छन्त्याल परिवार अष्ट्रेलियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

सिड्नीः प्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)ले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए । सीपीए र प्रालि बीचको सम्झौतापछि प्रतियोगिता ‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबल कप’ का रुपमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष तर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला तर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्ट्रेलियन डलरसँगै मेडल र प्रमाणपत्र पाउने संयोजक छन्त्यालले जानकारी दिए । ‘पुरस्कारको राशी अष्ट्रेलियामा नेपाली संघसंस्थाले सञ्चालन गर्ने प्रतियोगिताको तुलनामा निकै राम्रो राखेका छौँ, त्यसका साथमा महिला प्रतिभा प्रस्फुटनका लागि पनि हामीले महिला भलिबल प्रतियोगिता राखेका हौँ’, उनले भने । प्रतियोगितामा पुरुष तर्फ तीन सय ५० र महिला तर्फ एकसय अष्ट्रेलियन डलर प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागिताका लागि सिड्नीमा सञ्चालित भलिबल क्लब, जातीय संघसंस्थाका अतिरिक्त मेलर्वन र क्यानवेरामा समेत निमन्त्रणा पठाईएको छ । प्रतियोगितामा उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगत विधातर्फ पुरस्कार प्रदान गर्नेछ ।

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएसँगै अष्ट्रेलियामा नेपाली समुदाय माझ यसको आकर्षण बढ्दो छ । प्रतियोगितामा पुरुष तर्फ १२ र महिलातर्फ ४ टिम भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको सीपीएले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तीब्र बनाईएको सीपीएका अध्यक्ष पदम छन्त्यालले जानकारी दिए । ‘सीपीएले सामाजिक उत्तरदायित्वका हिसाबले नेपालमा बाढीपहिरो जस्ता दैवीप्रकोपमा राहत, विभिन्न किसिमका विरामीको उपचारमा सहयोग पनि गर्दै आएको छ’, उनले भने, ‘यस पटकदेखि भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ, यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनेछौँ ।’