मित्रता, सद्भाव र सद्भावनाको नारासहित एमसीभीले होलि मनाउँदै

-- नीरु त्रीपाठी, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र ६, २०७५

मद्येशी कम्यूनिटि इन भिक्टोरीयाले यही मार्च २३ तारिखमा होलि महोत्सव गर्ने भएको छ । हरेक वर्ष धुमधामसँग मनाउँदै आएको होलि पर्व यस वर्ष पनि कोबर्ग लेकमा विशेष तरिकाले मनाउन लागेको हो । विहान ११ बजेदेखि सुरु हुने होलि दिउँसो ४ वजेसम्म हुनेछ ।
औपचारिक र अनौपचारिक दुवै हिसाबले मनाउन लागेको यस कार्यक्रमा फेडेरल एमपी पिटल खलील, नेपाल कन्सुलर जनरल चन्द्र योन्जन लगायतका अन्य विभिन्न व्यक्ति विशेषहरुको सहभागिता हुनेछ । यस वर्ष होलि “राष्ट्रियता र धर्मसहित आपसी मित्रता, सद्भाव र सद्भावनाको उत्सब”को नारा सहित सबै समुदाय, जातजाती, धर्मलाई समेटेर एउटै थलोमा उत्सव मनाउन लागेको हो ।
नेपाली टाइम्स मेल्वर्नसँग कुरा गर्दै मद्येशी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा सुरेन्द्र रौनियारले हरेक वर्षको होली भव्य हुनुमा एमसीभीका साथीहरु अथाह प्रयास तथा मेहेनतको साथै नेपाली समुदायको समस्त व्यक्तिहरुको प्रेम, सद्भाव र साथले गर्दा भएको बताएका छन् । यसवर्ष म्यूजिक डिजेसँगसँगै, होलीकाे प्रसाद तथा बार्बिक्यूको पनि आयोजना गरिएको उनले बताएका छन् ।  यसवर्षको होलि उत्सबको संयोजकको रुपमा एमसिभिका उपाध्यक्ष गोपाल शाह रहेका छन् ।

होलि सम्बन्धित किम्बदन्तिहरू
होली रङ्गहरूको चाड हो । होली नेपाली हिन्दूहरूको प्रमुख चाड मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । यो नेपाल बाहेक भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूले प्राचिन कालदेखि भव्यरुपमा मनाउँदै आएका छन् ।
होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ । रातोे रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । पहेंलो यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।