एनआरएनको क्षेत्रिय विश्वसम्मेलन अगष्ट २७ र २८ न्यूजर्सीमा हुँदै

-- / प्रकाशित मिति : बुधबार, बैशाख ८, २०७३

nrna

गैरआवासीय नेपाली संघको क्षेत्रिय विश्व सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने भएको छ । एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका र एनआरएन आईसिसिका अमेरिकास्थित प्रतिनिधिको संयुक्त कन्फरेन्स कल बैठकले क्षेत्रिय सम्मेलनको बारेमा टुंगो लगाएको हो । सम्मेलनमा ७३ देशको प्रतिवेदनहरु, अन्तर्राष्टिय समन्वय परिषदको विभिन्न प्रतिवेदनहरुका साथै केहि विषयगत कार्यपत्रहरु प्रस्तुत हुनेछन । सम्मेलन नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भुमिकाको बारेमा छलफल केन्द्रित हुने एनआरएन अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामाले बताए । संयोजक लामाका अनुसार सम्मेलनमा सहभागीहरुका लागि आगामी हप्ताबाटै निमन्त्रणापत्र पठाउने कार्य प्रारम्भ हुनेछ । सम्मेलन न्यु जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुनेछ ।
कार्यक्रममा ७३ देशका कम्तीमा ३ सय प्रतिनिधिहरुले भाग लिने हुनाले सहभागीहरुका लागि बसोवासका लागि व्यवस्थापन गर्न र सबै एनसिसिहरुलाई आमन्त्रण पत्र पठाउने कार्य आगामी हप्ताबाट शुरु हुने र तयारीका लागि थप थुप्रै समितिहरु बनाएर बाँकी कामहरु शुरु हुनेछ । अमेरिका क्षेत्रका क्षेत्रिय सहसंयोजक एसी शेर्पाका अनुसार यो सम्मेलन एनआरएनका लागि नेपालमा भएका विश्वसम्मेलनपछिका कामहरुको मुल्यांकन र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा बृहत छलफल हुनेछ । भुकम्पपछिको पुर्ननिर्माणमा नेपाल सरकारले बढी प्रभावित घोषणा गरेको १६ जिल्लामध्ये केहि ४, ५ वटा जिल्लामा मात्रै पुर्ननिर्माण र राहातमा बढी फोकस गरिएको भन्दै भत्किएको घरहरुसंगै विद्यालय पुर्ननिर्माणमा पनि नेपाल सरकारले सबै प्रभावित क्षत्रमा महत्व दिनुपर्ने र त्यसमा एनआरएनको पनि भुमिका बढाउने विषयमा सो सम्मेलनमा छलफल हुने सहसंयोजक शेर्पाले बताए । विभिन्न दाताहरुबाट घर बनाउन बढी महत्व पाएको भन्दै पुर्ण रुपमा क्षति पुगेको ८ हजार विद्यालय निर्माणमा पनि सरकार र एनआरएनको उत्तिकै भुमिका हुनुपर्नेमा उनको जोड थियो । सो सम्मेलनमा नेपालको आर्थिक आय आर्जनको मुख्य आधार पर्यटन क्षेत्रको अन्तर्राष्टिय रुपमा प्रचारप्रसार गर्न विश्वभर रहेका र खास गरी अमेरिकामा रहेका पर्वतारोहीहरुलाई सहभागी हुन पनि सहसंयोजक शेर्पाले आव्हान गरेका छन ।
गैरआवासिय नेपाली संघका अमेरिका अध्यक्ष डा. केशव पौडेलले यो सम्मेलनले नेपालमा गतबर्ष गएको भुकम्पपछिको पुर्ननिर्माण, प्रवासमा नेपालीहरुको अवस्था र नेपालको विकासमा एनआरएनहरुको भुमिका लगायत महत्वपुर्ण विषयमा छलफल केन्द्रित हुने बताए । कार्यक्रममा महासचिवको प्रतिवेदन, विभिन्न विषयमा विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुत हुने छन । त्यसैगरी सो बैठकले नेपालमा हालै भएको आगलागीबाट पीडितहरुलाई सहयोग गर्न एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सहयोग संकलन समिति बनाई सहयोग संकलन गरिने भएको छ ।
बैठकले न्युयोर्कमा पहिलो पटक गर्न लागिएको ऐतिहासिक नेपाल डे परेडमा संस्थागत सहभागिता जनाउने निर्णय पनि गरेको छ । एनआरएनले हरेक एक कार्यकालमा एक पटक क्षेत्रिय सम्मेलन गर्ने गर्दछ । यस अघि सन् २०१० मा ह्युष्टनमा भएको थियो । एनआरएनको विश्वसम्मेलनले पारित गरेको कार्यदिशाको कार्यन्वयनको अवस्थाका बारेमा छलफल हुने भएकोले यसलाई मिनि विश्व सम्मेलनका हिसावले हेरिन्छ । यस्तो खालको क्षेत्रिय सम्मेलन एनआरएनले हरेक क्षेत्रमा पालैपालो गर्दै आएको छ ।