फुटबलमा २३ वर्षपछि नेपाललाई उपाधि

-- / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७२

नेपालको सिनियर राष्ट्रिय टोलीले २३ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा २२ जनवरीका दिन सम्पन्न खेलमा बहराईनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै नेपालले बंगबन्धु गोल्डकप जितेर २३ वर्षपछि पहिलो उपाधि उचालेको हो ।
नेपाललाई उपाधि जिताउन बिमल घर्ती मगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । बिमलले खेल प्रारम्भ भएको चौथो मिनेटमा नै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । यस्तै ८७ औं मिनेटमा राईले र इन्जुरी समयमा श्रेष्ठले गोल गर्न सफल भए । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी समेत घोषित भए ।
नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रह्यो । उनी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल प्लेयर’ समेत घोषित भए । यसका साथै उनी टप स्कोरर समेत बनेका छन् । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।
नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले जम्मा दुई गोल गरे । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालले जितेको ऐतिहासिक उपाधिका लागि बधाई दिएकी थिइन् । हसिनाले हिमालयको देश नेपालले उपाधि जितेकोमा आफू खुसी भएको प्रतिक्रिया दिएकी थिइन् ।
यसअघि नेपालले सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यतिबेला ढाकामै भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको नेपालले २३ वर्षपछि ढाकामा नै बहराईनलाई हराएर उपाधि जितेको हो । सन् १९९३ पछि नेपालको सिनियर राष्ट्रिय टोलीले कुनै उपाधि जितेको थिएन ।
आयोजक बंगलादेशको फुटबल संघले बंगबन्धु गोल्डकपको उपाधि जित्ने टिम नेपाललाई ५० हजार अमेरिकी डलर अर्थात ५४ लाख २० हजार रुपैयाा पुरस्कार पनि प्रदान गरेको छ । उपविजेता टिमले भने २५ हजार अमेरिकी डलर अर्थात २७ लाख १० हजार रुपैयाँ मात्र पायो । त्यस्तै बंगबन्धु गोल्डकपको नक्कल ट्रफी पनि विजेताले पाएको छ । २२ क्यारेट सुनबाट बनेको ट्रफी भने आयोजकले नै राखेको छ । यसअघिका प्रतियोगितामा आयोजकले विजेतालाई असली ट्रफी दिन गरेपनि नगद पुरस्कार दिँदैन थियो तर आयोजकले प्रतियोगितामा लागेको खर्च भने टिमलाई दिने गरेको थियो ।
सन् १९९६–९७ मा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिताको यसपटक चौथो संस्करण भएको हो । प्रारम्भका २ संस्करणपछि रोकिएको प्रतियोगिता आयोजकले गत वर्षदेखि हरेक वर्ष आयोजना गर्ने भन्दै पुन: प्रारम्भ गरेको हो ।
बंगबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) नगद पाँच—पाँच लाख दिने घोषणा गरेको छ । उपाधि जितेसंगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उपाधि जित्ने खेलाडीलाई जनही २ लाख दिने घोषणा यसअघि नै गरिसक्नु भएको थियो । त्यस्तै सरकारका तर्फबाट र अखिल नेपाल फुटबल संघले पनि खेलाडीलाई
नगद पुरस्कार दिने तयारी गरेका छन् तर पुरस्कार रकम भने घोषणा
भएको छैन ।