उप-निर्वाचन–२०७६ प्रतिनिधि सभा र प्रदेशसभामा ६५ उम्मेदवार

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर ३, २०७६

नोभेम्बर ३० का दिन हुने उपनिर्वाचन प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन निर्वाचन क्षेत्रका लागि ६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको कास्की–२ र प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२) र दाङ ३(२) निर्वाचन क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुदै छ ।

ती क्षेत्रका लागि सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । चारवटै निर्वाचन क्षेत्रमा तत्कालीन एमाले–माओवादीसहितको वाम गठबन्धनले जितेको थियो ।

प्रतिनिधिसभाको कास्की–२ मा २२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारीले उक्त क्षेत्रमा चुनाव जितेका थिए । नेकपाबाट त्यहाँ अधिकारीपत्नी विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।

कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार छन् । साझा पार्टीका रजनी केसी र विवेकशील पार्टीका तर्फबाट जमुना शर्माको स्वतन्त्र उम्मेदवारी परेको छ । उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ११ जना छन् ।

प्रदेशसभातर्फ भक्तपुर १(१) मा नेकपाबाट देवीप्रसाद ढकाल, कांग्रेसबाट कृष्णलाल भाडेल प्रतिस्पर्धामा छन् । नेमकिपाबाट नीरज लवजूको उम्मेदवारी दर्ता भएको छ । त्यहाा समाजवादीका सुदर्शन मुनकर्मी र साझा पार्टीका सुरज प्रधानको उम्मेदवारी परेको छ । त्यस्तै राप्रपाका श्यामप्रसाद नेपाल र नेकपा (माले) का सुदर्शन लामिछाने उम्मेदवार छन् । उक्त क्षेत्रमा १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

बागलुङ २(२) मा १० जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ वाम गठबन्धनबाट त्यहाा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार छन् । यसअघि पनि त्यहााबाट जनमोर्चाले चुनाव जितेको थियो । कांग्रेसबाट जितबहादुर शेरचन र समाजवादी पार्टीबाट अशोककुमार विकको उम्मेदवारी परेको छ । राप्रपाका गणेशबहादुर कुावर र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई उम्मेदवार बनेका छन् ।

दाङ ३(२) मा नेकपाले विमलाकुमारी खत्री र कांग्रेसले केशवराज शर्मालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । विमला यसअघि त्यहााबाट चुनाव जितेका उत्तरकुमार वलीकी पत्नी हुन् । समाजवादी पार्टीबाट डिल्लीबहादुर डाागी, नेमकिपाका सुरेश परियार, राप्रपाका भूपाल रावत र जनमुक्ति पार्टीका धनराज विश्वकर्माले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पोखरामा कडा टक्कर

मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि नोभेम्बर ३० का दिन कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ । उम्मेदवारी दर्ता गरेसँगै त्यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ । चुनावी मैदानमा एक–अर्कालाई हराउने दाउमा दलहरू लागेका छन् । यसअघि तीनपटकसम्म चुनाव जितेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकारी पत्नि विद्या भट्टराईलाई कास्की–२ बाट उम्मेदवार बनाएको छ । कांग्रेसले भने पुराना, पाका र इमान्दार नेताको छवि बनाएका खेमराज पौडेललाई चुनावी मैदानमा उतारेको छ ।

मुख्य प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच भए पनि अरु साना दल र स्वतन्त्रबाट पनि उम्मेद्वारी परेका छन् । साना दल र स्वतन्त्रका उम्मेदवार थपिए पनि एकअर्कालाई यो चुनावमा ढाल्ने रणनीति बनाउादै ठूला दल भने मुख्य रूपमा होडबाजीमा लागेका छन्। दुई ठूला दल नेकपा र कांग्रेसका उम्मेदवार एकअर्कालाई पराजित गरेर जित आफ्नो पोल्टामा ल्याउने रणनीतिमा रहेका छन् भने साना दल भने उपस्थितिमै सीमित हुनेमा ढुक्क पनि छन् ।

नेकपा उम्मेदवार भट्टराईले पति अधिकारीले गरेको कामलाई आधार बनाएर जित हासिल गर्ने दाउमा छिन् भने पाको उमेरमा उम्मेदवारी पाएका कांग्रेसका पौडेलले सरकारले गरेका कामको मूल्यांकन मतदाताले गर्ने हुँदा यो पटकको जित आफ्नो पोल्टामा आउने बताउँछन् ।

कांग्रेसको निर्वाचन अनुगमन समिति

नेपाली कांग्रेसले नोभेम्बर ३० का दिन हुने उपनिर्वाचन अनुगमनका लागि पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदसीय समिति गठन गरेको छ । पार्टी विधानको व्यवस्थाअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन भए नभएको अनुगमनका लागि समिति गठन गरेको हो । लेखक नेतृत्व समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन् भने केशव रिजाललाई सदस्य सचिव तोकिएको छ । कांग्रेसले समितिलाई निर्वाचन आयोगबाट जारी आचारसंहिताको पालना र कार्यान्वयनको अनुगमन गर्ने, उपनिर्वाचन सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, निर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने अधिकार दिएको छ ।