वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २३, २०७८

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

बिहीबार काठमाडौंस्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए ।

‘स्तब्ध छु । कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामीबीच रहनु भएन’, अधिकारीले भने -‘फेरि पनि सत्य यही हो ।’

गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

डा‍‍‍. प्रवीण श्रेष्ठका अनुसार प्रधानको बिहीबार दिउँसो १ बजेर ४५ मिनेट जाँदा न्यूरो अस्पतालमा निधन भएको हो ।

सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भए पनि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन् ।

८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

प्रधान आमा प्राणदेवी प्रधानको प्रेरणामा संगीतमा लागेको बताउथे ।

नेपाली गीत शक्तिका शिखर व्यक्तित्व प्रधानले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए ।

२०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए ।

उनलाई यसै वर्ष रेडियो नेपालले राष्ट्रिय श्रष्टा सम्मानद्वारा सम्मानित गरेको थियो।