ओन्टारियो विरुद्ध नेपाल विजयी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २०, २०७९

सिड्नी । नेपालले क्यानाडास्थित स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई टि ट्वान्टी अभ्यास खेलमा ५५ रनले पराजित गरेको छ । पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो ।जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । ओन्टारियोका लागि बरुण सहदेवले सर्वाधिक ५० रन, जेड मदमोर ३७ रन बनाएका थिए । दोस्रो विकेटका लागि सहदेव र पदमोरले ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछि सम्हालिन नसक्दा हार स्वीर्कान बाध्य भएको थियो ।बलिङतर्फ नेपालका सोमपाल कामीले ३.३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, आदिल अन्सारी र किशोर महतोले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र पवन सरार्फले २.५ ओभरमा १६ रनको साझेदारी गरेका थिए । पवनले ३७, देव खनालले २० रनको योगदान दिएका थिए । चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गर्दा पाँचौं विकेटका लागि आदिल र रोहितले ६७ रनको अविजित साझेदारी गरेका थिए । ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १–१ विकेट लिए । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । नेपालले अव क्यानाडासँग दुई एकदिवसिय खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।