एञ्जललाई मिस नेवा: को उपाधि

-- NTA REP. / प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७२

काठमाडौं— नेवार समुदायका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा: ११३६’ को उपाधि एञ्जल श्रेष्ठले जितेकी छिन् । मंगलबार काठमाडौंमा सम्पन्न यो प्रतियोगिता ग्राण्ड फिनालेमा एञ्जलले २१ जना युवतीलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएकी हुन् । प्रतियोगितामा सहभागि सुन्दरीहरु आईसी फेसन डिजाइनिङ संस्थाका डिजाइनरहरूले तयार पारेको नेवारी तथा वेस्टर्न पहिरनको फ्युजनमा सजिएका थिए । मिस नेवा:को उपाधिसहित एन्जलले अर्बुद रोग निवारण केन्द्रका लागि सद्भावना दूतसमेत नियुक्त भएकी छिन् । मुख्य उपाधिसहित एञ्जलले मिस फोटोजेनिकको एवार्ड पनि जितिन् । प्रतियोगितामा रेजिशा डंगोलले फस्ट रनर्सअप तथा मिनु प्रजापतिले मिस फ्रेन्डसिसहित सेकेन्ड रनर्सअपको उपाधि जितिन् ।

प्रतियोगितात्मक कार्यक्रममा सहभागीहरूले सुम्दिमा सिल्क प्यालेसका सिल्क साडीमा आ–आफ्नो परिचय दिएका थिए । नेप्लिज फेसन होमको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न मिस नेवा: प्रतियोगितामा रुही महर्जनले डिसिप्लिन, रिभा शाक्यले वेस्ट नेपाल भाषा, एन्जिला महर्जनले पब्लिक च्वाइस, अन्जली शाक्यले पर्सनालिटी, ग्रीष्मा कर्माचार्यले मिस चार्मिङको उपाधि जित्न सफल भए । यसैगरी सलोनी महर्जनले बेस्ट स्किन, रस्ना महर्जनले बेस्ट हेयर, सनिशा शाक्यले बेस्ट स्माइल, स्यारोन तन्डुकारले बेस्ट अटायर तथा मिस ट्यालेन्टको उपाधि जिते । सोसल एम्बेसडर विधाको एवार्डमा रोश्मी भेले विजेता तथा रुबिना श्रेष्ठ फस्र्ट रनर्सअप छानिएका छन् ।