तेश्रो एनआरएनए ओसेनिया क्षेत्रीय बैठक सम्पन्न

बहुसांस्कृतिक मामिला मन्त्रि द्वारा नेपाली सामुदायिक केन्द्रका लागि १ मिलियन डलर सहयोगको घोषणा
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६

गैर आवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता सम्पन्न बैठकमा अष्ट्रेलियन सरकारका केद्रिय अध्यागमन मन्त्री डेभिड कोलम्यान तथा बिपक्षी लेबर पार्टीका तर्फबाट सिनेटर क्लेयर मोरको  बिशेष उपस्तिथिति रहेको थियो । नेपालका प्रदेश ५ का सांसद माननीय बिष्णु पन्थी, एनएसडब्लु तथा साउथ अष्ट्रेलियाका नेपाली बाणिज्य दुतहरु, अष्ट्रेलियाका लागि नेपाली राजदूताबासका प्रतिनिधि, एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारीहरु सदस्यहरु तथा विभिन्न कार्यदलका सदस्यहरु सहित १४ राष्ट्रका करिब ३०० भन्दा बढीको सहभागिता थियो।

बैठकमा सामुहिक लगानी, ज्ञान शिप हस्तान्तरण, पर्यटन प्रबर्धन, युवा तथा महिला सशक्तिकरण सम्बन्धि कार्यपत्रहरु प्रस्तूत गरिएको थियो । बैठकबाट प्राप्त सुझावहरु कार्यान्वयका लागि नेपाल सरकार समक्ष प्रस्तूत गरिने जानकारी बैठकको अध्यक्षता गरेका ओसेनिया क्षेत्रीय संयोजक धर्म राज अधिकारीले द नेपाली टाईम्स अष्ट्रेलियालाई दिए ।

बैठकमा बिशेष अतिथिका रुपमा उपस्थित अस्ट्रेलियन सरकारका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धि मंत्री डेविड कोल्म्यानले द्रुत गतिमा बढ्दै गरेको नेपाली समुदायलाइ आफ्नो भाषा संस्कृतिको अभ्यास र प्रबर्धन गर्नका लागि नेपाली अस्ट्रेलियन एशोशिएसन मार्फत १ मिलियन डलर सहयोग गर्ने बचन दिए  नेपाली सामुदायिक केन्द्र निर्माणका लागि घोषणा गरिएको यो  सहयोग लिबरल-नेशनल गठबन्धनले आगामी १८ मे निर्वाचन बिजयी भएको खण्डमा मात्र प्रदान गरिने पनि मन्त्रि कोल्म्यानले जानकारी दिए ।

सहयोगका लागि नेपाली अस्ट्रेलियन एशोसिएशनले  लामो समय देखि पहल गर्दै आएको एशोशिएसनका अध्यक्ष डा. मधुसुदन पुडासैनीले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।

 तेश्रो एनआरएनए ओसेनिया क्षेत्रीय बैठकका निर्णय हरु:

१. गैर आवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी कोष, जलबिधुत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२. नेपाल सरकारद्वारा घोषणा गरिएको “नेपाल भ्रमण वर्ष २०२०” लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनात्मक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३. महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्धमसिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिस्चितता गराउने निर्णय गरियो ।

४. गैरआवासीय नेपाली संघले Knowledge City र  Academy को प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न AussieMed Foundation Australia र Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरि आगामी दिनमा एस तर्फ बिशेष ध्यान दिनुका साथै एस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा सस्कार संस्कृति सिकाउने  कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७. आवश्यक कानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र  नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

 ८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलता पुर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।