क्यानडाको लिगमा सन्दीप लामिछाने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ २१, २०७५

काठमाडौं– नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को सफलता हासिल ष्र्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन् । आइपीएलपछि विश्व-११ बाट खेलेका सन्दीप हिजो आइतबार उक्त लिगका लागि छनौट भएका हुन् ।
सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण आयोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ ।
६ टोलीको सहभागिता रहेको प्रतियोगिता टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा खेलिनेछ । प्रतियोगिताको मार्की प्लेयरका रुपमा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ रहेका छन् ।
ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए । ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा आदि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन् ।