नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन २६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले उक्त विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ । उहाँले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गर्नुभयो ।

उहाँले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गर्नुभयो । सोही कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्नुभयो । नेता अधिकारीले घटाउनुपर्ने पेट्रोलियम पदार्थको मूल्य नघटाउँदा यसबाट नेपाली जनता प्रत्यक्षरूपमा महँगीको मारमा परेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो- ‘पेट्रोलियम पदार्थको मूल्य १५–१५ दिनमा समायोजन हुनुपर्नेमा अहिलेसम्म गरेको छैन, त्यसलाई घटाउनुपर्छ ।’