मध्य–पूर्व जाने नेपालीका लागि ट्राभल एड्भाइजरी जारी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– ईजरायल तथा ईरानबीच द्वन्द बढेपछि सरकारले मध्य–पूर्वको यात्रामा जाने नेपालीका लागि ट्राभल एड्भाइजरी अर्थात यात्रा सम्बन्धि निर्देशिका जारी गरेको छ । मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।
मन्त्रालयले एउटा प्रेस विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान अथवा मध्य–पूर्वका अन्य मुलुकको भ्रमण अथवा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका उक्त निर्देशिका जारी गरेको हो ।

इजरायल तथा इरानको भ्रमण अथवा वैदेशिक रोजगारी अथवा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ । त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण अथवा वैदेशिक रोजगारी अथवा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नसमेत सूचनामा उल्लेख छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको तथा उनीहरुको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ । स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेस्रो मुलुकको ट्रान्जिट भिसा लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर अथवा बङ्कर/सेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ । साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रुपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ । सङ्कट आइपरेमा उद्धार तथा सहायता र ट्रयाकिङ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको वेबसाइटमा राखिएको अनलाइन लिङ्कमा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न अनुरोध गरिएको छ ।

https://mofa.gov.np/content/1576/travel-information–travel-advisory-/
https://mofa.gov.np/content/1575/details-for-purpose-to-rescue-nepalis-in/