अमेरिकाबाट आयो गायिका सन्ध्या डिको ‘मेरी माया आउँदैछिन्’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८

काठमाडौं– गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन्’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् ।

उक्त गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् ।

मेलोडियस शैलीको उक्त गीतले एउटा विशेष सन्देश बोकेको छ ।

गायिका, गीतकार तथा संगीतकार सन्ध्या भन्छिन्–‘मेरी माया आउँदै छिन् गीतमा मैले विदेशिएका चेलीहरुलाई केन्द्रमा राखेर तयार पारेकी छु ।’

संगीतकर्मी सन्ध्याका अनुसार थुप्रै नेपाली चेलीहरु पनि अध्ययन तथा रोजगारीका क्रममा विदेशिएका छन् । उनीहरुले आफ्ना घर–परिवार हेरेका छन् ।

‘मैले यो गीतमार्फत त्यही वास्तविकलाई उजागर गर्न खोजेकी छु, उनी भन्छिन्–‘अहिलेसम्म यो गीतमा विषयमा आधारित भएर नेपाली गीत बनेको छ जस्तो नलागेर मैले यो हिम्मत गरेकी हुँ ।’

गायिका सन्ध्या १२ वर्षको उमेरमै अमेरिका लागिन् ।

झम्सिखेल, ललितपुरकी स्थायी वासिन्दा सन्ध्याले नेपालमा छँदा आफू अध्ययनरत विद्यालय तथा रेडियो नेपालको बाल कार्यक्रममा गएर समेत गीत गाएकी थिइन् ।

तर, अमेरिका गएपछि उनको गायन कला छुट्यो ।

‘गीत मेरो लागि छुटेको सपना थियो, अहिले पुरा गर्ने कोशिश गरिरहेकी छु, अमेरिकामा उनलाई ‘डि’ नामले चिन्छन् ।

‘अमेरिकीहरु सन्ध्या नामको उच्चारण गर्नै सक्दैनन, त्यसैले उनीहरुले मलाई डि मात्र भनेर सम्बोधन गर्छन्, गायिका सन्ध्या भन्छिन्– ‘सानै उमेरमा अमेरिका गएकीले गीत गाउने क्रम टुट्यो, जीवनमा जति नै कुरा हासिल गरे पनि गीत गाउन नपाएको कुराले बिझिरहन्थ्यो । जब आफ्नो लागि समय निकाल्न सक्छु, त्यतिबेला गाउँछु भन्ने थियो । म सधैं एउटा सही गीतको खोजिमा थिएँ । मेरी माया आउँदैछिन्‘मेरो लागि त्यही सही गीत बनेको छ ।’

ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा टिकटकका स्थापित अनुहार पुरुषोत्तम सिग्देललाई सुजान श्रेष्ठ, सब्बु तथा सृजनासंगै फिचर गरिएको छ ।

राजन ईशान यो गीतका संगीत संयोजक हुन् ।

राजकुमार बगर यो गीतका रेकर्डिष्ट हुने भने उनैले गीत मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

रामेश्वर जिरेलद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन लोकेन्द्र सुब्बाले गरेका हुन् भने कमल योञ्जनले यसलाई निर्देशन गरेका हुन् ।