सबैको पर्खाइ अब डिसेम्बर १५ को नेपाल फेस्टिभल मेलबर्नका लागि

फेस्टिभलका सम्पूर्ण तयारी अन्तिम चरणमा
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

सिड्नी र ब्रिसबेनको सफल नेपाल फेस्टिभल पछि अब सबैको पर्खाइ यस बर्षको अन्तिम फेस्टिभलको रुपमा रहेको नेपाल फेस्टिभल मेलबर्नको रहेको छ । डिसेम्बर १५ शनिबारका दिन मेलबर्नको फेडेरेसन स्क्वायरमा हुदै गरेको फेस्टिभलका सम्पूर्ण तयारि अन्तिम चरणमा पुगी सकेको र भिक्टोरियाका सबै संघ संस्थाहरु ले यसलाई अपनत्व दिदै अगाडी बढी रहेको मेलबर्न फेस्टिभलका सम्योजक केशब कडेलले जानकारी दिए । कडेलका अनुसार एनआरएनए अष्ट्रेलियाले यो पटकको नेपाल फेस्टिभललाई दिएको स्लोगन ना ‘वन कन्ट्री मेनी स्टोरीज’ लाई सार्थक बनाउने गरि फेस्टिभल पोस्टर डिजाइन देखि सम्पूर्ण कार्यक्रमको रुप रेखा तयार गरिएको छ । फेस्टिभल आयोजक समितिले समेत एक बक्तब्य जारि गरि उक्त कुराको जानकारी दिएको छ।

बिज्ञप्तिमा नेपालका विभिन्न संस्कृति, भाषा भेषभूषा, खाना सहितको एकताबद्ध उपस्थिति भिक्टोरियाको बहुसांस्कृतिक समूदायमा गराउने फेष्टिभलको प्रमुख उद्देश्य रहेको जनाइएको छ । मेलबर्नको नेपाल फेष्टिभल सुरु भएको १० औ बर्षको अवसर परेर यसलाई अझ व्यापक बनाउन संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेलले “सुरुवातबाट नै मेलबर्नको नेपाल फेष्टिभलले आफुलाई विविधता, उत्कृष्टताको परिचायक बनाउन कुनै कसर बाँकी नराखेको बताए । अझ बढी एकताबद्ध, अझ बढी समूदायको सहभागिता र अन्य समूदायसँगको सहकार्यको दायरालाई फराकिलो बनाउने प्रतिबद्धता सहित फेस्टिभलको तयारी तिब्र गतिमा अगाडी बढी रहेको फेस्टिभका मिडिया संयोजक एवं गैरआवासीय नेपाली संघ भिक्टोरियाका उपसंयोजक युगेन्द्र रेग्मीले बताए । रेग्मीका अनुसार – जब हामी नेपालको गौरब पूर्ण संस्कृतिको कुरा गर्छौं त्यो स्टेजमा देखाइने कुराहरु मात्र हुने छैनन् । पूरै फेडरेशन स्क्वायरलाई नै हामी सानो नेपालमा रुपान्तरण गर्नेछौं । नेपालका हरेक कुरा कुनाका कथालाई कला, गीत, संगीत, नृत्य, भेषभूषा, खाना अनि नेपालीपनको माध्यमबाट भिक्टोरियाका दर्शकहरुसामू पस्कन यो पटक फेस्टिभलको प्रयास रहने पनि रेग्मीले बताए।

यसै गरि नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरे यस पटक नेपाल फेस्टिभल मेलबर्नको उपसंयोजक रहनुभएको छ भने भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदूतको कार्यालयको प्रतिनिधत्व गर्दै निरु त्रिपाठी सचिव र प्रेरणा मल्ल सहसचिवको जिम्मेवारी सहित भिक्टोरियामा रहेका नेपाली समूदायका सबै संघ संस्थासंग हातेमालो गरि रहेका छन् ।

नेपाल फेष्टिभललाई सफल तुल्याउन विभिन्न कमिटीहरु गठन गरिएको छ भने यी कमिटीहरुले तयारीलाई तिव्र गतिमा अगाडि बढाएका छन् । फेस्टिभलको महत्व पूर्ण पाटो मानिएको सांस्कृतिक गतिविधिका संयोजक प्रेम कँडेलले भिक्टोरियामा रहेका नेपाली प्रतिभाका साथै नेपालबाट पनि ख्यातिप्राप्त कलाकारहरुले नेपाल फेष्टिभलको स्टेजको रौनक बढाउने बताए। कडेलका अनुसार अहिलेसम्म अभया एण्ड स्टीम व्याण्ड, प्रसिद्ध लोकगायक मिलन लामा आउने निश्चित गरिएको छ । यस पटकको नेपाल फेष्टिभलको व्यवस्थापन सोलाङचरले गर्दैछ भने अडियो भिडियो प्रोडक्सनको काम एमएनटीभी अष्ट्रेलियाले गर्ने भएको छ । विज्ञापन तथा प्रबद्र्धन कमिटीका तर्फ बाट सुरेन्द्र सेढाईका अनुसार मेल्बर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजी, यश स्टडीज, सिटी अफ मेलबर्न ईभेन्ट पार्टनरका रुपमा रहेका छन् । सेढाईका अनुसार नेपाली विजनेस समूदायले नेपाल फेष्टिभललाई एउटा अवसरको रुपमा लिएर जुन किसिमको सहयोग गर्नुभयो यो निकै उत्साहप्रद रहेको र प्रायोजकहरुको सहयोग विना नेपाल फेष्टिभल सम्भव नभएको बताउदै सबैलाई धन्यबाद व्यक्त गरे।

यस पटकको सांस्कृतिक परेडलाई अझ विशेष बनाउने तयारी भएको यसका संयोजक तारा गैरेले जानकारी दिएका छन् । गैरेका अनुसार यस पटक एक हजारभन्दा बढीको सहभागितामा मेलबर्नको मुटुमा नेपाली झाँकीहरुको साथ सांस्कृतिक परेडको आयोजना गरिनेछ । यो परेड कार्यक्रमस्थल फेडरेशन स्क्वायरमा पुगेपछि नेपाल फेष्टिभल औपचारिक रुपमा सुरुहुनेछ । फेडरेशन स्क्वायरमा यस पटक ‘नेपाल भिलेज’ स्थापना गरी नेपालको संस्कृति, परम्परा, रहन सहनको प्रबद्र्धन गर्ने तयारी गरिएको छ । नेपाल फेष्टिभलको स्टल व्यवस्थापन संयोजक निराजन गौलीका अनुसार फेस्टिभलमा १५ वटा व्यवसायिक स्टल र ६ वटा खानाका स्टल रहने निश्चित गरिएको छ । उनका अनुसार यस पटक हामीले १५ वटा स्टललाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको जानकारीसहितको थिममा प्रस्तुत गर्ने नयाँ प्रयास गरिएको छ जसले नेपालका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन मद्दत गर्दै नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा यसलाई मूर्तरुप दिन प्रयास गरिएको छ।

अर्कोतर्फ फेस्टिभलमा विदेशी पर्यटकहरुको माझ लोकप्रिय नेपालको ठमेल बजारलाई प्रतिनिधित्व हुने गरी त्यस्तै थिममा बजार सञ्चालन गरिनेछ । बिगतमा जस्तै यस पटक फेडरेशन स्क्वायरमा सात वटा नेपाली झण्डा फहराइने क्रमलाई निरन्तरता दिइनेछ । नेपाल फेष्टिभलको स्वयंसेवा संयोजक गौतम लामिछानेले व्यवस्थित रुपमा नेपाल फेष्टिभल सञ्चालन गर्न सयौंको संख्यामा स्वयंसेवक परिचालन गरिएको बताउदै फर्स्ट एड र आकस्मिक उपचार सेवा समेत व्यवस्था गरिएको जानकारी दिईन । अघिल्लो पटकको नेपाल फेष्टिभलमा करिब २० हजारले अवलोकन गरेका थिए भने यस पटक स्थानीय अष्ट्रेलियन दर्शकहरुको संख्यालाई बृद्धि गर्ने र अघिल्लो पटकको भन्दा अझ ठुलो संख्यामा नेपाल फेस्टिभलका धेरै भन्दा धेरै सहभागी हुने विश्वास पनि फेस्टिभल आयोजक समितिले लिएको छ। यसका साथै भिक्टोरिया र अन्य स्टेटका नेपालीहरु आफुले चिने जानेका नेपाललाई माया गर्ने बिदेशी मित्रहरु को साथ फेस्टिभलमा सहभागी हुन पनि आयोजक समितिले सबैलाई अनुरोध गरेको छ।