निर्मला देखि रेपरसम्मका व्यथा

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर २०, २०७५

सिड्नी– यौनहिँसाका कारण र नियन्त्रणबारे विश्वभर थुप्रै अनुसन्धान भए । पुस्तकहरु लेखिए । सेमिनार, गोष्ठी र छलफल चलिरहेकै छन् । तर, यस्ता विषय घट्नुको सट्टा दिनहुं बढिरहेका छन् । बलत्कार देखि यौनजन्य दुव्यर्वहारबाट महिलाहरु हरेक क्षण जहाँतही पीडित भइरहेका छन् । यौनका विषयमा धेरै खुल्ला मानिने पश्चिमा मुलुक देखि सामाजिक रुपमा परम्परा देखि नै अलि साँघुरो जस्तो बनाईएको नेपाल सम्म यौनहिंसाका घटनाहरुमा कमी आउन सकेको छैन । भलै, हिंसाका रुपहरु फरक होलान् । कतै बलत्कार, बलत्कारपछि हत्यासम्मका घटना हुन्छन्, कतै sexual harassment तर, यसको सार भने उहि यौनहिंसा नै हो । फेरि, यस्ता कतिपय जघन्य घटनाहरु अध्यारो कोठा भित्रै हराएर जान्छन् ।

पछिल्लो पटक नेपालमा गत साउन १० गते कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्याको विषय अन्तराष्ट्रियकरण भयो । यद्यपी, राज्यले तीन महिनासम्म दोषी पत्ता लगाउन सकेको छैन । नेपालमा निर्मलाको बलत्कारपछि हत्याको घटनाले सबै सरोकारवाला निकायलाई झक्झक्याइरहेको बेला अष्टे«लियाको सरकारी टेलिभिजनमा कार्यरत महिला पत्रकार एसहिग रेपर माथिको यौनहिंसाको विषयले अहिले यहाँको राजनीति र राज्य–संयन्त्र तरंगित भएको छ ।

पत्रकार रेपरमाथिको त्यो घटना


नोभेम्बर दोश्रो साता अष्ट्रेलियाको संघीय संसद् र न्यू साउथ बेल्स राज्यसभामा एक साथ एउटा सनसनीपूर्ण विषयले प्रवेश पायो । दुईबर्ष अघि एउटा पाटीमा सरकारी लगानीमा सञ्चालित एविसी टेलिभिजनमा कार्यरत महिला पत्रकार एसहेइज रेपरलाई वेल्स राज्यसभाका विपक्षी नेता लुके फोलीले यौन र्दुव्यवहार (sexual harassment को घटना सार्वजनिक भयो । जुन, सन् २०१६ को नोभेम्बरमा क्रिसमस पर्वको पूर्वसन्ध्यामा फोलीले नै पाटीको आयोजना गरेका थिए । सुरुका केहि दिन फोलीले आरोपलाई स्वीकार गरेनन् तर नोभेम्बर ९ मा रेपरले नै उक्त घटनाबारे प्रेस विज्ञप्ति निकालेपछि उनले तत्कालै विपक्षी दलको नेताबाट राजीनामा दिए । विज्ञप्ति मार्फत रेपरले पाटीको अन्ततिर फोलीले आफ्नो दुराशयपूर्ण हिसाबले हिप र अण्डरवेयर भित्र हात घुसाएको आरोप लगाइन्, जसको प्रत्यक्ष साक्षी पत्रकार सेन निचोल्स रहेको उल्लेख गरिन् ।

दुईबर्षसम्म पत्रकार रेपरले किन यो घटनाबारे मुख खोलिनन् ? अहिले आएर किन खोल्नुप¥यो ? उनले तीन वटा कारण सहितको जवाफ दिएकी छन् । घटना लगत्तै उनले मुख खोल्ने सोच बनाएपनि अधिकांश महिलाहरु यसरी यौनहिंसाको सामना गरेर अघि बढिरहेकाले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा समस्या आउन सक्ने आंकलन गरिन् । त्यतिबेला उनी टिभीको संघीय राजनीतिक संवाददाता थिइन् । उनलाई लाग्यो, यो विषय बाहिर आयो भने मैले जागिर गुमाउनुपर्छ । तर, दुई बर्षको अवधीमा उनले नचाहेको घटनाहरु हुदै गयो । एक–एक गर्दै यो घटना राज्यसभा देखि संघीय संसद्सम्म पुग्यो, उनको संलग्नता बिनै । उनीद्धारा प्रकाशित विज्ञप्तिमा तीन वटा जवाफ छ । एक, यस्ता किसिमका व्यवहार बिनै महिलाहरु आफ्नो व्यवसाय र सामाजिक कार्य गर्न सकुन् । दुई, संघीय र राज्यसभामा आफ्नो विषयलाई लिएर राजनीतिक उद्देश्य प्राप्ति गर्ने क्रम अब बन्द होस् । र तीन, आफ्नो बारे भविश्यमा यस्ता कमेन्टहरु कति नआओस् । आरोपित फोलीको राजीनामासँगै न्यू साउथ वेल्स राज्यका विपक्षी दलका नेतामा लेवरल पार्टीका मिचेल डिले निर्वाचन भइसकेका छन् भने फोलीको विषय अदालतमा पुगेको छ ।

प्रसँग निर्मला पन्तको..


सन्तानको जन्म मार्फत प्राप्त स्वर्णिम आनन्द र सुनौलो भविश्यको परिकल्पना एउटा बुवा–आमाको सबैभन्दा मिठो सपना हो । सुखद् क्षण हो । कक्षा ९ मा पढ्दै गरेकी १३ बर्षीया छोरी माथि बलत्कार र निर्मम हत्याको साक्षी बन्नु पर्दा निर्मला पन्तकी बुवा–आमाको ह्दय कस्तो भए होला ? हामी सोच्न सक्दैनौँ । तर, विडम्बना निर्मलाकी बुवा–आमा बलत्कारपछिको हत्या जस्तो जघन्य सामाजिक अपराधको दोषीलाई कारबाहीको माग गर्दै धर्ना बसेको महिनौ हुन लागिसक्यो । कञ्चनपुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडिको धर्नामा कञ्चनपुरबासीको मात्रै साथ छैन, देश–विदेशमा रहेको नेपालीहरुको साथ छ । तैपनि, राज्यले निर्मला पन्तको बलत्कारी र हत्यारालाई संरक्षण दिइरहेको छ । धर्नाबाट समेत दोषी पत्ता लगाउन राज्य अनुदार देखिदै गएपछि निर्मलाकी बुवाको मानसिक सन्तुलन नै बिग्रिदै गयो ।

उनको अहिले काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको छ । निर्मलालाई बलत्कारपछि हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा १४ बर्षे सन्नी खुनाले ज्यानै गुमाउन तयार भए । २५ जना भन्दा बढी घाइते भए । राज्यसंयन्त्र दोषीलाई कारबाही गर भन्ने जनता माथि गोली र अश्रुग्यास बर्साउन तयार हुन्छ तर, उनीहरुको जायज माग प्रति गम्भिर हुदैन । बरु, प्रधानमन्त्री र गृहमन्त्रीहरु घटनामा पुंजीबादलाई दोषी देख्छन् । निर्मला काण्डपछि पनि पोखरा लगायतका देशमा यस्तै प्रकृतिका घटना भयो तर, त्यसमा संलग्न दोषीलाई प्रहरीले सफलतापूर्वक पक्राउ गर्न सफल भयो । यसको मतलब के हो भने निर्मला प्रकरणमा माथिल्लो ओहदाको पूर्ण संलग्नता छ । निर्मलाको परिवार, कञ्चनपुरबासी, देशभरका महिला तथा मानवअधिकारकर्मी, सञ्चारमाध्यम र अन्तराष्ट्रिय जगतले घटनाको अनुसन्धान प्रक्रियामा भइरहेको बिलम्ब प्रति निरन्तर खवरदार गरेपनि सरकार संवेदनशील देखिदैन । यसबाट राज्य आफै जघन्य अपराधको पोषक देखिदै गएको छ ।

अब साक्षी नबनौं
नेपालमा निर्मला र अष्टे«लियामा पत्रकार रेपरको घटनामा एउटा कुरा मात्र भिन्नता छ । निर्मला माथि अपराध भएको छ । उनले हिँसासँगै ज्यान गुमाउनु परेको छ । तथापी, परिवारजनले न्याय पाउन सकेको छैन । अपराधी पहिचान भएको छैन । रेपरको सन्र्दभमा घटनाक्रम उनी आफैको चाहना विपरित सार्वजनिक भएको जस्तो देखिन्छ । रेपर माथि यौनहिंसा गर्ने पात्र राजनीतिक रुपमा ‘हेभीवेट’ भएका कारणले पनि यो प्रकरण दुईबर्षपछि सतहमा आएको हुनुपर्छ किनकि, सन् २०१९ को मार्चमा अष्टे«लियामा स्टेट निर्वाचन हुदैछ । लुके फोली विपक्षी दलको नेताको हैसियतले स्वतः आगामी नेतृत्वका लागि प्रमुख दाबेदार थिए । त्यसैले पत्रकार रेपर प्रकरणमा राजनीतिक लाभ–हानीको पनि जोडघटाऊ भएको छ ।

यशो भनेर फोलीको असामाजिक व्यवहारलाई सहि भन्न खोजिएको होइन्, मात्रै कस्तो समयमा घटना सार्वजनिक भएको छ भन्ने तर्फ संकेत गरिएको हो । प्रहरी तथ्यांक अनुसार, अष्टे«लियामा सन् २०१६ मा भन्दा १७ मा १३ प्रतिशतले यौनहिंसाका घटना बढेका छन् । नेपालको सन्र्दभ पनि उस्तै छ । मुलुकको सामाजिक, आर्थिक र भौगोलिक अवस्था कस्तो छ भन्ने यसमा कुनै अर्थ राख्दैन । विकसित, विकासोन्मुख वा अल्पविकसित जहाँतहीको साझा समस्या यौनहिँसा बन्दै गएको छ । हिँसाका अनेक रुप मध्ये पनि यौनहिँसा अझ मुख्य समस्या बन्नु व्यक्ति र समाजको भविश्य प्रति डरलाग्दो तस्बीर हो । यौनहिँसा रोक्न मानवीय चेतनाको स्तर बदल्नुको विकल्प छैन । महिलाको आर्थिक–सामाजिक हैसियतलाई उकास्न तल्लो उमेर तहबाटै राज्यले उनीहरु लगानी गर्नुपर्छ । पुरुष वर्गलाई यौन र त्यसबाट सिर्जित हिँसाका बहुआयामिक असर बारे सबै तहमा निरन्तर शिक्षा दिनुपर्छ । जबसम्म राज्यले यी कामका अतिरिक्त यौनहिँसाका दोषीलाई कानुनी दायरामा ल्याउन सक्दैन तब सम्म निर्मला र पत्रकार रेपरहरु पीडित भइरहने छिन् । हामी फेरि यसरी नै साक्षी बसिरहने छौँ ।

               यो लेख दि नेपाली टाइम्स को डिसेम्ब अँकमा प्रकाशित छ ।