मस्तिष्कघातबाट ज्यान गुमाएका तामाङलाई ३४ लाख रुपैयाँ जुट्यो

शब नेपाल पठाउने प्रक्रिया सुरु
-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५

सिड्नी–उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएको दुई महिनामै मस्तिष्कघातका कारण ज्यान गुमाएका मिलन तामाङका लागि करिब ३४ लाख रुपैयाँ सहयोग रकम जुटेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ का २० बर्षीय तामाङको एक हप्ताअघि उपचारका क्रममा निधन भएपछि उनको शब नेपाल पठाउन समस्या उत्पन्न भएको थियो । ऋण काढेर उच्च शिक्षा हासिलसँगै परिवारजनका लागि आर्थिक उपार्जन गर्ने उद्देश्यले आएका तामाङको मृत्युको खबरले परिवार समस्यामा परेको थियो । परिवारजनको आग्रह बमोजिम सिड्नीमा रहेको तामाङ सोसाइटी अफ एनएसडब्लुले गत शुक्रबारबाट आर्थिक संकलन अभियान सुरु गरेको हो । पाँच दिनको अवधीमै ४० हजार ७ सय अठार डलर (नेपाली करिब ३४ लाख रुपैयाँ) संकलन भएको सोसाइटीका सल्लाहकार दिल तामाङले जानकारी दिए ।

सोसाइटीले रकम सार्वजनिक कार्यक्रम आयोजना गर्दै यसलाई थप पारदर्शी तरिकाले व्यवस्थापन गरिने जनाएको छ । रकम संकलन भएसँगै सोसाइटीले अस्पतालमा रहेको मिलनको शबलाई नेपाल पठाउने प्रक्रिया सुरु गरेको छ । ‘उनको शब नेपाल पठाउन करिब ६ हजार डलर लाग्ने भएको छ, बाँकी रकम हामीले उनको परिवारलाई सहयोग स्वरुप उपलब्ध गराउनेछौँ’, उनले भने, ‘हामीले नसोचेको घटना भयो, घटनापछि सबैले खुलेरै सहयोग गर्नुभयो ।’ सोसाइटीले प्रेस विज्ञप्ति मार्फत अभियानमा चौतर्फी रुपमा सहयोग जुटेको भन्दै अभियानमा हातेमालो गर्ने सबैलाई धन्यबाद दिएको छ ।