सकारात्मक सोच : परिवर्तन र समृद्धिको शक्ति

-- -सुजित सिग्देल (द नेपाली टाईम्स अष्ट्रेलिया) ?>

सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको सुरुवात हुन्छ। सकारात्मक सोचले सधैँ अगाडि बढ्ने प्रेरणा दिन्छ भने नैराश्यताले सधैँ पीडा, दुःख र मानसिक विचलन निम्त्याउँछ। सकारात्मक सोच परिवर्तनको सबैभन्दा बलियो आधार पनि हो। यो आधार व्यक्ति, संघ, संस्थादेखि देशसम्म लागू हुन्छ। अझ योग, ध्यान र आध्यात्ममा लीन हुनेहरू त सकारात्मक सोच सामूहिक रूपमा एकतृत हुँदा एउटा छुट्टै खाले ऊर्जा प्राप्त हुने तर्क गर्छन्। यस्तो ऊर्जा, जसले आफू मात्र नभई आफूवरपरका व्यक्तिहरूलाई समेत सकारात्मक मार्गमा समाहित गर्दछ।

यी हरफहरू पढ्दै गर्ने युवा पुस्ता एउटा यस्तो पुस्ता हो, जसले नेपालमा बन्द, हडताल, अस्थिरता र अराजकता मात्र देख्यो। विकास निर्माण र प्रविधिलाई पछ्याउने वा अबको देश विकास एवं आर्थिक निकास प्रविधिले मात्र सम्भव देख्ने नेतृत्व न सरकारमा देख्यो, न कुनै राजनीतिक पार्टीमा। परिणामस्वरूप, ‘नेपालमा पनि केही होला र? खोइ, यहाँ केही हुँदैन’ जस्ता नकारात्मक सोचले यो पुस्तालाई नराम्रोसँग गाँज्यो, जसको पछिल्लो उदाहरण हामी सबै विदेशिने पुस्ता हौँ। १२ कक्षा समाप्तिसँगै विदेश जान कन्सल्टेन्सी धाउने हुन् या ५/६ लाख खर्चेर मासिक २०/२५ हजारमा खाडीका उखरमाउलो गर्मीमा पसिना बगाउने ऊर्जाशील युवा समूह, सबै यही नकारात्मक सोचको उपजको एक हिस्सा हौँ। हामी सबैको मनमस्तिष्कमा यस्ता नकारात्मक सोचले जरा गाडिरह्यो र देशको राजनीतिक अस्थिरताले त्यसमा मलजलको काम गरिरह्यो।

हुन पनि, चाहे नियम-कानुन हुन् या सामाजिक मूल्य-मान्यता, नकारात्मक सोचका अगाडि ती निष्प्रभावी भएर जाने रहेछन्। नतिजा, सिंगो राष्ट्र थाहै नपाई व्यक्तिगत स्वार्थ र सामाजिक विसंगतिको चंगुलमा फस्दै जान्छ। यस्तै नकारात्मक सोच र विसंगतिले समाजमा नराम्रोसँग जरा गाडेको बखत आशाको सानो किरणस्वरूप अलिकति प्रविधि, अलिकति विकास र अलिकति सकारात्मक सोचको कुरा लिएर वर्तमान युवा प्रधानमन्त्री वालेन शाह आएका छन् । त्यति ठुलो परिबर्तन पछाडी पनि यो सरकारले त्यस्तो चमत्कारिक केही गर्नु पर्दैन, मात्र सम्भावनाहरू देखाइदिएर हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन सके पुग्छ। हामी नेपाली र हाम्रो नेपालको अबको यात्रा समृद्धितर्फ उन्मुख छ भन्ने देखाउन विज्ञान र प्रविधिका कारण सम्भव भएको मार्गचित्रको सानो झल्को देखाए पुग्छ ।

सत्य पनि यही हो, संसारका सबै प्रकारका रूपान्तरण प्रविधिको विकासले मात्र सम्भव छन्। प्रविधिको विकासलाई पनि सकारात्मक सोचले मात्र निर्दिष्ट गर्दछ। स्वभावैले उत्सुक र जिज्ञासु मानिसको जीवन हरपल यिनै खोजका कारण प्रगतिउन्मुख बनेको हुन्छ। सत्ता गठबन्धनको जोडघटाउमै बितेका विगतका ६ दशकको समीक्षा गर्दै विगतका असफलताका कारणहरूको खोजी गरिदिएको भए र समृद्ध नेपालको एउटै सोचमा केन्द्रित भइदिएको भए अहिलेको नेपाल गफमा मात्र होइन, साँच्चैको दक्षिण कोरिया र सिंगापुर सरह भइसक्थ्यो। अफसोच, हामीले कहिल्यै अब्दुल रहमान, ली क्वान यु र पार्क चुङ-ही पाएनौँ।

देशलाई समृद्धिको बाटोमा हिँडाउने हो भने कत्ति पनि ढिलो नगरीकन सकारात्मक सोचसहित आफ्नो ठाउँबाट सबैले आफूलाई रूपान्तरण गर्नु जरुरी छ। हामी अल्झिएका जातीय, क्षेत्रीय, भौगोलिकजस्ता विवादहरू बाट माथि उठेर प्रविधि विकास र देशको औद्योगिकीकरणको मुद्दामा हाम्रा बहस केन्द्रित हुनु जरुरी छ। स्मरणीय रहोस्, जब देशले प्रविधिमा छलाङ मार्छ र औद्योगिकीकरणले देशलाई चलायमान बनाउँछ, अहिले हामी अल्झिएका धेरै विषयहरू आफैँ गौण हुन्छन्। किनकि अहिलेको पुस्ता यी कुरामा अल्झन चाहँदैन, ऊ त उन्नतिको होडमा आफूलाई दौडाउन आतुर छ।

अन्त्यमा, समुन्नत समाजको परिकल्पना कानुनले मात्र सम्भव रहेनछ। यसमा हाम्रो जीविकोपार्जनको सवाल, आचरण र सोचजस्ता कुराहरूको विशेष भूमिका रहन्छ। त्यसैले अबको नेतृत्वले हिजोका लाई मात्र गालि नगरी परिबर्तनको शुरुवातको आशाको सञ्चार गरोस्, सकारात्मक सोचसहित राष्ट्र रूपान्तरणको भिजन दिन आशाको दियो जलावोस्, त्यसले अबश्य मशालको रुप लिनेछ ।