आज गणेश चतुर्थी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको त्रास कायम रहेपनि काठमाडौँ उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन् ।

कोरोना त्रासका कारण कतिपय भक्तजनले भने घरमै गणेशको पूजा आराधना गर्नेछन् ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका ९तीज० को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।

यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् ।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ ।