अष्ट्रेलियामा तिन सर्जकका तिन गीत सार्बजनिक

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७२

अस्ट्रेलियालाई कर्मथलो बनाएर आफु भित्रको संगीत प्रतिको भोकलाई निरन्तरता दिदै संगीत सृजनामा सक्रिय तिन प्रतिभाशालि सर्जकहरुले भ्यालेन्टाइन्सको सेरोफेरो पारेर आफ्ना सृजनाहरु नेपाली श्रोता र दर्शक माझ ल्याएका छन् ।

दिक्पालको ‘प्लिज एकपटक भेटिदेउ न’
संचारकर्मीको रुपमा समेत परिचत दिक्पाल देब पंगेनीले हालै आफ्नो पहिलो एल्बम “अभिशा” बाट पहिलो गित ‘प्लिज एकपटक भेटिदेउ न’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन् । उक्त गीतमा पंगेनीकी जीवन संगीनी सम्झनाको शब्द, प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका कर्माचार्य, सुमन तिमल्सिना र प्रतिक्षा अधिकारीको अभिनय रहेको छ । जीवन रसाइलीले निर्देशन, सम्पादन र छायाङ्कन गरेका उक्त गितको म्युजिक भिडियोमा अस्ट्रेलियाको मेलवर्न र वरिपरिको क्षेत्रको दृश्य कैद गरिएको छ ।

समिरको ‘दुनियाँ बेग्लै’
अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका समिर आचार्य र अमेरिका बस्ने निक्की कार्कीले गाएको ‘दुनियाँ बेग्लै ‘ बोलको पपगीतको भिडियो पनि हालै सार्वजनिक भएको छ । आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्दको यो गीतमा मोडल पुष्प खड्का र तनुजा गुरूङ्गले अभिनय गरेका छन् भने उक्त भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । गीत रिलिज पश्चात प्राप्त प्रतिकृयाबाट आफुहरु निक्कै उत्साहित भएको र नाचू नाचू लाग्ने यो गीतमा नाचेर उक्त नाचको भिडियो क्लिप फेसबूक पेजमा पोस्ट गरेमा प्रथमहुनेलाई ५० हजार दोस्रो र तेस्रो हुने ब्यक्तिलाई क्रमश: २५ हजार र १० हजारको पुरुस्कारको घोषणा पनि गायक समिरले गरेका छन्। सहभागीले आफ्नो नाचको भिडियो फेब्रअरी १५ देखी १ महिना भित्र  www.facebook.com/duniyabeglaichha मा पोस्ट गर्नुपर्ने छ ।भने यो कार्यक्रमलाई उनले ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने स्लोगन दिएको जानकारी गराए।

किरणको हातैमा चुरा
अर्का उदियमान संगीतकारको किरण भण्डारीको पनि भर्खरै भ्यालेन्टाइन्सको अबसर पारेर राजेश पायल र टिका प्रसाइको स्वरमा रहेको हातैमा चुरा बोलको गीत बजारमा आएको छ । हाल सिड्नीमा बस्दै आएका किरण भण्डारीको पहिलो गीत १५ बर्ष अघिनै रेकर्ड भएको थियो भने उनले अहिले सम्म २० वटा भन्दा धेरै गीतहरुमा संगीत् भरि सकेका छन् र उत्तिकै संख्यामा संगीत् संयोजन पनि गरिसकेका छन । कुशल गायक, तबला बादक र संगीतकार किरणको यो गीत भिन्न स्वादमा र फरक प्रस्तुतिमा दर्शक/ श्रोतामाझ आएको उनलाई नजिकबाट चिन्ने अर्का गायक नरेन कुलुङ्गले बताए।

https://youtu.be/uIgdd8Uxruw