पेटमा संक्रमण फैलिएपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

काठमाडौं- मिर्गौलाले काम नगरेर डायलाइसिस गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएपछि चिकित्सकहरुले जोखिम मोलेर शल्यक्रिया गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएको थियो । परीक्षणपछि डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भएको निर्क्यौल निकालेपछि तत्कालै अपरेशन गर्ने निर्णयमा पुगे ।

एपेन्डिक्स सुन्‍निएर पाकेर भित्रै फुट्नाले संक्रमण भएको चिकित्सकहरुले बताएका छन् । ओलीका निजी चिकित्सकसमेत रहेका डा. अरुण सायमीले एपेन्डिक्स सुन्‍निएर पिप जमेपछि समयमा शल्यक्रिया नहुँदा भित्रै फुटेर संक्रमण भएको बताए । जसलाई मेडिकल भाषामा एपेन्डिसाइटिससहित पेरिटोनाइटिस भन्‍ने गरिन्छ ।

अहिले शल्यक्रिया  सफल भएपछि प्रधानमन्त्रीलाई चिकित्सकको  कडा निगरानीमा राखिएको छ । अस्पताल परिसरमा उनको स्वास्थ्यको चासो राख्नेको भीड लागेपनि कसैलाई भेट्न दिएको छैन ।

एपेन्डिक्स सुन्‍निएर एपेन्डिसाइटिस भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ट सर्जन डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीले अपरेशन गरेको थियो ।

एपेन्डिसाइटिसको गम्भीर अवस्थालाई पेरिटोनाइटिस एपेन्डिसाइटिस् भन्‍ने गरिन्छ । चिकित्सकका अनुसार सामान्य अवस्थामा एपेन्डिसाइटिस भएमा तत्काल अपरेशन नगरेमा ठूलो समस्या बन्छ ।

समयमै अपरेशन नगरेर एपेन्डिक्स फुटेर शरीरमा संक्रमण फैलिनु गम्भीर अवस्था हो । स्वस्थ मानिसका लागि पनि एपेन्डिसाइटिस पाकेर पिप निस्की पेटमा फैलिनु एकदम जटिल संक्रमण मानिन्छ ।

यस्तो अवस्थामा शरीरका अन्य अंगमा समेत प्रभाव पार्ने सम्भावना रहन्छ ।

प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेर डायलासिसमा गएका प्रमका लागि झन् यो अवस्था जोखिमपुर्ण रहेको चिकित्सकहरुले बताएका छन् ।

ट्रान्सप्लान्ट गरेका बिरामीले प्रतिरक्षात्मक क्षमता घटाउने औषधि खाइरहेको हुनाले संक्रमणको खतरा सामान्य मानिसमा भन्दा निकै बढी हुन्छ ।

ओलीको लेपेरेटोमी र एपेन्डेक्टोमी चिकित्सकहरुको टोलीले प्रधानमन्त्री ओलीको लेपेरेटोमी र एपेन्डेक्टोमीको माध्यमबाट एपेन्डिक्स हटाएका छन् ।

एपेन्डेक्टोमी भनेको एपेन्डिक्स हटाउने सामान्य शल्यक्रिया हो । एपेन्डिसाइटिस भएपछि एपेन्डेक्टोमी शल्यक्रिया गरेर उपचार गरिन्छ ।

यस्तै, लेपेरोटोमी भनेको पेट चिरेर समस्या पत्ता लगाउने वा शल्यक्रियाको तयारी गर्ने प्रक्रिया हो ।

पहिलो चरणमा एपेन्डेक्टोमी गरेर एपेन्डिसाइटिसको उपचार गरिए पनि प्रधानमन्त्रीलाई पेरिटोनाइटिस पनि देखिएकाले लेपेरोटोमी पनि गरिएको हो । जसले गर्दा  उनमा केही संक्रमण नहोस् भनेर चिकित्सकले सघन उपचार कक्ष आईसियुमा राखेका हुन् ।