्नो अहिलेको व्यवसायिक लसमा नगन्य जस्तो रहेको उनको भनाइ थियो । व्यवसायिक रुपमा यति बेलाको समयलाई आफूले निक्कै अफ्ठ्यारो समयको रुपमा लिएको तैपनि हिम्मत नहारेको र अहिलेको विषम परिस्थतिमा बिश्व मै परेको यो समस्यालाई सबैले सहजताका साथ लिंदै स्वस्थ जीवनशैली मै केन्द्रित हुनु पर्ने उनले बताए । मानिसहरू मानसिक रुपमा नै त्रसित, रमाइलो गर्ने, जमघट गर्ने मुडमा कोहि नहुनु, अर्को तिर अलि अलि खुल्ला जस्तो भए पनि सरकारी नियम सोसियल डिस्टेन्सिङ्गका कारण २५ प्रतिशत अकुपेन्सी हुनु पर्ने, खाना बफेट गर्न नपाइने जसले गर्दा थप स्टाफ चाहिने आदि कारणले पनि अलि अलि खुले पनि घाटा मै चलिरहेको लक्ष्मणको भनाइ यति बेला धेरै हस्पिटालिटी व्यवसायहरू संग मिल्छ । नेपाली समुदायको सक्रिय सदस्यको हैसियतले पनि भोलिका दिनमा फेरि समुदायको सहयोग, उच्चमनोबलका लागि नैतिक सपोर्ट पाउने बिश्वास सहित यो समय पक्कै छिटो टुङ्गिनेमा लक्ष्मण आशावादी छन् ।

अष्ट्रेलियाको अर्को ठूलो व्यवसाय भनेको यहाँको शैक्षिक संस्थाहरु हुन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरू बाट हुने यहाँको आम्दानीले राष्ट्रिय आम्दानीको १७–१८ प्रतिशत ओगटेको छ । यति बेलाको कोभिड महामारीले यो क्षेत्र पनि नराम्रो सुस्ताएको छ । यति बेला नेपाली मूलका व्यवसायीहरू का धेरै नै कलेजहरू अष्ट्रेलियाका बिभिन्न शहरहरू मा संचालनमा छन् । धेरै जसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने यी कलेजहरू अहिलेको कोभिडको मारमा पर्ने व्यवसायमा पर्दछन् ।

भोकेसनलदेखि उच्च शिक्षासम्मका कोर्षहरू को पठन पाठन गराउँदै आएको क्राउन इनस्टिच्यूट अफ बिजेनस एण्ड टेक्नोलोजी र क्राउन इनस्टिच्यूट अफ हाइयर एजुकेसन अष्ट्रेलियामा रहेका नेपाली मूलका व्यवसायीहरू को उच्च शिक्षा (युनिभर्सिटी लेबलको) पढाई हुने थोरै शैक्षिक संस्थाहरू मध्ये पर्दछ । यस शैक्षिक संस्थाको सिइओको रुपमा लामो समयदेखि कार्यरत नारायण तिवारी कोभिड–१९ को मारमा अष्ट्रेलियाका व्यवसायमा हस्पिटालिटी र टुरिजम इण्डष्ट्रि जस्तै शैक्षिक संस्था पनि सबैभन्दा बढी असर पुगेको व्यवसाय मान्छन् । लामो समयदेखि अनलाईन माध्याम मै पढाइ संचालन हुँदै आएको शैक्षिक संस्थामा अध्ययन गर्न आउनेहरू मा बाहिर (विदेश) बाट आउनेको संख्या जिरोमा झरे संगै यहि रहेका विद्यार्थीहरू मै निर्भर हुनु परेको बताउँछन् । नयाँ विद्यार्थीको संख्या जिरो हुनु यस विचमा यहाँ रहेका करिब दुई लाख विद्यार्थी र अस्थायी भिषा होल्डरहरू पनि आफ्नो देश फर्किएका कारण यहाँका हस्पिटालिटी इण्डष्ट्रि लगायत रेंटल मार्केट संगै शैक्षिक संस्थाहरू ले पनि मन्दीको स्थिति सामना गर्नु परेको छ । त्यसमाथि प्रतिस्प्रर्धात्मक बजार लगायतका कुराहरू ले यति बेला बिश्वको अन्य मुलुक जस्तै अष्ट्रेलियालाई पनि सहजता नभएको तिवारीको तर्क छ । कोभिड अगाडि पनि प्रतिस्प्रर्धा त थियो तर सप्लाई (विद्यार्थी आगमन) राम्रो भएकोले गुणस्तरिय शिक्षा दिने शैक्षिक संस्थालाई कहिँ पनि गार्हो नभएको आफ्नो संस्थागत अनुभब रहेको तिवारीले बताए । तिवारी अगाडि भन्छन् यो अप्ठ्यारो स्थितिमा पनि आफु आबद्द शैक्षिक संस्थामा भोकेसनल र हाइयर एजुकेसन दुवै कोर्ष भएका कारण पहिला जस्तो नभए पनि सन्तोषजनक रुपमै चलेको छ । यसो भन्दै गर्दा यो अप्ठ्यारो स्थतिमा अष्ट्रेलियन सरकारले देखाएको सदासयताको लागि भने तिवारीले सरकारलाई धन्यबाद दिए । सरकारको अहिले जबकिपरको सुबिधाको सहयोगले पनि आफ्नो कलेजमा रहेका कोहि पनि स्टाफले जागिर गुमाउनु नपरेको र सरकारले दिएको क्यास फ्लो बुस्ट अन्तर्गतको सहयोग प्याकेजले त झन् धेर थोर कलेज संचालनमा पनि सहयोग पुगेको उनको अनुभब छ । कोभिडको स्थिति शत प्रतिशत नियन्त्रण नहुदाँसम्म स्थिति सहज हुन गार्हो देखिने बताउँदै तिवारीले अहिले सरकारले भिषा लिएर विभन्न देशमा रोकिएका मध्ये केहिलाई अष्ट्रेलिया ल्याउने पाइलोट प्रोजेक्ट सफल भएमा केहि सकारात्मक समचारहरू छिट्टै आउने उनको बिश्वास छ ।

यसै गरि सिड्नी बेस अर्को कलेज किंग्सफर्ड इन्टरनेशनल इनस्टिच्यूट का सिइओ भिम खरेल पनि अहिले स्थिति सबैको लागि असहज भएको बताउँछन् यहि स्थितिका वीच पनि बिगत केहि महिना आफ्नो कलेजमा केहि नयाँ कोर्षहरू थप भएको र ती बिषय अध्यायन गर्न चाहने विद्यार्थीहरूका कारण नयाँ विद्यार्थीको आगमन भै रहेको भए पनि कोभिड अगाडिको स्थिति संग भने तुलना गर्न नमिल्ने बताए । सबै कोर्षहरू अनलाईनमा नै पढाई भैरहेका कारण पनि सरकारी नियमहरू पालना गर्दै पठनपाठन प्रकृया अगाडि बढिरहेको किंग्सफर्ड इन्टरनेशनल इनस्टिच्यूटले यो अफ्ठ्यारो स्थितिमा विद्यार्थीहरू लाई पनि एकेडेमिकल्ली र फाइनासियल गर्नु पर्ने सहयोग र सहुलियत पुराइरहेको उनको भनाइ थियो । अर्को तिर सरकारले जबकिपरको रुपमा दिएको सहयोग र क्यास फ्लो बुस्ट अफरले पनि व्यवसायको निरन्तरतामा केहि सहयोग पक्कै भएको खरेलले बताए । अफ्सोर विद्यार्थीहरू को संख्यामा कमी र हाल लगभग नगन्य नै भएको आहिलेको स्थितिमा शैक्षिक क्षेत्र सहज हुन अरु केही समय पर्खनु पर्ने, यो अप्ठ्यारो स्थितिमा आफ्नो विचारमा शैक्षिक संस्था, परामर्शदाताहरू, विद्यार्थीहरु र अभिभाबकहरु सबैले संयमता अपनाउँदै एक अर्को संग सहयोगी भावना कायम गर्दै अगाडि बढ्नु अहिलेको आबश्यकता रहेको पनि खरेलले बताए ।

मेलबर्नमा नेपाली र भारतीय स्वादको निकै ब्यस्त रेस्टुरेन्टको रुपमा चिनिएको बसे क्याम्पका संचालक एबं नेपाली समुदायमा परिचत अनुहार एनआरएनएका अध्यक्ष समेत रहेका केशब कडेल आहिलेको विषम परिस्थितिमा सरकारी नियमको पालना गर्दै जनजीवन अगाडि बढाउनु व्यवसायी देखि सबै पेशामा सम्बद्दको धर्म रहेको बताउँछन् । बिश्व परिवेशलाई हेर्दा अष्ट्रेलियन सरकारले कोभिडलाई निक्कै सुझ बुझका साथ ह्यान्डिलिङ गरेको उनको ठहर छ । सबै पेशा, क्षेत्र र व्यवसायहरू असर परेको अहिलेको परिस्थितिमा साना व्यवसाय त्यसमा पनि रेस्टुरेन्ट व्यवसायलाई परेको असर बारे आफू भुक्तभोगी भएको बताउँदै सबै भन्दा ठूलो कुरा यति बेला आफू र आफ्नो परिवार र समुदाय स्वास्थ रहेर यो अफ्ठ्यारो परिस्थितिको सहज हुने दिन कुर्नु नै हो यसको अगाडि अरु कुरा गौण छन् कंडेल थप्छन् । पहिलो संक्रमणमा जेन तेन चलिरहेको व्यवसाय भिक्टोरियाको दोश्रो लकडाउन संगै फेरि निक्कै अप्ठ्यारो स्थितिको सामना गर्नु पर्यो । अघिल्लो संक्रमण देखि नै अष्ट्रेलियन सरकारले गरेको सहयोग र सपोर्टले आफुहरू अभिभाबक बिहिन हुनु नपरेको कंडेल सम्झिन्छन्, जब किपरले व्यवसायी र रोजगारदाता दुवैलाई यो स्थिति सामाना गर्न मनोबल बढाइ रहयो अलि अलि टेक वे बिक्रि गर्न पाईने प्राबधानले फेरि पनि सानो मात्रामा भए पनि क्यास फ्लो भैरह्यो । यो हप्ता संगै धेरै कुरा खुकुलो हुँदै गर्दा अब छिट्टै सबै कुरा सहज हुँदै जानेमा आफू आशाबादी रहेको पनि कडेलले बताए । हामी बिश्व कै सबै कुराले सुन्दर देशमा बसेका छौं जसको अनुभूति सरकारले हामीलाई गरायो यो अप्ठ्यारो स्थितिमा हामी पनि आफू वरपरका र भर्खरै आएका भाइ बैनीहरू लाई कतै केहि अप्ठ्यारो छ भने आफ्नो ठाउँबाट सहयोग गरौँ । जहाँसम्म व्यवसायको कुरा छ अहिलेको यो अप्ठयारो परिस्थितिमा पार लागे संगै बिश्व भरका लागि अष्ट्रेलिया फेरि अध्यायनका लागि होस् वा घुमघामका लागि उत्कृष्ट ठाउँ हुनेमा आफू बिश्वस्त रहेको कंडेलले बताए ।

यसरी नै अष्ट्रेलियामा रहेर ट्राभल एजेन्सीको व्यवसाय संचालन गरिरहेका इर्शाद अहमद पनि अहिलकोे स्थितिमा व्यवसाय निकै नै अप्ठ्यारो स्थितिमा परेको बताउँछन् । एनआरएन अष्ट्रेलियाका राष्ट्रिय युवा संयोजक समेत रहेका अहमद अष्ट्रेलियाका व्यस्त ट्राभल एजेन्सीका रुपमा चिनिन्थे । सुनसान टिकेटिङ्ग व्यवसाय बीच गत महिना एनआरएनए अष्ट्रेलियाको सक्रियता र नेपाली दूताबासको सहकार्यमा अष्ट्रेलियाबाट भएको उद्दार फ्लाईट सफल भए संगै यहाँका ट्राभल व्यवसायीहरू मिलेर गरिएका आहिले चार्टड र सेमी चाटर्ड फ्लाइटहरू संचालनमा व्यस्त इर्शाद आहिलेको काम व्यवसायिक भन्दा पनि सहयोग (स्वयंसेवा) को भावले गरिएको बताउँछन् । ट्राभल बिजनेस यतिसम्म धाराशायी भयो कि त्यसको लागि यहाँका ठूला ठूला एयरलायान्सको ग्राउण्डेडदेखि स्टाफ कटौतीसम्मका कुराहरू हेरे पुग्ने बताउँदै यो अप्ठ्यारो स्थितिमा सरकारले साना व्यवसायीहरू लाई दिने जब किपरका सुबिधाका क्राइटएरियाले गर्दा पनि सबै साना व्यवसायीहरू लाई भने फाइदा पुग्न नसकेको उनको ठहर छ । यो अप्ठ्यारो स्थति अलिकति सहज भए संगै आवत जावत सहज होला पक्कै त्यति बेला अड्किएर बसेका धेरैलाई सहयोग गर्न पाइएला र व्यवसायले पनि गति लेला भन्ने कुरामा इर्शाद आशाबादी छन् ।

अन्त्यमा पक्कै पनि यति बेलाको सबै भन्दा ठूलो कुरा भनेको आफ्नो, आफ्नो परिवार हुँदै समुदायको स्वास्थ्यमा सचेत हुँदै यो अप्ठ्यारो परिस्थतिलाई न्यूनीकरणमा आ–आफ्नो ठाउँबाट योगदान दिनु हो । त्यसो भन्दै गर्दा राष्ट्र चलायमान हुन सबै व्यवसायको ठूलो हात हुन्छ अझ साना व्यवसायहरू ले समुदायमा ब्यापरका साथै एक किसिमको उर्जा पनि दिन्छ । यो बीचमा सरकारले साना व्यवसायहरू का लागि ल्याएका सहयोग र प्याकेजहरू पक्कै सर्हानिय छन् तर अलिकति प्रयोगात्मक नभएका गुनासो सुनिरहँदा त्यो सबैलाई लाभान्बित हुने किसिमको बनाउने तर्फ यहाँको सरकारले सोच्नु पर्ने देखिन्छ । सरोकारवालहरू बाट पक्कै त्यो आवाज पुगेकै होला जसले सरकारी सहयोगको सहजता अझ बढी होस् । अष्ट्रेलियाका प्रायः सबै स्टेटमा व्यवसाय संचालन गरेका नेपाली व्यवसायीहरू मध्ये हामीले केहि प्रतिनिधि पात्रहरू लाई यहाँ समेट्न प्रयास गयौं । यी भिन्न व्यवसायका नेपाली व्यवसायीहरू संग कुरा गर्दै गर्दा एउटा चित्र पक्कै देखिन्छ कि व्यवसायीहरू लाई आहिलेको स्थिति सहज छैन । बिशाल देश अष्ट्रेलियालाई आफ्नो कर्मभूमि अर्थात् दोश्रो घरको रुपमा लिएर हप्तैपिच्छे हजारौं मानिस आउने गर्थे जुन अहिले ठप्प छ जसले यहाँको रियल स्टेटदेखि रेंटल हुँदै हस्पिटालिटी, एजुकेसन, कृषि उत्पादन सबैतिर असर गरेको छ । मानिसको आवत जावत संगै आयात निर्यात र आन्तरिक व्यवसायहरू सबै पक्कै जुर्मुराउनेछन् । प्राबिधिक रुपमा आर्थिक मन्दीको सामना गर्नु परे पनि अष्ट्रेलियामा थुप्रै अवसरहरू पर्ख र हेरको अवस्थामा छन् जुन जनजीवन सहज भए संगै अगाडि बढ्ने छ । फेरि पनि आहिलेलाई यो अप्ठ्यारो स्थिति छिट्टै सहज होस् भन्ने कामना गरौ, आफू आफ्नो परिवार र समुदायको स्वास्थमा बिशेष ख्याल राखौं ।