सिड्नीमा आध्यात्मिक महोत्सव– संकल्प यात्रामा समुदायको ऐतिहासिक सहभागिता हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी– ग्रेटर सिड्नीमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि यही अगस्त २९ देखि ३१ सम्म आयोजना हुने तीन दिने सिड्नी आध्यात्मिक महोत्सवको पूर्व सन्ध्यामा आयोजना हुने १००८ कलश यात्रामा नेपाली समुदायको अपार सहभागिता हुने भएको छ । कलश यात्रा प्रारम्भ हुनुभन्दा तीन हप्ता अगाडि नै १००८ कलशका लागि आवेदनप्राप्त भैसकेको जानकारी सिड्नी आध्यात्मिक महोत्सव, कलश यात्रा संयोजक मिना शर्माले जानकारी दिएका छन् ।

महोत्सव नजिकिँदै जाँदा कलश यात्राका लागि थप आवेदनहरु आउने क्रम जारि नै छ । तर GSNMC लोगो सहितको कलशहरुको थप आपूर्ति तुरुन्तै हुन कठिन हुने कारणले कलश यात्राका लागि थप आवेदनहरु लिन GSNMC असमर्थ भएको छ । तर कलश यात्रीहरुसंगै यात्रा गर्नका लागि भने सर्वसाधारण सबैलाई खुला गरिएको छ । एकसाथ १००८ महिला दिदि–बहिनीहरुले गर्ने कलश यात्रा नेपाली समुदायमा यो पहिलो कार्यक्रम हो । नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि आयोजना गरिएको यो ऐतिहासिक संकल्प यात्रामा सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिताका लागि न्क्ल्ःऋ समितिले अनुरोधसमेत गरेको छ ।

वाचनप्रविण दीनबन्धु पोख्रेलको गरिमामय उपस्थितिमा १००८ महिलाहरुद्वारा गरिने कलश यात्रामा बौद्ध लामा गुरु खेन्पो तेन्जिङ त्रिनले लगायत अन्य धर्मगुरुहरुबाट आशीर्वाद ग्रहण गरिने कार्यक्रम छ । १००८ कलश यात्रा, तीन दिवसीय सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन अगस्त २९ शुक्रवारका दिन बिहान ९ बजेदेखि सिड्नीको बरउड पार्कमा हुनेछ । कलश यात्राका साथमा नेपाली पञ्चेबाजासहितको बहु–सांस्कृतिक झाँकी, सिड्नीस्थित नेपाली समुदायिक संघ–संस्थाका पदाधिकारीहरु, सदस्यहरु, दोश्रो पुस्ताका बालबालिकाहरु, थुप्रै आमन्त्रित अतिथिहरु लगायत सिंगो नेपाली समुदाय हातेमालो गर्दै पदयात्रा गर्ने कार्यक्रम तय भएको छ ।

कलश यात्रा पश्चात तीन दिन भरि नै विविध धार्मिक, आध्यात्मिक तथा संस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछन् । वाचनप्रविण दीनबन्धु पोखरेल, सिड्नीस्थित स्थानीय गुरुहरु तथा सामुदायिक संघ–संस्थाहरुको प्रस्तुतिसंगै थुप्रै जिवनोपोगी तथा मनोरञ्जनात्मका कार्यक्रमहरुको आयोजना गरिने छ । महोत्वसमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणमा अमूल्य सहयोग गर्नु हुने दाताहरुको पहिचान र सम्मानजस्ता कार्यक्रमहरु पनि राखिएको छ । कार्यक्रमको विस्तृत जानकारी तथा run-sheet महोत्सवअघिको GSNMC को वेबसाइट www.gsnmc.org.au मा प्रकाशन गरिने आयोजक संस्थाको भनाइ छ । सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सचेतना र अर्थ संकलनका लागि आयोजना गरिएको विविध कार्यक्रमसहितको आध्यात्मिक महोत्सव र यसप्रति समुदायले देखाएको उत्साहजनक सहभागिताले थुप्रै सकारात्मक सन्देशहरु दिएको छ ।

सामुहिक कलश यात्राका लागि छोटो समयमै १००८ भन्दा धेरै आवेदनहरु आउनु अत्यन्तै सकारात्मक सुरुवात हो । करिब तीन दर्जनभन्दा धेरै नेपाली व्यवयासीहरुहरुबाट यो महोत्सवलाई सहर्ष प्रायोजन गरिएको छ । सबैजसो सामुदायिक मिडियाहरुले पनि सिड्नी आध्यात्मिक महोत्सव सम्बन्धि समाचारहरु उच्च प्राथमिकता साथ प्रकाशन र प्रसारण गरेका छन् । करिब ५० भन्दा धेरै सामुदायिक संघ–संस्थाहरुले यो महोत्सवमा सक्रिय स्वयंसेवी भूमिका निर्वाह गर्दैछन् । यसरी सबै क्षेत्रबाट देखाइएको यो अमूल्य सद्भाव, एकता र ऐक्याबद्दताले नेपाली बहुसांस्कृतिक निर्माणमा समग्र नेपाली समुदाय सकारात्मक छ भन्ने बुझिन्छ ।

अष्ट्रेलियामा पहिलो पुस्ताको नेपाली आप्रवासी भएको नाताले पनि हाम्रो नेपालीपन, नेपाली मन, भाषा संस्कृतिको जागरण, जगेर्ना र पुस्तान्तरण गर्दै नेपालीहरुलाई एकताको सूत्रमा गाँस्ने पवित्र उदेश्यले निर्माण गर्न लागिएको नेपाली बहुसांस्कृतिक केन्द्र अभियानमा जुट्न ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) समितिले हार्दिक अनुरोध गरेको छ ।