नेपाल भ्रमण वर्षको तयारी तिब्र गतिमा भैरहेको मन्त्री भट्टराईको दावी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र गतिमा अघि बढाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभित्र मात्र होइन विदेशमा पनि भ्रमण वर्षमा पर्यटन भित्र्याउन प्रचार–प्रसारको कामलाई निरन्तरता दिएको छ ।

भ्रमण वर्षको तयारी, नेपालमा पर्यटन गन्तव्यहरूको भौतिक पूर्वाधारको अवस्था, अपेक्षा गरेअनुसारको पर्यटक भित्र्याउने योजना लगायतका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्ना धारणाहरु व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको छ। भ्रमण वर्षको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा भित्र्याउने हो । नेपाललाई पर्यकीय गन्तव्यको रूपमा विश्वस्तरमा चिनाउने आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ भ्रमण वर्ष २०२० घोषणा गरिएको हो ।

मन्त्री भट्टराई भन्छन्—‘भ्रमण वर्षलाई सफल बनाउन भिन्नै सचिवालय बनाइएको छ । कार्यक्रम संयोजकहरू तोकिएका छन् । नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्ड दुवैको समन्वय र सहयोगबाट काम अघि बढिरहेको छ । हामी भ्रमण वर्षको पूर्व सन्ध्यामा आइसकेका छौं । भ्रमण वर्षलाई प्रवद्र्धन गर्न विभिन्न विदेशी मिडियाहरूसँग सम्झौता गर्ने काम भइरहेको छ । विभिन्न देशमा आयोजना हुने टुरिजम एक्सपो महोत्सवमा नेपालको बारेमा प्रचार–प्रसार गर्ने काम भएको छ । विभिन्न देशका ट्राभल्स एजेन्सी, टुर गाइडहरू, टुर अपरेटर एयरलाइन्ससँग पनि हाम्रो छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा चिनिएका विभिन्न देशका नागरिकहरूलाई नेपाल भ्रमण वर्षको गुडविल एम्बेसडर बनाउने र उहाँहरूमार्फत प्रचार–प्रसार गर्ने कामहरू पनि भईरहेका छन् ।’

मन्त्री भट्टराईको अनुसार भ्रमण वर्षलाई सफल बनाउन २०२० जनवरी १ मा काठमाडौंसहित सातवटै प्रदेशमा भव्य रुपमा शुभारम्भ गर्ने तयारी गर्रिको छ । विदेशस्थित नेपालका जहाँ–जहाँ कूटनीतिक नियोगहरू छन, कन्सुलर अफिसहरू छन् ती सबै देशहरूमा जनवरी ७ तारिकमा शुभारम्भ कार्यक्रम हुन्छ। ती कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्ति, सांसद, मन्त्री नगरपालिकाका प्रमुख व्यक्तित्वहरूलाई नेपालमा सुरु हुने भ्रमण वर्षको क्रममा आमन्त्रण गर्ने भनिएको छ ।

मन्त्री भट्टराई भन्छन्—‘नेपालका सबै राजदूतावासहरूमा निर्देशन गरेका छौं । जनवरी १ तारिकमा हुने उद्घाटन कार्यक्रममा करिब ४० देशका पर्यटन मन्त्रीहरूलाई सो समारोेहमा सहभागी गराउन हामीले पत्राचार गरेका छौं ।’

मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउने साथसाथै पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यका साथ दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू दु्रत गतिमा निर्माण भइसकेको बताउँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने चरणमा पुगेको छ। २०२० को मार्चबाट गौतमबुद्ध विमास्थलबाट फ्लाइट शुरु गर्ने लक्ष्य राखेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२१ बाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन् । ।

उनले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलाई थपसुधार गर्दै बुटिक विमानस्थलको रूपमा रूपान्तरण गर्ने काममा लागिपरेको बताएका छन् । कतिपय नेपाली र विदेशी एयरलाइन्सहरूले विदेशमा थप हवाई सेवा विस्तार गरेको मन्त्री भट्टराईको भनाइ छ ।

उनी भन्छन्—‘ जसले गर्दा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। हामीले अन्तरमन्त्रालय समन्वय समिति मन्त्रिपरिषद्ले पास गरिसकेको छौं। विशेषगरी पर्यटकीय गन्तव्यसम्म जाने सडक मार्गहरूको स्तरउन्नति गर्ने कुरामा अन्तरमन्त्रालय समन्वयमा काम गरिरहेका छौं। हामी सम्पूर्ण तयारीको साथ अघि बढेका छौं ।’