एजुकेसन माइग्रेसन प्रश्न–उत्तर शृङ्गखला

-- जय ओली / प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३

४५७ भिसा अहिले दिन दि निकै चर्चाको बिषय बन्ने गरेको पाइन्छ । यो भिसाको बारेमा धेरैका आ–आफ्ना कथा: अनि व्यथाहरू छन् । हामी यस एजुकेसन–माइग्रेसन् प्रश्न–उत्तर शृङ्गखलामा कानुनी नभई सामान्य भाषामा यो भिसासंग सम्बन्धित कुराहरूको बारेमा संक्षेपमा चर्चा गर्छौ ।

४५७ भिसा के हो ?

 अष्ट्रेलियामा काम गर्नको लागि अष्ट्रेलियन संस्थाहरूले स्पोन्सर गरी प्रदान गरिने भिसाहरू मध्येको एउटा हो ४५७ भिसा । यो भिसा प्राप्त व्याक्तिहरूले आफ्ना परिवार सहित अष्ट्रेलियामा बस्न र कामगर्न पाउछन् ।

४५७ यो भिसा किन यस्तो लोकप्रिय छ ?

४५७ भिसाको लागि भिसा आवेदकलाई तुलनात्मक रुपमा न्युन तहको योग्यता, अनुभव र दक्षताको भए पनि पुग्छ । यसमा प्राय जसो स्तिथिमा स्किल असेस्समेंटको जरुरत पनि हुँदैन । यस भिसाबाट प्रवेशाज्ञा पाएका व्याक्तिहरूले अष्ट्रेलियामा काम गरेको दुई वर्ष पछि पी आरको लागि पनि आबेदन दिन पाउछन् । त्यस्तै गरि ४५७ भिसाको लागि आवेदन दिन सकिने पेशाहरू पनि धेरै छन् त्यसैले गर्दा धेरै व्यक्तिहरूले ४५७ भिसाको आबेदन दिन सक्छन् ।

त्यसै गरि आइटि र अकाउण्टिङ्गको पढाई सकेका विद्यार्थीलाई अहिले पी आर को लागि आवेदन दिन बोलावट्को लागि ६५–७० पोइण्टको आवस्यकता छ वहाँहरूले पनि यदि स्पोंन्सर भेट्नु भयो भने त्यो पोइन्ट पुर्याउन गर्नु पर्ने धेरै झमेलाहरू नगरी सिधै ४५७ भिसाको आवेदन गर्न सक्नु हुन्छ । वहाहरू संग त चाहिने दक्षता पुगिसकेको हुन्छ अनि पढी सकेपछि काम अनि भिसा दुबै सहज भएकाले झन् राम्रो हुने नै भयो ।

त्यसै गरि यसको लोकप्रियताको अर्को कारण भनेको यसको लागि चाहिने अंग्रेजीको स्तर हो । यसको लागि IELTS मा औसतमा ५ अनि प्रत्येक ब्यान्डमा ४.५ अथवा PTe / Academic, TOeL, iBt , OEt, अथवा CAt मा सोहि बराबरको परिणाम भए पुग्छ ।

४५७ भिसा कति समयको लागि मान्य हुन्छ ?

सामान्यतया ४५७ भिसा ४ बर्षको लागि मान्य हुन्छ । यदि स्पोन्सर गर्ने व्यवसाय नयाँ छ र १२ महिनाभन्दा कम समय मात्र संचालन भएको छ भने त्यस्तो बेला पाइने भिसा चाँही १८ महिनाको मात्र हुन्छ ।

४५७ आवेदन भित्रका तीन पक्षहरू ?

यसो सुन्दा ४५७ भने पछि अरु बिद्यार्थी भिसा अथवा पर्यटक भिसा जस्तै सुनिन्छ । तर ४५७ को आवेदनमा तीन पक्षहरू हुन्छन जुन तिनै पक्षहरू उत्तिकै महत्वपूर्ण हुन्छन् । पहिलो पक्ष भनेको स्पोन्सोर गर्ने व्यवसायले नै मैले स्पोन्सर गर्न पाउँ भनेर आवेदन दिनुपर्छ, दोस्रो पक्ष भनेको नोमिनेशन जसमा स्पोंसरले नै मैले फलानो पदको लागि स्पोन्सर गर्न पाउ भनेर आवेदन दिनुपर्छ अनि तेस्रो पक्ष ४५७ भिसाको आवेदन दिनुपर्छ । पहिला दुईवटा अनुमति नपाए सम्म तेस्रो ४५७ भिसा आवेदनको अनुमति सम्भव हुदैन ।

४५७ को लागि के के चहिन्छ ?

४५७ भिसाको लागि सबै भन्दा पहिले व्यवसायले स्पोन्सर गर्ने अनुमति पाउनु पर्यो, त्यसपछि व्यवसायले तोकेको वा उसलाई चाहिएको पदमा स्पोन्सर गर्ने अनुमति पाउनु पर्यो । त्यो तोकेको पदमा काम गर्न दक्षता भएको योग्य व्यक्ति हुनु पर्यो ।

कस्तो व्यवसाय स्पोन्सर हुन सक्छ ?

कुनै पनि व्यवसाय त्यो अष्ट्रेलिया भित्र वा बाहिर कानुनी रुपमा संचालित छ भने स्पोंसर गर्न योग्य हुन्छ । यति भैसके पछि त्यो व्यवसायले कसैलाई स्पोन्सर गर्न सक्ने आर्थिक हैसियत लगायत अरु केहि मापदण्ड पूरा गर्छ भने उसले सामान्यतया स्पोंसर गर्न सक्छ ।

त्यसो भए के कसैले म स्पोन्सर गरिदिन्छु भन्ने व्यवसाय भेट्यो भने ४५७ भिसा आवेदन दिन मिलि हाल्छ ?

कुनै पनि व्यवसाय यदि स्पोन्सर गर्न तयार छ भने पनि त्यसमा अरु दुईवटा कुराहरू मिल्नु पर्छ । पहिलो स्पोन्सोर गर्ने व्यवसायले कुन पदमा मान्छे चाहिएको त्यो पेशा ४५७ को लागि स्पोन्सर गर्न मिल्ने पेशाको सूचिमा परेको पेशा हुनुपर्छ । दोस्रो कुरा त्यो पेशा सूचिमा परेको छ भने ४५७ भिसा आवेदन दिने सम्बन्धित व्यक्तिको पढाई, अनुभव अनि दक्षता त्यो पदकोलागि उपयुक्त भनेर तोकेको मापदण्ड भित्र पर्नुपर्छ । उदाहरको लागि यदि कुनै रेस्टुरेण्ट व्यवसाय छ उसले अफ्नोमा वेटर काम गर्ने व्यक्तिलाई स्पोन्सर गर्न चाहेर पनि पाउदैन किनकि वेटर पेशा ४५७ अन्तर्गत स्पोन्सर गर्न मिल्ने पेशाको सूचिमा छैन । तर त्यहि रेस्टुरेण्ट व्यवसायले कुक पदमा कसैलाई स्पोन्सर गर्न चाहन्छ भने गर्न सक्छ किनकि कुक ४५७ अन्तर्गत स्पोन्सर गर्ने मिल्ने पेशाको सूचिमा छ । यदि ४५७ भिसाको लागि आवेदन दिने मान्छेको पनि पढाई, अनुभव अनि दक्षता सबै लेखा बिषयमा छ भने कुक को कुनै अनुभव दक्षता पढाई नै छैन भने अब त्यसको लागि आवेदक अयोग्य हुन्छ ।

 ४५७ भिसामा यात्रा गर्न मिल्छ ?

४५७ भिसामा तपाइंले जति पटक पनि अष्ट्रेलिया भित्र बाहिर यात्रा गर्न सक्नु हुन्छ ।

४५७ भिसामा एउटा रेस्टुरेण्टले स्पोन्सर गरेको छ, त्यहाँ ५ दिन दिनभरी काम गरेर बाँकीको २ दिन अथवा बिहान बेलुकी मिलाएर अन्त काम गर्न पाइन्छ पाइदैन ?

पाइँदैन । भिसामा भएको शर्तकोकारण जुन व्यवसायले स्पोंसर गरेको हो त्यो बाहेक अरु व्यवसायमा काम गर्न पाइदैन ।

मानौं ४५७ भिसा होल्डर श्रीमती पनि अष्ट्रेलियामै भएको खण्डमा उनले काम गर्न पाउँछिन त ?

उनले अष्ट्रेलियामा जति समय भर चाहेको जति काम जुनसुकै रोजगारदातासंग गर्न सक्छिन् ।

पहिलो स्पोन्सरसंग काम गरेको एक वर्ष भयो अब तीन बर्षको भिसा बाँकि छ तर त्यो स्पोन्सरसंग काम गर्न मन भएन भने स्पोन्सर परिवर्तन गर्न सकिन्छ कि सकिदैन ?

सक्नुहुन्छ । तर त्यसकोलागि नयाँ स्पोन्सरले फेरी नोमिनेशनको अनुमति लिनुपर्छ । त्यसपछि मात्र नयाँ स्पोन्सरसंग काम सुरु गर्न सकिन्छ । फेरि ४५७ भिसाको अर्को आवेदन दिइरहनु पर्दैन ।

स्पोन्सरले काम गरिराखेको व्यवसाय बेच्ने प्रयास गर्दै छ भने त्यस्तो अवस्थामा के हुन्छ ?

यदि स्पोन्सरले व्यवसाय बेच्दै छ र नयाँ आउने व्यक्तिले स्पोन्सरशिपलाई निरन्तरता दिन चाहँदैन भने ९० दिन भित्र अर्को स्पोन्सर खोजिसक्नु पर्छ र यदि नयाँ स्पोन्सर भेटिएन भने अष्ट्रेलियामा नै बस्ने चाहानेले अरु कुनै पनि भिसाको लागि आवेदन दिनुपर्छ ।

४५७ भिसामा काम गर्न सुरु गरेको लगभग २ वर्ष पुग्न लाग्यो, २ वर्ष पुगेपछि पी आर पाइन्छ कि पाइँदैन ?

४५७ भिसामा काम गरेको २ वर्ष पछि पी आर को लागि आवेदन दिनलाई योग्यता पुग्छ तर २ वर्ष पुगेपछि आफै पी आर भने हुँदैन । यसपछि पनि स्पोन्सरले पी आर को आवेदन दिनको लागि स्पोन्सर गर्नु पर्ने हुन्छ ।

(लेखक Bj Education Network सँग आवद्ध शैक्षिक र माइग्रेसन सल्लाहकार हुन् । यो स्तम्भमा समेटिएका जानकारीहरू सामान्य सल्लाह मात्र हुन् । तपाईहरूसंग ४५७ भिसाको बारेमा थप जिज्ञासाहरू भएमा jay@bjeducation.com.au मा आफ्ना जिज्ञासाहरू राख्न सक्नुहुन्छ।)