अनुसन्धान परिणाम उन्मुखः प्रहरी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

सिड्नी– नेपाल प्रहरीले निर्मला पन्तका बलत्लकारी र हत्या प्रकरणमा अनुसन्धान परिणाम उन्मुख बन्दै गएको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेर अनुसन्धान प्रक्रियामा उनको संलग्नताको संकेत देखिएको छ ।  ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् ।

रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुर जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए । ‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो, ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।’ गृह मन्त्रालय स्रोतले पनि यो घटनाको निचोडमा पुग्न लागेको बतायो । ‘प्रहरीले अपराधीनजिक पुगेको भनेको छ’, गृह स्रोतले भन्यो । प्रहरीले रावलसँग सम्बन्ध देखिएका दुई जनालाई पनि कञ्चनपुरमा पक्रेको छ । उनीहरूलाई काठमाडौं झिकाइएको छ ।

भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई अभिभावकको साथ लगाएर जहाजबाट काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । ‘केन्द्रबाट २ जनाबारे अनुसन्धान गर्नुपर्ने भएकाले पठाउन भनियो’, कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘परिवारका सदस्यसँगै उनीहरू दुवैलाई पठाइएको छ ।’ प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले यी दुई जनाको नाम लिएका थिए । १३ बर्षीया निर्मलाको बलत्कारपछि हत्याको १ सय ३३ दिनसम्म दोषी पक्राउ नपरेपछि सरकारको सर्वत्र विरोध भएको छ ।