सी विचारधारामय नेपालको राजनीति

-- कृष्ण भट्टराई, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६

चीन आधुनिक विश्वमा प्रवेश गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा उसले आफ्नो प्रभाव संसारभर फैलाउन दूतहरूको परिचालनलाई तीव्रता दिएका समाचारहरू पछिल्लो समय चर्चामा छन् । त्यसैको पूर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध मजबुत बनाउन दुवै पार्टीले एक–अर्काले अंगीकार गरेको पार्टीको नीतिबारे काठमाडौंमा आयोजित कार्यक्रममा खुलेर छलफल गरेका छन् । यस बेला चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिन पिङको विचारधारालाई विश्वभर फैलाउने उद्देश्य चिनियाँ अधिकारीले बोकेका छन् ।

त्यसै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सोङ ताओ नेपाल भ्रमणमा आएका थिए । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू चीनले अवलम्बन गरेको विकासको मोडल र सी विचारधाराका बारेमा छलफल गरेका थिए । चीनको विकास मोडललाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सोङसहितको टोलीले नेकपाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण समेत दिए ।

राष्ट्रपति सीले अघि सारेका बीआरआई नेपालको पूर्वाधार विकासका लागि अपरिहार्य आवश्यकता रहेको भन्दै सत्तारुढ नेकपाले बीआरआईमा हस्ताक्षरसमेत गर्नुले नेपालमा चिनियाँ प्रभाव विस्तारै बढ्दै गएको जो कोहिले पनि अनुमान गर्न सक्छ ।

नेकपाका अध्यक्ष प्रचण्डले असन्तुलित खालको अभिव्यक्ति दिएर पटक–पटक विवादमा तानिँदै आएका छन् भने चिनियाँ नेता नेपाल आएर आफ्ना नेताले अघि सारेका विचारधाराका बारेमा प्रशिक्षण दिनुलाई चीनमा सीको नवउदय भएको हो कि भन्ने प्रश्न पनि खडा भएको छ ।

छिमेकी मुलुक भएर पनि नेपालमा चिनियाँ राष्ट्रपतिहरूको भ्रमण कमै हुने गरेको पृष्ठभूमिमा २३ वर्षपछि सी नेपाल आउने चर्चाले विश्वको ध्यान अहिले नेपालतर्फ खिचिन थालेको छ । अर्को छिमेकी मुलुक भारत नेपालमा आफ्नो बाहेक अन्य कुनै पनि मुलुकको प्रभाव नबढोस् भन्ने चाहन्छ तर भारतीय चाहनाविपरीत अहिले सत्तारूढ दल नेकपा चीनसंग अझै मजबुत सम्बन्ध बनाउन चाहन्छ ।

दक्षिण एसियामा एकक्षत्र रूपमा दबदबा मच्चाउँदै आएको भारतलाई टक्कर दिन चीनले आफ्नो प्रभुत्व यस क्षेत्रमा विस्तारै बढाउँदै लगिरहेको स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ ।

चीनले नेपाललगायत पाकिस्तान, माल्दिभ्स, बंगलादेश, म्यानमार र श्रीलंकामा विस्तारै आफ्नो उपस्थिति बढाउँदै लगेको छ भने चिनियाँ विकास मोडल र सी विचारधारालाई पनि एकसाथ अघि बढाउनुले उसको प्रभाव दक्षिण एसियामा विस्तारै बढ्दै गएको प्रस्ट हुन्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने चर्चासँगै नेपाली राजनीतिमा ‘सी विचारधारा’ को वहसको थालनी भएको छ । औपचारिक रुपमा मिति तय हुन बाँकी भएपनि अक्टोबरको तेस्रो सातासम्ममा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने लगभग पक्का भैसकेको छ ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले देश विकासका लागि सी विचारधारा उपयुक्त हुने भन्दै यसबारेमा काठमाडौंमा दुई दिने अन्तक्रिया (प्रशिक्षण) कार्यक्रम सञ्चालन गरेको छ । सी विचारधाराकै कारण चीनमा चामत्कारिक विकास भएको भन्दै नेकपाले नेपालको विकासका लागि पनि यो मोडल उपयुक्त हुने भन्दै प्रशिक्षण दिएको हो ।

नेकपा स्कुल विभागको आयोजनामा गत सेप्टेम्बर २३ र २४ का दिन नेपाल र चीनका कम्युनिष्ट विचारधाराबारे छलफल भएको हो । छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा २० जना चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू सहभागी भएका थिए ।

दुई दिने प्रशिक्षणसंगै चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तक्र्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनैको नाममा अगाडि सारिएको कार्य दिशामाथि पार्टीगत अन्तक्र्रिया गरिएको हो ।

तत्कालीन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सेप्टेम्बर ७ का दिन औपचारिक समझदारीसमेत कायम भएको छ । नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदान–प्रदानसँगै विचार आदान–प्रदानका विषयमा समझदारीमा हस्ताक्षर गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर भएको हो । यसले दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको नेताहरूको दाबी छ ।

दुई मुलुकबीच हुने सम्झौताकै झल्को दिने गरी दुई पार्टीबीचको सहमतिलाई सार्वजनिक गरिएको छ । विगतमा सामान्य ढंगले चलिरहेको सम्बन्धलाई अहिले किन यति धेरै महत्व दिइयो ? भन्ने जिज्ञासामा चीनका लागि पूर्व राजदूत महेश मास्केले भनेका छन्— ‘दुइटा कम्युनिस्ट पार्टीले भाइचारा सम्बन्धलाई मजबुत बनाइरहेको देखिन्छ । यो कार्यक्रम पार्टी–पार्टी सम्बन्धको पहिलो ठूलो अभिव्यक्ति हो ।’ सीपीसीले यसअघि कम्युनिस्ट पार्टीहरूसंग राख्ने सम्बन्ध यति धेरै खुला हुँदैनथ्यो । पार्टीगत सम्बन्धका आधारमा भ्रमण, प्रशिक्षण आदानप्रदान गरिन्थे ।

चीनले दुई वर्षअघिको १९ औं महाधिवेशनबाट ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्दै सी चिनफिङ विचारधारा अंगालेको थियो । त्यससगै विश्वव्यापी सम्पर्क सञ्जाल विस्तार गर्ने गरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को रणनीति पनि अगाडि सारेको छ । नेपाल बीआरआईको सदस्य राष्ट्र हो भने यहाँको सत्तारूढ दलले सी विचारधाराप्रति पनि सकारात्मक सहकार्य गर्ने नीति लिएको छ । यही पृष्ठभूमिमा चिनियाँ प्रस्तावमा सी विचारधारामा केन्द्रित दुईदिने वैचारिक अन्तक्र्रिया काठमाडौंमा आयोजना गरिएको हो ।

दुईदिने छलफलमा सहभागी नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले माओत्से तुङको विचारमा बहस गर्ने कम्युनिस्टहरूका लागि ‘सी विचारधारा’ नयाँ टर्चलाइट भएको बताए  । ‘भविष्यका लागि कसरी सोच्ने भन्ने यसले देखाउँछ,’ उनले भने, ‘सी विचारधारालाई उनीहरूले प्रचारप्रसार गर्न चाहेको देखिन्छ ।’

सीपीसीसंगको सम्बन्धलाई जोडेर नेपाल चीनतर्फ ढल्किएको टिप्पणी पनि हुन थालेको छ । विशेषगरी प्रमुख प्रतिपक्षी कांग्रेसले दुई पार्टीबीचको समझदारीलाई शंकाको दृष्टिले हेरेको छ ।

चीनसंगको सम्बन्ध र अहिले भइरहेको विचारधारात्मक छलफललाई प्रधानमन्त्री ओलीले दिएको उद्घाटन मतव्यले पनि केही संकेत गरेको छ । चीनको अनुभवबाट अधिकतम फाइदा लिने तर आ–आफ्नो मौलिकताअनुसार अघि बढ्ने प्रधानमन्त्रीको धारणा थियो ।

त्यसो त प्रधानमन्त्री ओलीले नेपाल बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक बाटोमा हिंडेको र त्यसको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको उल्लेख गर्दै यसलाई माक्र्सवादको मौलिक प्रयोगका रूपमा व्याख्या गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष दाहालले पनि यस्तै अभिव्यक्ति उद्घाटन सत्रमा दिएका छन्, जसबाट सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको होइन भन्ने सन्देश दिन चाहेको देखिन्छ ।

नेकपा सचिवालयका सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेपाल कुनै पनि मुलुकतर्फ नढल्कने उल्लेख गरेका छन् । ‘नेकपा कुनै खास देशतिर ढल्कँदैन, हामीलाई राम्ररी थाहा छ कुनै देश अथवा प्रयोगको अन्धनक्कल नगरी मौलिक बाटोबाट अघि बढ्न सकेकाले नै हामी उपलब्धिको यो बिन्दुमा आइपुगेका हौं,’ श्रेष्ठले ट्वीट गर्दै भनेका छन्— ‘हामीलाई देशको भूराजनीतिक अवस्थिति र संवेदनशीलता पनि राम्ररी थाहा छ , स्पष्ट होऔं ।’

६ बुँदे सम्झौतामा के छ ?

नेकपा र सीपीसीबीच द्विपक्षीय हितका मुद्दालाई कम्युनिस्ट पार्टीहरूका अन्तर्राष्ट्रिय मञ्चहरूमा संयुक्त रूपमा उठाउने समझदारी भएको छ । दुई पार्टीबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी ६ बुँदे सम्झौतामा उक्त कुरा उल्लेख छ । यो सरकारी नभई पार्टीगत तहका कुरा उठाउने समझदारी हो । दुवै पक्षको भ्रमण, प्रशिक्षण, अध्ययन अनुसन्धानलगायत कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्न समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । ६ बुँदामा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

यस्तो थियो कार्यक्रम

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावले पार्टीको दृष्टिकोण राखेपछि अघिल्लो दिनको सत्र पूरा भएको थियो । भोलिपल्ट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश, प्रशिक्षण र संगठन विभागका प्रतिनिधिले आ–आफना छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेर त्यसमाथि छलफल गरिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले तय गरेको राजनीतिक–वैचारिक कार्यदिशा, कम्युनिस्ट आन्दोलनको विश्व दृष्टिकोण, बदलिँदो विश्वबारे उनीहरूले आफ्ना विचार, दृष्टिकोण र धारणा राखेका थिए । छलफलमा दुई देशका कम्युनिस्ट विचारका साथै सांस्कृतिक, आर्थिक, इतिहासलगायतका विषयमा केन्द्रित भई अनुभव साटासाट भएको थियो । यसका साथै विश्वको पछिल्लो राजनीतिक, आर्थिक अवस्था एवं प्रगतिको विषयमा छलफल भएको थियो ।

आलोचना पनि उस्तै छ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा सी जिन्पिङ विचारधाराबारे आयोजना गरेको प्रशिक्षण अनावश्यक भएको तर्क गर्दै एकजना परराष्ट्रविद्ले दुई शक्तिशाली राष्ट्रहरूसंग सीमा जोडिएको नेपालले सन्तुलित कूटनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बीबीसीसंग कुराकानी गर्दै दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक श्रीधर खत्रीले नेपालले विश्वको बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने बताका छन् । नेपालमा निकट भविष्यमै चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमण हुन लागेको चर्चा चलिरहेका बेला सत्तारूढ नेकपाले सी जिन्पिङको विचारधाराबारे दुईदिने ‘प्रशिक्षण कार्यक्रम’ आयोजना गरेको थियो । प्राध्यापक खत्रीले नेपालले चीनसंग सम्बन्ध विस्तार गरिरहँदा दक्षिणी छिमेकी भारत र विश्व महाशक्ति अमेरिकासहित कुनै पनि मित्रराष्ट्रसंग आफ्नो सम्बन्धमा क्षति पुग्ने गतिविधि गर्न नहुने पनि उल्लेख गरेका छन् ।

सीको विचारधारा के हो ?

चिनियाँ राष्ट्रपति सीको सीको विचारधारा मुख्य रूपमा ‘वन स्टेट, वन पार्टी’ अर्थात् एकदलीय व्यवस्था हो । अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीले १९औं नेसनल कंग्रेस (पार्टीको सर्वोच्च निकाय) मा चीनको संविधानमा नयाँ राजनीतिक सिद्धान्त ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी जिन पिङ विचारधारा’ राख्यो । त्यस्तो नयाँ संवैधानिक परिवर्तन भएको पाँच महिनापछि नेसनल पिपुल्स काग्रेसले राष्ट्रिपतिको निश्चित कार्यकाल अवधिको सीमा हटायो, जसले चीनको राजनीतिमा भुइँचालो नै ल्यायो । यस्तो व्यवस्थासंगै ६५ वर्षीय चिनियाँ राष्ट्रपति सी जिन पिङलाई सम्भवतः अझै २० वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने बाटो खुल्यो  । यसर्थ, उनको सिद्धान्तले आउँदा दशकमा चीनको विकास तथा विश्व मामिलामा चीनको सहभागितालाई नयाँ आकार देला भन्ने अपेक्षा गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा सीको नाम र विचारधारलाई समावेश गरिनुले उनलाई चीनका संस्थापक नेतासरहको हैसियतमा राखेको छ । यसअघि चीनका संस्थापक नेता माओत्से तुङ र आधुनिक चीनको नक्सा कोर्ने नेता देङ सियाओपिङको नाम मात्र संविधानमा समाहित गरिएको थियो । यसैबीच, राष्ट्रपतिको निश्चित कार्यकालको सीमाअवधि हटाइएपछि चिनियाँ राष्ट्रपति सी माओपछिकै शक्तिशाली चिनियाँ नेता भएको तर्क धेरैले गरेका छन् । समग्र विकासक्रमलाई हेर्दा, सी जिन पिङ विचारधाराको उद्देश्य पश्चिमा शक्तिसंग शीतयुद्ध लड्नु अथवा चिनियाँ राजनीतिक मोडेल निर्यात गर्नु होइन । बरु, चिनियाँहरू उदारवादी प्रजातान्त्रिक विचारधाराबाट प्रभावित नहोऊन् भन्नका लागि उनी देशभित्रै पार्टी–राज्यभित्रको आफ्नो पकड बलियो बनाउन चाहन्छ । त्यो पनि उनको आफ्नै प्रकारको अधिनायकवादमार्फत ।

नेपाली कांग्रेसको आपत्ति

सत्तारुढ दल नेकपाले चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारामा आधारित प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेसले सी विचारधाराको बारेमा सत्तारुढ दल नेकपाले प्रशिक्षण लिनु राष्ट्रिय हित विपरीत भएको भन्दै त्यसरी आपत्ति जनाएको हो । चिनियाँ कम्युनिष्ट पार्टी नेपाली मोडेलको नै नभएको र सो पार्टीबाट नेकपा दीक्षित हुन खोज्नु लोकतन्त्रविरोधी गतिविधि भएको समेत कांग्रेसले जनाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एउटा भ्रातृ संस्था बनाउन लागिएको टिप्पणी गरे । उनले नेपालमा स्थापना भएका पार्टीहरू नेपाली पार्टी हुन् भन्दै अर्को देशको पार्टीको आर्थिक तथा राजनीतिक प्रणाली हुबहु सिको गर्न खोजिनु अलोकतान्त्रिक र आपत्तिजनक हुने बताए ।