अष्ट्रेलियामा भद्रगोल

-- कृष्ण भट्टराई / प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७३

JIgri-Paadeअष्टेलियामा बसोबास गर्ने नेपालीहरूलाई एउटा खुशीको खबर । लोकप्रिय हास्य श्रृंखला ‘भद्रगोल’ का चार जना लोकप्रिय कलाकारहरू यही महिना अष्ट्रेलिया पुग्दैछन् । कार्यक्रममा सहभागिता जनाउन श्रृंखलाका चार मुख्य कलाकार अर्थात जिग्री ब्रो, पाँडे, बले तथा क्रक्रोच जून २० का दिन अष्ट्रेलिया ओर्लिँदैछन् ।

नेपाल टेलिभिजनमा हरेक हप्तामा आधा दर्जनभन्दा बढि हास्य श्रृंखलाहरू प्रसारण हुन्छन् । अधिकांश हास्य श्रृंखलाले दर्शकको राम्रै साथ समेत पाइरहेका छन् । ती मध्ये दर्शकमाझ सबैभन्दा बढि लोकप्रिय भैरहेको हास्य श्रृंखला हो ‘भद्रगोल’ । अघिल्लो वर्षको भूकम्प तथा नाकाबन्दीका कारण केही महिना प्रसारण अवरुद्ध भए पनि ‘भद्रगोल’ ले यतिबेला आफ्नो लय समातिसकेको छ । ‘भद्रगोल’ श्रृंखला यति लोकप्रिय छ कि श्रृंखलाका प्राय: सबै चरित्र दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । ती मध्ये मुख्य चार चरित्रले त दर्शकमाझ दरिलो स्थान बनाउन सफल भएका छन् ।

नेपालमा आयोजना हुने महोत्सव हुन् अथवा नेपाल बाहिर आयोजना हुने सांस्कृतिक कार्यक्रम, ‘भद्रगोल’ का यी चार चरित्र प्राय: दर्शकमाझ प्रस्तुत भैरहेकै हुन्छन् । यी चार चरित्र हुन् जिग्री ब्रो (कुमार कट्टेल), पाँडे (अर्जुन घिमिरे), सागर लम्साल (बले) तथा कक्रोच (हरि निरौला) । श्रृंखलामा यी चारै जना चरित्रका आ–आफ्नै विशेषता तथा आफ्नै थेगोहरू छन् । तीनै विशेषता तथा थेगोका कारण दर्शकहरूले उनीहरूलाई मन पराएका हुन् । जिग्री ब्रोको रुपमा श्रृंखलामा प्रस्तुत हुने कुमार कट्टेल ‘सक्किगो नि’ थेगोका लागि लोकप्रिय मानिन्छन् । युवा भए पनि वृद्ध व्यक्तिको भूमिकामा प्रस्तुत हुने अर्जुन घिमिरे अर्थात पाँडे ‘तपाईँ डाम्ना’ थेगोका कारण लोकप्रिय छन् । सागर लम्साल अर्थात बलेलाई दर्शकले मन पराउनुको पछाडि ‘सहि कुरो बोरो’ थेगाेले भूमिका खेलेको छ । हरि निरौला अर्थात क्रक्रोच भने ‘जस्ट स्लो मोसन’ का रुपमा लोकप्रिय छन् ।bhadragol team-australia

जून २० का दिन काठमाडौंबाट अष्ट्रेलियाका लागि प्रस्थान गर्ने यी चार जना कलाकारहरू अष्ट्रेलियाका विभिन्न तीन वटा शहरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुने निश्चित भैसकेको छ । ‘भद्रगोल’ का मुख्य कलाकार कुमार कट्टेल अर्थात जिग्री ब्रोका अनुसार उनीहरूको समुहले जुन २६ का दिन मेलबर्नमा कार्यक्रम प्रस्तुत गदैछ भने जूलाई २ मा ब्रिसबेनमा आयोजना हुने कार्यक्रममा उनीहरू प्रस्तुत हुनेछन् । उनीहरूको मुख्य कार्यक्रम भने जूलाई ९ का दिन सिड्नीमा हुनेछ । ‘अष्ट्रेलियामा भद्रगोल’ शीर्षकको यो कार्यक्रमलाई आरकेएस अष्ट्रेलियाले आयोजना गर्न लागेको हो । स्थानिय समय अनुसार शनिवार साँझ ५:३० बजेदेखि प्रारम्भ हुने यो कार्यक्रमका लागि ३० डलर टिकट दर तोकिएको छ ।

अष्ट्रेलियाका तीन वटै कार्यक्रममा भद्रगोल समुहलाई रुन्चे गायकको रुपमा लोकप्रिय प्रकाश पौडेलले साथ दिनेछन् । कार्यक्रममा गायक पौडेलले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । भद्रगोलले भने आफ्नो प्रस्तुतीलाई तीन भागमा बाँडेको । हास्य कलाकार कट्टेलका अनुसार उनी तथा पाँडेले करिव ४५ मिनेट लामो प्रहसन प्रस्तुत गर्नेछन् भने क्रक्रोच तथा बलेले आधा घण्टा लामो प्रहसन प्रस्तुत गर्नेछन् । तेस्रो प्रस्तुतीमा उनीहरू चारै जना कलाकारहरू स्टेजमा प्रस्तुत भएर दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।