आज महाशिवरात्रि पर्व

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, विरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाएर ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन्, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयता सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ । नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार सहितका देशबाट भक्तजन आइरहेका छन् । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्था गर्न बुधबार बिहान २ बजे पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय भएको छ । त्यसैगरी, स्वास्थ्य सेवाको उचित व्यवस्था र समन्वय गरिएको छ । मन्दिर परिसरमा साधुसन्तको व्यवस्थापन गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । तिलगंगासँगै हङ्शमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीका अनुसार पशुपतिनाथको दर्शनका लागि बाहिर चारवटा मुख्य प्रवेशद्वार भए पनि भित्र सहायक लाइन हुनेछन् । कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउण्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर-आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउनेगरी व्यवस्था गरिएको छ । यस्तै, गौशाला-पिंगलास्थान-पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । गुहृयेश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश गर्न सकिनेछ । जोशीका अनुसार मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै, प्लास्टक पनि निषेध गरिएको छ । कोषले दर्शनार्थीहरूको सुरक्षाका लागि सबैतिर सिसिटिभी क्यामेरा जडान गरेको छ । त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा तीन हजार ५११ प्रहरी परिचालन हुनेछन् । प्रहरी तीन सिफ्ट गरी खटिनेछन् । करिब १० लाख भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । दर्शनार्थी एवं भक्तजनका सवारी साधनको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकरहरू पार्किङ हुनेछन् । त्यसैगरी, कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारीसाधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ । दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यवस्थापन गर्नेछ त्यसका लागि करिडोर सडक र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले जानकारी गराउनुभयो । सदाझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाइभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । बागमती करिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहृयेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातोपुलहुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइनेछ । शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहज रूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा कमाण्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...