सम्झनामा राष्ट्र निर्माता

-- उत्तम विचार / प्रकाशित मिति : सोमवार, माघ १२, २०७७

एकता निम्ति कम्मर कस्ने तिमी हौ विधाता
हे प्यारा पृथ्वी नारायण हौ यो राष्ट्र निर्माता ।।

बाइस चौबीस राज्यमा थियो नेपाल बिभक्त
गोर्खाली बनी कम्मर कस्यौ आफैमा स–सक्त ।।

आइमा लाग्नु जाइमा लागे भन्ने त्यो नीतिमा
मुलुक सिङ्गो बनाई छाड्यौ चाहेको मितिमा ।।

त्यो दूरदर्शि क्षमता दिए गोरखनाथले
सपनी माझ खाएथ्यौ दही थापेर हातले ।।

राष्ट्रका सान बनेर बाँच्यौ युगका सितारा
बनेर वीर एकता गाँस्यौ नेपाली सहारा ।।

थिएन स्वार्थ तिमीमा कत्ती मै खाऊँ मै लाऊँ
सदैव देख्यौ सपना मिठो नेपाल बनाऊँ ।

मेची र काली गण्डकी कोसी सेतीका दोभान
तिमी नै एक हौ राष्ट्रभक्त सुनौलो बिहान ।।

गरेर अल्छी बसेनन् कैल्यै कर्तव्य परायण
नेपाल आमा जन्मायौ धन्य पृथ्वी नारायण ।।