सिड्नीमा उभौली मनाईयो 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६

अष्ट्रेलियाको सिड्नीमा उभौली पर्व मनाईएको छ । नेपालको एक साँस्कृतिक पर्वको रुपमा रहेको उभौली मनाउन सिड्नीमा वशोवाश गर्ने नेपाली समुदायको बाक्लो भीड थियो । किराँत सोसाइटी अफ न्यू साउथ वेल्सको आयोजनामा यही मे १८ तारिख शनिबारका दिन सिड्नीको अर्लउडस्थित गफ ह्विटलम पार्कमा उभौली पर्व मनाईएको हो । स्वर्गीय आफन्तजनको सम्झना र श्रद्धा प्रकट गर्दै पूजाआजा गरेर सुरु भएको उभौलीमा सिड्नीमा रहेका विभिन्न किराँतीसमुदायहरूले आफ्नो संस्कृति झल्कने नाँचगान र सांस्कृतिक प्रस्तुती पेश गरेका थिए । साकेला, साकेवा, साकेन्वा लगायतका नाँचका साथै किराँत समुदायका खानेकुराहरू सो अवसरमा मुख्य आकर्षण बनेको थियो । परदेशको विरानो भूमिभन्दा पनि मातृभूमिको किराँती समुदायको कुनै थातथलोमा पुगेको अनुभूति हुनेगरि त्यस स्थानमा सिड्नी र आसपासमा रहेका किराँती समुदायहरू आफ्नो मौलिक भेषभूषामा सजिएर आएका थिए । यो दिनलाई पार्वतीको सृष्टि भएको ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला नाँचमार्फत् पितृ सम्झने र प्रकृतिको आराधना पनि गर्ने गरिन्छ । प्रवासमा आफ्नो कला, संस्कृति र परम्परालाई जोगाइराख्न तथा विदेशमा जन्मेका नयाँ पुस्तालाई हाम्रो मूल र संस्कृतिप्रति जागरुक बनाउनका हेतुले किराँत सोसाइटी अफ न्यू साउथ वेल्सले सन् २००५ देखि सिड्नीमा उभौली पर्व मनाउँदै आएको जनाएको छ ।