हेल्प नेपाल नेटवर्कको २५ औं वार्षिकोत्सव सम्पन्न

संस्थाको ग्लोबल कोअर्डीनेटरमा डिला खरेल चयन
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कले हालै आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।
सोही अवसरमा सम्पन्न विश्व भेलाले अष्ट्रेलिया निवासी युवा व्यवसायी तथा समाजसेवी डिला खरेललाई संस्थाको ग्लोबल को-अर्डीनेटर चयन गरेको छ । भेलाले अष्ट्रेलिया निवासी वैज्ञानिक डा राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अष्ट्रेलिया), हर्ष गौतम (अष्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन) तथा लक्ष्मण शर्मा रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ ।  रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित उक्त समारोहमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले वरिष्ठ हृदयरोग विशेषज्ञ तथा बाल मुटु अस्पतालको निर्माण अभियानमा समर्पित डा. भगवान कोइरालालाई अभिनन्दन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो। यसै गरि डा. रुइतले मानव सेवा आश्रम हेटौँडाका समाजसेवीहरू रामजी अधिकारी र सुशीला (रुपा) केसी र अटिजम भएका बालबालिकाको सेवामा समर्पित विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी) की संस्थापक तथा समाजसेवी सविता उप्रेतीलाई अभिनन्दन गरेका छन् ।
सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै ३० देशमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ । “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माणमा पनि सघाएको छ । नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीलाई गएको २० वर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । त्यस्तै सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् । सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढीपहिरो तथा आगलागी पीडितलाई पनि नेटवर्कले मानवीय सहायता पु–याउँदै आएको छ ।
अग्रजहरु ले यति ठुलो बिश्वास गरि संस्थाको जिम्मेवारी दिनुभएकोमा धन्यबाद दिदै नवनिर्बाचित ग्लोबल को-अर्डीनेटर डिला खरेलले आगामी दिनमा संस्थालाई विदेशमा बस्ने सबै नेपालीहरु बीच अपनत्व बढाएर देशका कुन कन्दरा सम्म आइपरेका बिबिध दुख र समस्याहरु मा सारथी बन्ने एबम सबै संग हातेमालो गर्दै आगाडी बढ्ने बताउनु भयो।